२८ असाेज, काठमाडौँ। दसैं नजिकिएसँगै काठमाडौं उपत्यकामा खसीबोकाको माग बढ्न थालेको छ। चाडपर्वलाई लक्षित गर्दै उपत्यकाबाहिरका जिल्लाबाट खसीबोका भित्रिने क्रम जारी रहे पनि बाढीपहिरो र राजमार्गको अवरोधले ढुवानीमा कठिनाइ थपेको छ। गाडीमा ढिलो हुने, ढुवानी खर्च बढ्ने र बाटोमै खसीबोका मर्ने जोखिमले व्यवसायी चिन्तित छन्। आपूर्ति र ढुवानीको अवस्था सहज नभए दसैंसम्म खसीको मूल्य थप बढ्न सक्ने उनीहरूको आकलन छ।
नेपाल व्यावसायिक बाख्रापालक महासंघका अध्यक्ष गोविन्द सुवेदीका अनुसार काठमाडौं उपत्यकामा वार्षिक ५५ हजारदेखि ६० हजारसम्म खसीको माग हुन्छ। यस वर्ष भने ४० हजारदेखि ४५ हजारसम्म मात्रै खसी भित्रिने उनको अनुमान छ। हाल जिउँदो खसीको मूल्य प्रतिकिलो ९ सय रुपैयाँ पुगिसकेको छ। दसैंसम्ममा यो मूल्य एक हजार रुपैयाँ नाघ्न सक्ने उनको आकलन छ।
अध्यक्ष सुवेदीका अनुसार गाउँका किसानले खसी बिक्री गर्दा साढे ६ सय रुपैयाँभन्दा बढी मूल्य नपाउने तर, बजारमा भने उपभोक्ताले धेरै महँगो मूल्य तिर्नुपर्ने बाध्यता रहेको छ। ‘किसानले गाउँमा खसी ६–७ सयमा बेच्नु परिरहेको छ, तर यहाँ बजारमा जिउँदो खसीको मूल्य नौ सय पुगिसक्यो,’ उनले भने, ‘हामीले गाउँ–गाउँबाट उत्पादन गरेर व्यापारीलाई बेच्छौं तर विभिन्न कानुनी झन्झट, प्रहरीको अनावश्यक सास्ती र व्यापारी तथा साहुहरूले मिलेमतो गर्दा किसानले बजारको उचित मूल्य पाउन सकेका छैनन्।’
किसानहरूले पीसीटीएस प्रणाली र अन्य कागजातसम्बन्धी नियमहरू बुझ्न नसक्दा र प्रक्रिया जटिल हुँदा आफ्ना उत्पादन सीधा बजारसम्म ल्याउन सकिरहेका छैनन्। यसले गर्दा दुई–तीन तहका बिचौलियाहरू हाबी हुने गरेको उनको भनाइ छ। विगतका समयमा भारतबाट खसी आयात गर्ने हुँदा स्वदेशी खसीको बिक्री कम हुने र उनीहरूले घाटामा बेच्नु परेको उनको भनाइ छ। धेरैजसोले बाख्रापालन व्यवसाय नै छोडेर बिदेसिएकाले उत्पादन झनै घटेको छ। त्यस्तै, बाढीपहिरो र सडक मार्गको अवरोधका कारण बाहिरबाट ल्याइएका खसीहरू मुग्लिनको बाटोमै रोकिने, खसीबोका बाटोमै मर्न सक्ने हँुदा उनीहरूले खसीलाई हेटौंडामा ल्याएर त्यहाँ सानो गाडीमा ल्याउने गरेका छन्। यसरी ल्याउँदा ढुवानी खर्च अत्यधिक बढेको कारणले पनि खसीको मूल्यमा असर परेको छ।

अहिलेको अवस्थामा काठमाडौंमा करिब २० हजार खसी भित्रिसकेको र बाँकी खसी भने आउने क्रममा रहेको अध्यक्ष सुवेदीले जानकारी दिए। बाटोको सहजता र यातायातको स्थिति सुध्रिएन भने दसैंको समयमा खसीको मूल्य अझ बढ्न सक्ने उनको भनाइ छ।
यतापट्टि कलंकी खसीबजारका व्यापारी रामहरि थापा क्षेत्रीले दसैं नजिकिँदै गर्दा पनि बाढी र पहिरो नरोकिएका कारण समयमै खसीबोकाहरू बजारमा नआएको बताउँछ। मुग्लिनतर्फको बाटोमा यातायात सञ्चालनमा समस्या आएका कारणमात्र नभई ग्यास, खाने तेलदेखि डिजेल, पेट्रोल आदि सबैको मूल्यवृद्धि भएकाले महँगिएको उनको भनाइ छ। अहिले खसीको खुद्रा मूल्यसमेत बढेर प्रतिकिलो ८ सयदेखि ८ सय ५० रुपैयाँसम्म पुगेको छ तर, दशैं यही मूल्य कायम हुन नसक्ने उनले बताए।
यसैगरी टीकापुरबाट खसीबोकाको व्यापार गर्दै आएका व्यापारी अब्दुल कुरैसीले यस वर्षको बर्खायाम र बाटोको अवरोधका कारण ठूलो नोक्सानी व्यहोर्नु परेको बताए। उनले उता गाउँका किसानहरूबाट प्रतिकिलो ७ सयको हराहारीमा खसी किनेर आफ्नै गाडीमा प्रतिगोटा १ हजार रुपैयाँ भाडामा ढुवानी गरेर ल्याएर प्रतिकिलो ८ सय ३० रुपैयाँसम्म बेच्ने गरेको बताए। तर बाटोमा अत्यधिक जाम लाग्दा र पहिरोका कारण सवारीसाधन दुर्घटना हुँदा दर्जनौं खसीबोका मरेका छन्। हालै मलेखुनजिक भएको घटनामा मात्र आठवटा खसी मर्दा करिब तीन लाख रुपैयाँको क्षति भएको उनले दुःखेसो पोखे।
उनले गाउँबाट खसीबोका किन्नेबेला डिजिटल काँटामा जोखेर ल्याउँदा आधाकिलोको पनि पैसा तिर्नुपर्ने र खुद्रा बेच्दा आधा किलोसम्मको तौल मिलाउनुपर्ने बाध्यताले घाटा हुने बताए।
यसपालिको दसैंमा खाद्य तथा व्यापार कम्पनीले खसीबोका नभिœयाउने निर्णय गरेको खाद्यका सूचना अधिकारी माधव मि श्रले बताए। उनले भने, ‘मौसम तथा बाढीका कारणले खसीहरू खाद्यले काठमाडौंमा नल्याउने भएको छ।’
विगतका वर्षहरूमा दाङ, वीरगन्ज, रुकुमबाट खसी जिल्लाका स्थानीय कृषक तथा सहकारीबाट ५/६ सयदेखि हजारसम्म ल्याउने गरेको थिए। उनीहरूसँग मूल्य निर्धारण गरेर खरिद गर्ने, इन्धन ढुवानीको सम्झौता गर्ने अनि ट्रकमा राखेर काठमाडौंमा ल्याउने गरेको सूचना अधिकारी मिश्रले बताए।
सूचना अधिकारी मिश्रका अनुसार दसैंको बेला ठूलो संख्यामा खसीबोका काठमाडौं भिœयाउनुको मुख्य उद्देश्य बजारमा कृत्रिम मूल्यवृद्धि रोक्नु र मूल्य नियन्त्रण गर्नु हो।


+ There are no comments
Add yours