राजदूतसँग नभेटने अडानबाट पछि हटे प्रधानमन्त्री शाह, सोमबार भारतीय र चिनियाँ राजदूतसँग भेट्दै

२४ साउन, काठमाडौँ । काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले विदेशी राजदूतहरूसँग व्यक्तिगत भेटघाट नगर्ने पूर्वअडानबाट पछि हट्दै सोमबारदेखि काठमाडौंस्थित प्रमुख कूटनीतिज्ञहरूसँग छुट्टाछुट्टै भेट गर्ने भएका छन्।

शाहले सोमबार भारतीय राजदूत नवीन श्रीवास्तव र चिनियाँ राजदूत चाङ माओमिङसँग छुट्टाछुट्टै भेट गर्दै छन्। भोलिपल्ट मंगलबार कार्यवाहक अमेरिकी राजदूत (चार्ज डी’ अफेयर्स) स्कट अर्बमसँग भेटवार्ता गर्ने तय भएको छ।

शाहले दुई साताअघि नै उनीहरूलाई भेट्ने योजना बनाए पनि सुनसरी र अन्य जिल्लामा भएका हिंसात्मक घटनाका कारण भेटघाट पछि धकेलिएको हो। छिमेकी मुलुकका राजदूतहरूलाई एकै दिन भेट्ने निर्णयले नेपालका लागि दुवै मुलुकको समान महत्त्व रहेको सन्देश दिन खोजिएको देखिन्छ। समयतालिका भने पहिले भारत र त्यसपछि चीनसँग भन्ने सरकारको घोषित परराष्ट्र नीतिअनुरूप मिलाइएको छ।

‘भारतीय राजदूतलाई पहिले र त्यसपछि चिनियाँ राजदूतलाई आउन भनिएको छ। दुवै राजदूतले प्रधानमन्त्रीलाई एकै दिन भेट गर्ने भए पनि समयतालिकाले सरकारको परराष्ट्र नीतिको प्राथमिकतालाई देखाउँछ,’ परराष्ट्र मन्त्रालयका एक वरिष्ठ अधिकारीले कान्तिपुरसँग भने, ‘भोलिपल्ट कार्यवाहक अमेरिकी राजदूतलाई भेट्ने कार्यक्रम छ, अमेरिका नेपालको अर्को महत्त्वपूर्ण मित्र र विकास साझेदार हो।’

प्रधानमन्त्रीका एक सल्लाहकारका अनुसार परराष्ट्र मन्त्रालयले सम्बन्धित दूतावासलाई भेटघाटको समयबारे जानकारी गराइसकेको छ । ‘नेपालको परराष्ट्र नीतिका प्राथमिकताहरूलाई ध्यानमा राख्दै दुई छिमेकी मुलुक भारत र चीनका राजदूतहरूबाट भेटवार्ता सुरुवात गर्नु स्वाभाविक नै हो,’ प्रधानमन्त्रीका एक सहयोगीले भने। १३ चैतमा प्रधानमन्त्री बनेयता शाह र काठमाडौंस्थित राजदूतहरूबीच यो पहिलो व्यक्तिगत शिष्टाचार भेट हुनेछ। भेटघाटको कार्यसूची मुख्यतया परिचयात्मक हुने अपेक्षा गरिएको छ। त्यस क्रममा राजदूतहरूले शाहलाई द्विपक्षीय सम्बन्धको अवस्थाबारे जानकारी गराउने र आफ्नो सरकारका तर्फबाट सन्देशहरू हस्तान्तरण गर्नेछन्।

बैठकमा सहभागी हुने अधिकारीहरूबारे भने टुंगो लागिसकेको छैन। राजदूतहरूसँगै परराष्ट्र मन्त्रालयका अधिकारीहरू, सम्बन्धित महाशाखा प्रमुख र प्रधानमन्त्री कार्यालयका अधिकारीहरू पनि सहभागी हुने अपेक्षा गरिएको छ।

विदेशी कूटनीतिज्ञहरूसँग व्यक्तिगत भेटघाट नगर्ने अडानबीच शाहले एसियाली विकास बैंक (एबीडी) का अध्यक्ष मासातो कान्डालाई भेटेका थिए। मासातो तीनदिने भ्रमणका लागि २२ असारमा नेपाल आएका थिए।

प्रधानमन्त्री शाहले सुरुमा राजदूतहरूसँग मात्र नभई भ्रमणमा आउने वरिष्ठ विदेशी अधिकारीहरूसँग पनि एक्लाएक्लै भेट नगर्ने अडान राखेका थिए। सोही क्रममा काठमाडौंस्थित अमेरिकी दूतावासले दक्षिण–मध्य एसियाली मामिलाका लागि अमेरिकी सहायक विदेशमन्त्री समिर पल कपुर र दक्षिण–मध्य एसियाका लागि राष्ट्रपति डोनल्ड ट्रम्पका विशेष दूत सर्जियो गोरसँगको भेटघाटका लागि गरेको अनुरोध प्रधानमन्त्री शाहले अस्वीकार गरेका थिए। त्यस्तै नेपाल भ्रमणमा आएकी अमेरिकी उपविदेशमन्त्री सारा बी. रोजर्सले पनि शाहसँग भेट्न पाइनन्।

प्रधानमन्त्री शाहले २५ चैत ०८२ र गत १२ जेठमा काठमाडौंस्थित विदेशी नियोगका प्रमुखहरूसँग संयुक्त बैठक गरेका थिए। शाहको उक्त भेटलाई नेपाली कूटनीतिज्ञ, परराष्ट्रविद् र पर्यवेक्षकहरूले स्वागत गरेका थिए। सामूहिक बैठकलाई पारदर्शी कूटनीति र समदूरीको सम्बन्ध विकास गर्ने रणनीतिका रूपमा पनि अर्थ्याइएको थियो। तर विज्ञहरूले यसलाई निरन्तरता दिन कठिन हुने बताएका थिए।

सरकारले १०० दिन पूरा गरेपछि प्रधानमन्त्रीलाई सल्लाहकारहरूले उद्योगी–व्यवसायी, सञ्चारमाध्यमका प्रतिनिधिका साथै काठमाडौंस्थित राजदूतहरू लगायतलाई भेट्न सुझाव दिएका थिए। त्यसयता उनले व्यापारी, उद्योगी–व्यवसायी लगायतलाई भेटिरहेका छन्। तराई–मधेश क्षेत्रमा भएका विरोध र हिंस्रक प्रदर्शनका कारण राजदूतहरूसँगको व्यक्तिगत भेटघाट कार्यक्रम भने स्थगित भएको थियो। प्रधानमन्त्री शाहले यसबीचमा मधेशकेन्द्रित राजनीतिक दल र सांसदहरूसँग समेत छलफल गरे।

You May Also Like

More From Author

+ There are no comments

Add yours