०१ असाेज, काठमाडौँ । आज विश्वकर्मा पूजा मनाइँदैछ। हरेक वर्ष कन्या संक्रान्तिका दिन विश्वकर्मा पूजा तथा विश्वकर्मा जयन्ती मनाउने गरिन्छ । धार्मिक मान्यताअनुसार कन्या संक्रान्तिका दिन भगवान विश्वकर्माको जन्म भएको थियो। त्यसैले यस दिनलाई विश्वकर्मा जयन्तीका रूपमा समेत मनाउने गरिन्छ ।
विश्वकर्मा पूजाका अवसरमा विभिन्न कलकारखाना, उद्योग तथा निर्माणसँग सम्बन्धित क्षेत्रमा विशेष पूजा तथा आराधना गरिन्छ । श्रमिक तथा कालिगढले आफूले दैनिक काममा प्रयोग गर्ने औजार, मेसिन तथा उपकरणको पूजा गर्ने चलन छ ।
यस दिन कलकारखाना तथा उद्योगलाई विशेष रूपमा सजाएर विश्वकर्माको तस्वीर वा मूर्ति स्थापना गरी विधिपूर्वक पूजा गरिन्छ। बालुवा तथा अन्य सामग्रीबाट बनाइएका विश्वकर्माका मूर्ति विभिन्न शुद्ध स्थानमा लगेर विसर्जन गर्ने परम्परा पनि छ ।
धार्मिक विश्वासअनुसार विश्वकर्माको पूजा गरी औजार तथा उपकरणको आराधना गरेमा ती लामो समयसम्म टिक्ने, कामका क्रममा कम समस्या आउने र काममा सफलता प्राप्त हुने विश्वास छ ।
यसै अवसरमा काठमाडौं उपत्यकाका विभिन्न स्थानमा विश्वकर्माका मूर्ति स्थापना गरी साजसज्जा गरिएको छ ।
को हुन् भगवान विश्वकर्मा ?
हिन्दू धार्मिक मान्यतामा भगवान विश्वकर्मालाई निर्माण, शिल्प, वास्तुकला तथा प्रविधिका देवताका रूपमा मानिन्छ । उनलाई विश्वकै पहिलो इन्जिनियर तथा वास्तुकारका रूपमा समेत चित्रण गरिएको पाइन्छ ।
धार्मिक कथनअनुसार ब्रह्मालाई सृष्टिको निर्माणको जिम्मेवारी दिइएपछि उनले विश्वकर्मालाई निर्माणसम्बन्धी कार्यमा संलग्न गराएका थिए। विश्वकर्माले पाताल, मध्यलोक र स्वर्गलोक गरी तीनै लोकको निर्माण गरेको धार्मिक विश्वास छ ।
विश्वकर्माको महत्त्व प्राचीन वैदिक साहित्यमा समेत उल्लेख भएको पाइन्छ। ऋग्वेदमा विश्वकर्माको स्तुतिसहितका ऋचाहरू उल्लेख छन् ।
धार्मिक कथाअनुसार विश्वकर्मासँग सत्ययुगको स्वर्गलोक, त्रेतायुगको लंका, द्वापरयुगको द्वारिका तथा विभिन्न मन्दिर र वास्तुकलाका संरचना निर्माणसँग सम्बन्धित कथाहरू जोडिएका छन् ।
विश्वकर्मा पूजा विशेषगरी उद्योग, कलकारखाना, वर्कसप, निर्माण क्षेत्र तथा विभिन्न प्राविधिक पेशामा संलग्न व्यक्तिले महत्त्वका साथ मनाउने गर्छन् । यस दिन औजार तथा उपकरणको पूजा गर्दै आफ्नो पेशा र श्रमप्रति सम्मान व्यक्त गर्ने परम्परा रहेको छ ।


+ There are no comments
Add yours