१३ असाेज, काठमाडौँ । एक महिनाअघि भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको विनाशकारी बाढीले सयौँ मानिसको ज्यान लियो, हजारौँ परिवार विस्थापित भए र अर्बौं रुपियाँ बराबरका भौतिक संरचनामा क्षति पुग्यो । नदीकिनारका सडक, पुल, भवन तथा पर्खाल बगाउँदा पनि कतिपय स्थानमा दशकौँ पुराना बरपिपलका रुख जोगिएको दृश्यले यस्ता रुखको संरक्षण तथा विपत् जोखिम न्यूनीकरणमा तिनको सम्भावित भूमिकाबारे बहस बढाएको छ ।
खोजकर्ता डा. सुशील पौडेलले नुवाकोटको देवीघाट तथा भोटेकोशी–त्रिशूली नदीकिनारका केही पुराना बरपिपल बाढीपछि समेत सुरक्षित अवस्थामा देखिएको उल्लेख गर्नुभयो । उहाँले नदीकिनारका जीवित पहरेदारका रूपमा बरपिपल तथा पुराना रुखहरू रहेको बताउनुभयो । त्यस्ता रुखका गहिरो गरी जमिनमा फैलिएका जराले नदीको कटान रोक्ने, हरित तटबन्धले बाढीको वेगलाई सफलतापूर्वक घटाउने र रुख जोगाएमा माटो, बस्ती र भविष्य जोगिने आधार देखिएको उहाँले स्पष्ट पार्नुभयो ।
पौडेलका अनुसार कुनै रुख जोगिनु वा ढल्नुमा भू–बनोट, माटोको प्रकृति, जराको फैलावट, नदीको बहाबको दिशा तथा बाढीको तीव्रता जस्ता विभिन्न कारक जिम्मेवार हुन्छन् । पुराना बरपिपलका गहिरा र विस्तारित जराले माटोसँग बलियो सम्बन्ध कायम गर्ने भएकाले ती अन्य वनस्पतिभन्दा तुलनात्मक रूपमा स्थायित्वयुक्त देखिने गरेको उहाँले बताउनुभयो ।
वन तथा भू–संरक्षणसम्बन्धी अध्ययनले नदीकिनारमा प्रयोग गरिने जैविक अभियान्त्रिकी (बायोइन्जिनियरिङ) प्रविधि माटो संरक्षण र कटान नियन्त्रणमा उपयोगी हुन सक्ने देखाएका छन् । पौडेलका अनुसार चुरे क्षेत्रका नदीमा गरिएको एक अध्ययनले ग्याबियन संरचना, स्थानीय घाँस, बाँस तथा उपयुक्त वृक्ष प्रजातिको संयोजनलाई नदीकिनार स्थिरीकरणको प्रभावकारी उपायका रूपमा उल्लेख गरेको छ ।
वातावरणविद् प्रेम खनालका अनुसार बरपिपल धार्मिक तथा सांस्कृतिक महत्वका रुख मात्र होइनन्, यिनले चराचुरुङ्गीलाई बासस्थान उपलब्ध गराउनुका साथै स्थानीय तापव्रmम सन्तुलन, छाया तथा जैविक विविधता संरक्षणमा योगदान पुर्याउँछन् । नदी तटीय क्षेत्रमा रहेका परिपक्व रुखले माटोको स्थायित्व कायम राख्न र भूक्षय कम गर्न पनि सहयोग गर्न सक्ने उहाँको भनाइ छ ।
वन क्षेत्रका अध्येता मनोज पौडेलले बरपिपलको संरक्षण आवश्यक भए पनि योजनाबद्ध व्यवस्थापनमा जोड दिनुभयो । बरपिपल जस्ता ठुला रुखका जरा धेरै टाढासम्म फैलिने भएकाले घर, सडक, खानेपानी, ढल तथा अन्य पूर्वाधार नजिक अव्यवस्थित रूपमा रोप्नु उपयुक्त हुँदैन । उपयुक्त दुरी र स्थान छनोट गरेर रोप्दा मात्र दीर्घकालीन लाभ प्राप्त गर्न सकिने उहाँले बताउनुभयो ।
वन तथा वातावरण क्षेत्रका खोजकर्ता किरण खरेलले भोटेकोशी–त्रिशूली क्षेत्रमा देखिएको अनुभवलाई दीर्घकालीन योजना निर्माणसँग जोड्नुपर्ने बताउनुभयो ।
नदी व्यवस्थापनका लागि ग्याबियन संरचना, जैविक अभियान्त्रिकी, बाढी मैदानको संरक्षण, उपयुक्त भू–उपयोग योजना तथा वृक्षरोपणलाई एकीकृत रूपमा कार्यान्वयन गर्नुपर्ने आवश्यकता औँल्याउँदै खरेलले बरपिपललाई बाढी नियन्त्रणको चमत्कारी उपायका रूपमा नभई नदीकिनार संरक्षण र वातावरणीय सन्तुलनमा योगदान दिने प्राकृतिक सम्पदाका रूपमा बुझ्नुपर्ने बताउनुभयो ।


+ There are no comments
Add yours