राजेन्द्र तिवारी
२५ असाेज, काठमाडाैँ । नेपालीको महान् पर्व बडादसैँ आज आइतबारदेखि सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन आज घरघरमा घटस्थापना गरी जमरा राख्नुका साथै नवदुर्गामध्ये पहिलो स्वरूप शैलपुत्रीको पूजा आराधना गरिँदैछ।
बडादसैँको पहिलो दिन घरको पूजाकोठा वा दसैँघरमा वैदिक विधिअनुसार दियो, कलश र गणेश स्थापना गरी शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरिन्छ। त्यसपछि विधिपूर्वक जमरा राखेर नवरात्रको पूजा आरम्भ गर्ने परम्परा छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज घटस्थापनाको साइत बिहान ११ बजेर ४७ मिनेटमा रहेको छ। दिनभर चित्रा नक्षत्र रहने भएकाले शास्त्रीय मान्यताअनुसार मध्याह्नकालको अभिजित् मुहूर्तमा घटस्थापनाको साइत निर्धारण गरिएको समितिले जनाएको छ।
सूर्योदयका समयमा प्रतिपदा तिथि परेका दिन घटस्थापना गर्नुपर्ने मान्यताअनुसार आजकै दिन घटस्थापना गर्ने निर्णय गरिएको समितिका अध्यक्ष प्रा. डा. पुरुषोत्तम भट्टराईले बताएका छन्। सामाजिक सञ्जालमा घटस्थापना सोमबार गर्नुपर्ने भन्दै फैलिएका सूचनामा विश्वास नगर्न पनि उनले आग्रह गरेका छन्।
जमरा राखेर दुर्गाको आह्वान
घटस्थापनाका दिन बिहान नित्यकर्म सकेपछि नदी वा चोखो स्थानबाट बालुवा वा माटो ल्याएर गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा वा दसैँघरमा राखिन्छ। त्यसमाथि जौँ रोपेर जमरा राख्ने परम्परा छ। जौँको अङ्कुरलाई दुर्गा देवीको प्रिय वस्तु मानिने भएकाले नवरात्रभर त्यसको पूजा गरिन्छ। विजयादशमीका दिन टीका र प्रसादसँगै पहेँलो जमरा पनि ग्रहण गरिन्छ।
धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष प्रा. डा. रामचन्द्र गौतमका अनुसार शास्त्रीय विधिमा जमराका लागि जौँ नै रोप्ने व्यवस्था छ। तर कुल परम्पराअनुसार कतिपय परिवारले जौँसँगै अन्य अन्न पनि रोप्ने गरेका छन्। जमरालाई आयुर्वेदिक औषधिमा समेत प्रयोग गर्ने गरिएको छ।
आज विधिपूर्वक स्थापना गरिएको कलशको जललाई पवित्र मानेर नवरात्रभर पूजा गरिन्छ। विजयादशमीका दिन देवीको प्रसादका रूपमा टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने परम्परा छ।
नौ दिन नौ दुर्गाको पूजा
नवरात्रका नौ दिन दुर्गाका नौवटा स्वरूपको पूजा गर्ने परम्परा छ। पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा गरिन्छ।
शैलपुत्रीलाई नवदुर्गाको पहिलो स्वरूप मानिन्छ। धार्मिक ग्रन्थहरूमा गिरिराज हिमालयकी पुत्री पार्वतीलाई शैलपुत्रीका रूपमा वर्णन गरिएको छ। नवरात्रको पहिलो दिन शैलपुत्रीको आह्वान गरी पूजा आराधना गर्दा सुख, शान्ति र समृद्धि प्राप्त हुने धार्मिक विश्वास छ।
नवरात्रभर महाकाली, महालक्ष्मी र महासरस्वतीको पनि विशेष पूजा गरिन्छ। महाकालीलाई शक्तिको, महालक्ष्मीलाई धनधान्य र ऐश्वर्यको तथा महासरस्वतीलाई विद्या र बुद्धिको प्रतीकका रूपमा लिने गरिन्छ।
दुर्गा सप्तशती, चण्डी, श्रीमद्देवीभागवत तथा विभिन्न देवी स्तोत्रको पाठ नवरात्रका प्रमुख धार्मिक गतिविधि हुन्। यस अवसरमा नक्साल भगवती, शोभा भगवती, नाला भगवती, पलाञ्चोक भगवतीलगायत देशभरका शक्तिपीठमा पूजा र दर्शन गर्ने भक्तजनको भीड लाग्ने गर्छ। दुर्गाको प्रतीकका रूपमा नौ दिनसम्म छुट्टाछुट्टै कन्याको पूजा गर्ने परम्परा पनि छ।
बडादसैँको सातौँ दिन फूलपाती भित्र्याइन्छ भने महाअष्टमी र महानवमीका दिन दसैँघर, कोत तथा शक्तिपीठमा विशेष पूजा गरिन्छ। बलि दिने परम्परा भएका स्थानमा ती दिन बलिपूजासमेत गरिन्छ।
असत्यमाथि सत्यको विजयको प्रतीक
बडादसैँलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयका रूपमा मनाउने गरिन्छ। धार्मिक मान्यताअनुसार दुर्गाले चण्ड, मुण्ड, शुम्भ, निशुम्भ र रक्तबीजलगायत आसुरी प्रवृत्तिका प्रतीकलाई पराजित गरेकी थिइन्। यही मान्यताका आधारमा नवरात्रभर देवीको पूजा आराधना गर्ने परम्परा बसेको धार्मिक विश्वास छ।
दसैँ धार्मिक आस्थासँगै पारिवारिक पुनर्मिलनको पर्व पनि हो। रोजगारी, अध्ययन र अन्य कामका लागि घरबाहिर रहेका मानिस यस अवसरमा आफ्नो थातथलो फर्कने र परिवारका सदस्यसँगै पर्व मनाउने गर्छन्। दसैँको बिदा सुरु भएसँगै काठमाडौंलगायत सहरी क्षेत्रबाट घर फर्कने यात्रुको चहलपहल पनि बढेको छ।
कात्तिक ४ गते विजयादशमी
यस वर्ष विजयादशमी कात्तिक ४ गते बुधबार परेको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार त्यस दिन देवी विसर्जनको साइत बिहान ८ बजेर ४९ मिनेटमा रहेको छ भने टीका र प्रसाद ग्रहणका लागि बिहान १० बजेर २६ मिनेटको साइत उत्तम रहेको छ।
विजयादशमीका दिन मान्यजनबाट टीका, जमरा र फूलप्रसाद ग्रहण गरी आशीर्वाद लिने गरिन्छ। त्यसपछि कोजाग्रत पूर्णिमासम्म परिवार तथा आफन्तबीच टीका लगाउने र आशीर्वाद आदानप्रदान गर्ने परम्परा छ।
कोजाग्रत पूर्णिमाका दिन धनधान्यकी देवी महालक्ष्मीको पूजा गरी रातभर जाग्राम बस्ने चलन छ। धार्मिक विश्वासअनुसार यस दिन जाग्राम बसी लक्ष्मीको आराधना गर्दा धनधान्य र समृद्धि प्राप्त हुन्छ। घटस्थापनाका दिन राखिएको जमरा पनि कोजाग्रत पूर्णिमामा चोखो स्थानमा विसर्जन गर्ने परम्परा छ।
हनुमानढोकामा पनि घटस्थापना
काठमाडौंको हनुमानढोका दरबारस्थित दसैँघरमा पनि आजदेखि वैदिक विधिअनुसार जमरा राखेर दुर्गा देवीको पूजा आराधना सुरु गरिँदैछ। हनुमानढोका दरबार हेरचाह अड्डाका प्रमुख जयन्ती श्रेष्ठ प्रधानका अनुसार चित्रा नक्षत्र र वैधृति योगको पूजा तथा हवनपछि समितिले निर्धारण गरेको साइतमा घटस्थापना गरिनेछ।
दसैँका अवसरमा धेरैजसो शैक्षिक संस्थाले आजदेखि बिदा दिने गरेका छन्। बिदा सुरु भएसँगै राजधानी र अन्य सहरी क्षेत्रबाट गाउँघर फर्कने क्रम बढेको छ। परिवारसँग भेटघाट, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण तथा धार्मिक पूजाआराधनाका कारण बडादसैँलाई नेपाली समाजमा विशेष महत्त्वका साथ मनाइन्छ।


+ There are no comments
Add yours