२४ साउन, काठमाडौँ । रोजगारीको खोजीमा आफ्नो मातृभूमि छोड्न बाध्य लाखौँ नेपाली युवा र उनीहरूले पछाडि छाडेर जाने परिवारको कथा बोकेको गायक हेमन्त रानाको नयाँ गीत ‘सुन कुरा’ सार्वजनिक भएको छ।
रानाकै शब्द, सङ्गीत र स्वरमा रहेको गीत बिदेसिन बाध्य युवाप्रति समर्पित छ। गाउँहरू क्रमशः रित्तिँदै जाँदा वृद्ध आमाबुबा एक्लै जीवन बिताउन बाध्य भइरहेको अवस्था, बसाइसराइले निम्त्याएको भावनात्मक तथा सामाजिक असर र बढ्दो वातावरणीय सङ्कटलाई गीतले संवेदनशील ढङ्गले उठाएको छ।
गीतलाई बिदेसिएका नेपाली युवा र उनीहरूले पछाडि छाडेर जाने परिवारप्रति समर्पणका रूपमा प्रस्तुत गरिएको छ। यसले बिदेसिने एउटा व्यक्तिको कथा मात्र नभई त्यसको असर परिवार, गाउँ, समाज र वातावरणसम्म कसरी पुगिरहेको छ भन्ने प्रश्न उठाउँछ।
‘गीत–सङ्गीत, कविता, कथा, चलचित्र लगायत समग्र कलाले कुनै न कुनै रूपमा समाजको प्रतिनिधित्व गरेको हुन्छ। कलामा कहीँ न कहीँ समाज बोलेको हुन्छ,` गीतबारे हेमन्त राना भन्छन्,´
आजभोलि गाउँघरमा वृद्धवृद्धा, महिला र बालबालिका बाहेक तन्नेरी पुस्ता खासै देखिँदैन। कुनै–कुनै जिल्लाका गाउँहरू त लगभग रित्तिँदै गएका छन् । यही सामाजिक यथार्थको एउटा सानो कथा बोकेर म यो गीतमार्फत तपाईँहरू सामु आएको छु। आशा छ, मेरो यो सानो प्रयासलाई र गीतमा समेटिएको हाम्रो समाजको कथा अनि भावनालाई तपाईँहरूले महसुस गर्नुहुनेछ।’
गीतमा कोबिद बज्रको म्युजिक प्रोडक्सन तथा मिक्सिङ–मास्टरिङ रहेको छ। बिकेश बज्रको स्ट्रिङ एरेन्जमेन्ट तथा रेकर्डिङ र ड्रम्स, निशाद श्रेष्ठको चेलो र रोमन बुढाथोकीको भायोलिन रहेको छ।
गीतको भिडियोमा विजय बराल, रक्षा थापा र मणि के. राईले अभिनय गरेका छन्। हेमराज बीसीको निर्देशनमा बनेको भिडियोमा शैलेन्द्र डी. कार्कीको छायाङ्कन र निमेश श्रेष्ठको सम्पादन रहेको छ।
सामाजिक विषयवस्तुलाई गीतमार्फत प्रस्तुत गर्दै आएका हेमन्तका लागि ‘सुन कुरा’ नयाँ विषय भने होइन। यसअघि उनको चर्चित गीत ‘सुन साइँली’ले पनि वैदेशिक रोजगारीका लागि विदेशिएको नेपाली युवा र उसले घरमा छाडेर गएको परिवारको पीडालाई कथाका रूपमा प्रस्तुत गरेको थियो। उक्त गीतले वैदेशिक रोजगारीले नेपाली समाजमा पारेको भावनात्मक प्रभावलाई निकै बलियोसँग उठाएको थियो।
‘सुन कुरा’मा भने रानाले त्यही सामाजिक यथार्थलाई अर्को कोणबाट हेरेका छन्- युवाहरू बिदेसिएपछि खाली हुँदै गएका गाउँ, एक्लिँदै गएका अभिभावक, बदलिँदो सामाजिक संरचना र त्यससँगै प्रकृतिमा परिरहेको असर। यसरी हेर्दा ‘सुन कुरा’ हेमन्त रानाको सामाजिक सरोकार बोकेका गीतहरूको निरन्तरता पनि बनेको छ।


+ There are no comments
Add yours