२८ साउन, लण्डन । युरोपका धेरैजसो देशमा करिब ३० वर्षयताकै सबैभन्दा दुर्लभ र आकर्षक सूर्यग्रहण देखिएको छ।
यो अद्भूत खगोलीय दृश्य हेर्नका लागि युरोपभरि लाखौँ मानिसको सहभागिता रहेको थियो।

बेलायती समय अनुसार साँझ सात बजेपछि उच्च विन्दुमा पुगेको उक्त ग्रहणमा बेलायतका बहुसंख्यक मानिसले ९० प्रतिशतभन्दा बढी सूर्य चन्द्रमाले ढाकेको देखेका थिए। बेलायतमा आंशिक ग्रहण देखिए पनि ग्रिनल्यान्ड, आइसल्यान्ड र स्पेनका केही भागमा भने पूर्ण सूर्यग्रहण लागेर केही समय अँध्यारो छाएको थियो।

यो खगोलीय घटनाको बाटो रुसको साइबेरियाली उत्तरी भेगबाट सुरु भएको थियो। त्यसपछि आर्कटिक महासागर हुँदै आइसल्यान्ड र बेलायतसम्म यसको असर फैलिएको थियो। बेलायतका विभिन्न भागमा साँझ ६ बजेदेखि ६:२० को बिचमा आंशिक ग्रहण सुरु भएको थियो। सुरुमा महसुस नभए पनि आकाश सफा भएका क्षेत्रमा चन्द्रमाले बिस्तारै सूर्यलाई ढाक्दै लगेको प्रस्ट देखिएको थियो।

मध्य र दक्षिणी इंग्ल्याण्ड तथा वेल्समा मौसम सफा रहेकाले मानिसहरूले राम्रोसँग ग्रहण अवलोकन गर्न पाएका थिए। उत्तरी इंग्ल्याण्ड, स्कटल्यान्ड र उत्तरी आयरल्यान्डमा अलि बढी बादल लागे पनि मानिसहरू प्रसिद्ध स्थलहरूमा भेला भएर दृश्य हेर्न छाडेनन्। ग्रहण हेर्ने विशेष चस्माको अभाव भएपछि मानिसहरूले भान्छामा प्रयोग हुने जाली, भाँडा, बट्टा र कागजका टुक्राहरू प्रयोग गरेर सुरक्षित रूपमा ग्रहण हेरेका थिए।
पृथ्वी, सूर्य र चन्द्रमा एकै सीधा रेखामा पर्दा सूर्यग्रहण लाग्छ। बेलायतबाट पूर्ण रूपमा एउटै रेखामा नदेखिएकाले त्यहाँ आंशिक ग्रहण मात्र देखिएको हो। यद्यपि सन् १९९९ पछि बेलायतमा देखिएको यो नै सबैभन्दा ठुलो सूर्यग्रहण हो। इंग्ल्याण्डको कर्नवालमा ९५ प्रतिशतसम्म सूर्य ढाकिएको थियो।

स्पेनमा भने साँझ करिब साढे सात बजे सूर्य, चन्द्रमा र पृथ्वी पूर्ण रूपमा एउटै रेखामा परेर पूर्ण सूर्यग्रहण लागेको थियो। उक्त दृश्य हेर्न हजारौँ माइल यात्रा गरेर स्पेनको ए कोरुना पुगेकी चिलीकी वैज्ञानिक यास्मिन क्याट्रिचियोले भनिन्, ‘पूर्ण ग्रहणका बेला सबै जना खुसीले कराउँदै दृश्य सेयर गरिरहेका थिए। त्यो अनुभव शब्दमा व्यक्त गर्न सकिँदैन, ब्रह्माण्ड साँच्चै नै अद्भुत छ।’

सामान्यतया पृथ्वीको कुनै न कुनै भागमा हरेक १८ महिनामा पूर्ण सूर्यग्रहण लाग्छ। तर कुनै एक निश्चित स्थानमा भने करिब चार सय वर्षमा एक पटक मात्र यस्तो अवसर जुर्छ। स्पेनमा पूर्ण सूर्यग्रहण हेर्नेहरूले सूर्यको पछाडि रातो चमक र टाढासम्म फैलिएको ग्यासको ज्वाला (कोरोना) समेत देखेका थिए। पूर्ण सूर्यग्रहण दुई मिनेटभन्दा कम समय मात्र कायम रहे पनि अवलोकनकर्ताहरूका लागि यो अविस्मरणीय बनेको छ।

वैज्ञानिकहरूका अनुसार सूर्य पृथ्वीभन्दा १५ करोड किलोमिटर टाढा छ, जुन दूरी चन्द्रमाको तुलनामा ४०० गुणा बढी हो। तर चन्द्रमाको व्यास सूर्यभन्दा ४०० गुणा सानो भएकाले आकाशमा दुवैको आकार एउटै देखिन्छ। चन्द्रमा अलि सानो वा अलि टाढा भएको भए पृथ्वीबाट कहिल्यै पूर्ण सूर्यग्रहण देखिने थिएन।
अब सन् २०२६ देखि २०२८ को बिचमा पूर्ण सूर्यग्रहणको एउटा ठुलो शृङ्खला सुरु हुँदै छ। तर ती ग्रहणहरू बेलायतबाट देखिने छैनन्। बेलायतमा अब सन् २०२७ मा करिब ४५ प्रतिशतसम्म ढाकिने आंशिक ग्रहण देखिने छ भने सन् २०८१ मा ९९ प्रतिशतसम्म ढाकिने सूर्यग्रहण देखिने छ। बेलायतमा पुनः पूर्ण सूर्यग्रहण हेर्न भने सन् २०९० सम्म पर्खनुपर्ने छ।


+ There are no comments
Add yours