इन्टरनेटबाट अर्बपति बनेका नेपालप्रेमी दानी ‘क्रिएटर’

सिन्धुलीको फिकल गाउँपालिकामा बिजुली नहुँदा स्थानीय अस्पतालमा चिकित्सकले टर्च लाइट बालेर शल्यक्रिया गर्नुपर्ने र गर्भवतीले ज्यान गुमाउनुपर्ने अवस्था रहेको भन्दै सन् २०२४ मा मिस्टर बिस्टको टोलीले त्यहाँ सोलार प्यानल र ब्याट्री जडान गरी अस्पताललाई उज्यालो बनाइदिएको भिडियो उनी आफैंले युट्युबमा राखेका छन्।

३० साउन, काठमाडौँ । एउटा टोकरीमा डलरका बिटा बोकेर कक्षाकोठामा छिर्दै मिस्टर बिस्ट भन्छन्, ‘मसँग केही प्रश्न छन् । यी प्रश्नका जवाफ मिलायौ भने तिमीहरूका शिक्षकले ३ हजार डलर पाउनुहुनेछ ।’

मिस्टर बिस्टलाई प्रत्यक्ष देखेर ससाना विद्यार्थी आश्चर्यचकित र उत्साहित हुँदै एकसाथ चिच्याउँछन् । अनि छक्क पर्दै मुख बाउँछन् । कोहीले दुवै हात टाउकोमा राखेर छक्क पर्दै भन्छन्, ‘ओ माई गड !’ मिस्टरले सोधेका अतिसाधारण प्रश्नको सहजै जवाफ दिएर उनीहरूले पनि तीन हजार डलरसहित विभिन्न उपहार पाउँछन् ।

मिस्टर बिस्ट यस्तै गतिविधिका कारण युट्युबमा सबैभन्दा चर्चित छन् । यही चर्चाले उनलाई विश्वकै सबैभन्दा धनी कन्टेन्ट क्रिएटर बनाइदिएको छ । सन् २०२५ को ‘फोर्ब्स टप क्रिएटर्स’ सूचीको पहिलो नम्बरमा परेका मिस्टर बिस्ट अहिले अर्बपतिहरूको सूचीमा एक अनौठो र लोभलाग्दो नाम बनेका छन् । मिस्टर मुख्यतया किशोरकिशोरी र बालबालिकाका लागि रोचक, खर्चिला र अनौठा चुनौतीले भरिएका भिडियो बनाउँछन् । उनका भिडियोमा लाखौं डलर नगद उपहार दिइने क्विज, स्टन्ट, कठिन भौगोलिक परिस्थितिमा बाँच्नलाई गरिने संघर्षका खेल र अन्य प्रतियोगिता समावेश हुन्छन् ।

दक्षिण कोरियाली वेब शृंखला ‘स्क्विड गेम’ को वास्तविक प्रयोग, हवाईजहाजको सस्तो र महँगो टिकटको तुलना वा एक महिनासम्म अपरिचित व्यक्तिसँग साङ्लोमा बाँधिएर बस्ने चुनौती जस्ता खेल नै मिस्टरका भिडियोका मुख्य आकर्षण हुन् ।

अघिल्लो महिना मात्रै २८ वर्षीय अमेरिकी युवा जिम्मी डोनल्डसन अर्थात् मिस्टर बिस्टको युट्युब च्यानलमा सब्स्क्राइबरको संख्या ५० करोड नाघ्यो । ५० करोड सब्स्क्राइबर पुग्ने पहिलो कन्टेन्ट क्रिएटर बनेर इतिहास रचेको भन्दै युट्युबका प्रमुख कार्यकारी अधिकृत नील मोहनले उनलाई बधाई र विशेष रूपमा डिजाइन गरिएको ‘कस्टम प्ले बटन’ उपहार दिए ।

सब्स्क्राइबर संख्या बढ्दै जाँदा मिस्टरले हालसम्म ४५ वटा प्ले बटन पाइसकेका छन् । युट्युबका तिनै थरीथरी प्ले बटन नै बटन राखेर डिजाइन गरिएको पोसाक लगाएको तस्बिर बिहीबार सार्वजनिक गर्दै उनले क्याप्सन लेखेका छन्, ‘मेट गालामा जाँदा मैले यस्तो लुगा लगाउनुपर्छ भनेर मेरा साथीहरूले भनिरहेका छन् ।’

सन् २०१२ मा मात्र १३ वर्षको छँदा नै मिस्टर बिस्टले युट्युब कन्टेन्ट बनाउन थालेका थिए । उनले ‘मिस्टर बिस्ट ६०००’ नामको च्यानलबाट युट्युबमा पहिलो भिडियो पोस्ट गरेका थिए । सुरुवाती दिनमा उनी अनलाइन भिडियो गेम खेलेका क्लिप राख्ने र अरू युट्युबरको आम्दानीको चर्चा गर्थे । सन् २०१७ मा उनले १ देखि १ लाखसम्म लगातार गन्ती गरेको झन्डै एक दिन लामो भिडियो बनाए । त्यो भाइरल भएपछि उनी चम्किएका थिए । त्यसपछि उनले कलेजको पढाइ बीचमै छाडेर पूर्णकालीन रूपमा युट्युबमै लाग्ने निर्णय लिएका थिए ।

मिस्टर बिस्टले एउटा भिडियोबाट कमाएको शतप्रतिशत रकम अर्को भिडियो र नयाँ व्यवसायमा पुनः लगानी गर्ने रणनीति अपनाए । सन् २०२६ सम्म आइपुग्दा उनले मुख्य च्यानलमा ९ सय ९७ वटा भिडियो अपलोड गरिसकेका छन् । उनले ‘फिस्टेबल्स’ चकलेट र ‘लन्चली’ जस्ता खाद्य उत्पादन बजारमा ल्याएर दर्शकको ध्यानलाई सफल उपभोक्ता ब्रान्डमा बदल्न सफल भए । द अब्जर्भर पत्रिकामा पत्रकार म्याथ्यु बिसपको रिपोर्टअनुसार मिस्टर बिस्टले आफ्नो प्यारेन्ट कम्पनी बिस्ट इन्डस्ट्रिजको २० करोड डलर मूल्य बराबरको सेयर बिक्री गरेका थिए । त्यसले उनको कम्पनीको मूल्यांकन ५ अर्ब डलर पुर्‍याएको हो ।

मिस्टर बिस्टको बढ्दो लोकप्रियता र आर्थिक उन्नतिले विश्वभर उदाउँदै गरेको ‘क्रिएटर इकोनमी’ को शक्ति देखाउँछ । बेलायती अनुसन्धान संस्था ‘अक्सफोर्ड इकोनोमिक्स’ ले युट्युबको आर्थिक प्रभावबारे सार्वजनिक गरेको प्रतिवेदनअनुसार सामाजिक सञ्जाल र युट्युबले विश्वभरका लाखौं मानिसलाई रोजगारी र आम्दानीका नयाँ स्रोत सिर्जना गरिदिएका छन् ।

हिजो रमाइलोका लागि भिडियो बनाउनेहरू आज ठूला उद्यमी बनेका छन् । उनीहरूको आर्थिक प्रभाव परम्परागत मिडिया वा चलचित्र उद्योगभन्दा कम छैन । ‘म हरेक बिहान उठ्छु र काम गर्छु, उत्कृष्ट भिडियोहरू बनाउन र आफ्नो व्यवसायलाई सकेसम्म ठूलो बनाउन म केन्द्रित छु,’ मिस्टरले भनेका छन् ।

आफ्नो कामको सिलसिलामा मिस्टर बिस्ट र उनको टोली संसारका अनौठा र विकट ठाउँ पुग्छन् । उनीहरू कहिले आर्कटिकको हिउँमा सात दिनसम्म अलपत्र भएर बस्छन् त कहिले दुर्गम टापुहरूमा बाँच्ने चुनौती सामना गर्छन् । तर मिस्टर बिस्टको ख्याति यस्ता मनोरञ्जनात्मक स्टन्टमा मात्र सीमित छैन, उनी समाज सेवा र परोपकारका लागि पनि बराबर चिनिन्छन् । उनले ‘टिम ट्रिज’ अभियानमार्फत २ करोड ३० लाखभन्दा बढी रूख रोपेका छन् भने ‘टिम सिज’ मार्फत समुद्रबाट ३ करोड ३० लाख पाउन्डभन्दा बढी फोहोर हटाएका छन् । ‘टिम वाटर’ मार्फत विश्वका दुर्गम स्थानमा इनार र पानीका स्रोत निर्माण पनि गरेका छन् ।

यही परोपकारी यात्राका क्रममा मिस्टर बिस्टको संस्था ‘बिस्ट फिलान्थ्रोपी’ नेपालसम्म पनि आइपुगेको छ । सिन्धुलीको फिकल गाउँपालिकामा बिजुली नहुँदा स्थानीय अस्पतालमा चिकित्सकले टर्च लाइट बालेर शल्यक्रिया गर्नुपर्ने र गर्भवतीले ज्यान गुमाउनुपर्ने अवस्था रहेको भन्दै सन् २०२४ मा मिस्टर बिस्टको टोलीले त्यहाँ पुगेर सोलार प्यानल र ब्याट्री जडान गरी अस्पताललाई उज्यालो बनाइदिएको भिडियो उनी आफैंले युट्युबमा राखेका छन् ।

सन् २०२५ को जुलाईमा पनि उनी नेपाल आएका थिए । त्यो बेला वाटरएडसँगको सहकार्यमा गोदावरी नगरपालिकाका ठूलो पँधेरो, जौबारी र गाउँबारीमा पिउने पानीको प्रबन्ध मिलाउने अभियानमा सामेल भएका थिए । उनी किशोरावस्थादेखि नै पेटसम्बन्धी समस्या ‘क्रोन रोग’ बाट पीडित छन् । यसले गर्दा उनले आफ्नो मन पर्ने बेसबल खेल यात्रा सधैंका लागि त्याग्नुपरेको थियो ।

कलेज छाडेर युट्युबमा लाग्ने निर्णय गर्दा मिस्टर बिस्टकी आमाले सुरुमा समर्थन गरेकी थिइनन् । र उनलाई घरबाट समेत निकालिदिएकी थिइन् । सन् २०२६ को जुलाईमा उनले थिया बोयसेनसँग नेकर टापुमा विवाह गरेका छन् । सामाजिक सञ्जालमा उनले थियालाई ‘मिसेस बिस्ट’ भनेर चिनाएका छन् ।

द इकोनोमिक टाइम्सले मिस्टर बिस्टको वित्तीय अवस्थाबारे चर्चा गर्दै मिस्टर बिस्टले विवाह खर्चका लागि आफ्नी आमासँग पैसा सापटी लिनुपरेको रोचक प्रसंग उल्लेख गरेको छ । आफूले कमाएको प्रायः सम्पूर्ण रकम नयाँ कन्टेन्ट र समाज सेवामा तुरुन्तै पुनः लगानी गर्ने भएकाले उनी आफूलाई ‘नगदमा गरिब’ तर ‘विचार र काममा धनी’ भनी चिनाउँछन् ।

मिस्टर बिस्ट र उनको टोली कानुनी तथा नैतिक विवादमा पनि परेका छन् । सन् २०२६ को अप्रिलमा बिस्ट इन्डस्ट्रिजका पूर्वकार्यकारी लोरेन माभ्रोमाटिसले कम्पनीविरुद्ध यौन दुर्व्यवहार, कार्यस्थलमा लैंगिक विभेद र बदलाभावले कामबाट निकालिएको आरोप लगाउँदै मुद्दा दायर गरेको बीबीसीका पत्रकार मनीष पाण्डेले लेखेका छन् ।

मिस्टर बिस्टको कार्यक्रम ‘बिस्ट गेम्स’ को सुटिङका क्रममा चरम लापरबाही र असुरक्षित वातावरणको विवाद पनि सतहमा आएको थियो । लस भेगासमा भएको सुटिङमा सहभागी प्रतियोगीले उचित खाना, पानी, सुत्ने ठाउँ र औषधिसमेत नपाएको गुनासो गरेका थिए ।

उक्त रियालिटी शोको सुटिङका क्रममा डोरी घाँटीमा बेरिनेजस्ता गम्भीर दुर्घटना भई दर्जनौं व्यक्ति घाइते भएका तथा केही अस्पताल भर्ना हुनुपरेको थियो । कतिपय आलोचकले कमजोर र गरिब मानिसलाई पैसाको प्रलोभनमा पारेर कठिन मानसिक वा शारीरिक चुनौती दिनुलाई नैतिक रूपमा गलत मान्दै आएका छन् । मिस्टर बिस्टका भिडियोमा प्रायः लाखौं डलर खर्च गर्ने, महँगा सामान फुटाउने वा पैसाका लागि जुनसुकै चुनौती पूरा गर्ने विषयमा आधारित हुन्छन् । यसले बालबालिकालाई गलत प्रभाव पारिरहेको भन्दै आलोचना पनि हुने गरेको छ ।

एजेन्सी

You May Also Like

More From Author

+ There are no comments

Add yours