अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भ्रमणका लागि भारत प्रस्थान

०१ असाेज, काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले आज भारत भ्रमण जादैछन् । भारत सरकारको निमन्त्रणामा अर्थमन्त्री डा. वाग्ले आज तीन दिने भारत भ्रमणमा जान लागेका हुन् ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उनको भारत भ्रमण स्वीकृत गरेको हो । ६ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अर्थमन्त्री वाग्ले आज नयाँ दिल्ली प्रस्थान गर्नेछन् । भ्रमण टोलीमा अर्थ मन्त्रालय र परराष्ट्र मन्त्रालयका अधिकारीहरू सहभागी हुने बताइएको छ ।

अर्थमन्त्री डा. वाग्लेले भारत भ्रमणका क्रममा बिहीबार नै भारतीय समकक्षी निर्मला सीतारमणसँग भेटवार्ता गर्ने कार्यक्रम छ । त्यस्तै शुक्रबार अर्थमन्त्री डा. वाग्लेले भारतीय विदेशमन्त्री डा. एस. जयशंकरसँग भेट गर्ने छन् भने सोहि दिन भारतका पूर्वविदेशसचिव श्याम शरणले आयोजना गर्ने उच्चस्तरीय कूटनीतिक संवाद कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम तय भएको छ ।

शुक्रबार नै अर्थमन्त्री डा. वाग्ले भारत व्यापार संवर्धन संगठनका अध्यक्ष जावेद अश्राफले आयोजना गर्ने कार्यक्रममा सहभागी हुनेछन् । शनिबार बिहान भारतीय उद्योग परिसंघले आयोजना गर्ने प्रतिष्ठित औद्योगिक घरानाहरूसँगको सम्मेलनमा प्रमुख वक्ताका रूपमा अर्थमन्त्री सहभागी हुनेछन्।

त्यस्तै शनिबार दिउँसो अर्थमन्त्री डा. वाग्लेले दिल्ली स्कुल अफ इकोनोमिक्सले आयोजना गर्ने विकास अर्थनीतिबारे प्राज्ञिक छलफलमा प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम तय भएको जानकारी दिइएको छ । डा. वाग्ले शनिबार साँझनै नेपाल फर्कने कार्यक्रम रहेको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours