हिमालले चिनिएका निम्स दाइ, हिमालमै अस्ताए

१६ साउन , काठमाडाैँ । पाकिस्तानमा विश्वको १२औँ अग्लो हिमाल ब्रड पिकको हिमपहिरोमा परेर हराइरहेका नेपालमा जन्मिएका विश्वचर्चित आरोही निर्मल पुर्जा अब हामीमाझ भौतिक रुपमा रहेनन् । उनको शव आज भेटिएको हो । आज पनि विहानैदेखि वेपत्ता आरोहीहरूको खोजी तथा उद्धार कार्य जारी राखिएको थियो ।

पहिलो दिन हिजो ३ जनाको मात्रै शव भेटिएको थियो, जसमा एक जना नेपाली नै थिए । आज भने निर्मल पुर्जा निम्स दाइको पनि शव भेटिएको हो । पुर्जा संस्थापक रहेको आरोहण कम्पनी ‘इलाइट एक्सपेड’ ले शनिबार एक फेसबुक पोस्टमार्फत यस हृदयविदारक खबरको आधिकारिक पुष्टि गरेको हो ।

बिहीबार ८,०४७ मिटर अग्लो ब्रोड पिकमा आएको विनाशकारी हिमपहिरोमा पुर्जासँगै उनको टोलीका अन्य सदस्यहरूले पनि ज्यान गुमाएका छन् । कम्पनीका अनुसार पुर्जाका भरपर्दा आरोहण सहयोगी एवं गाइडहरू पुर बहादुर गुरुङ (युक्ता) र निमा शेर्पाको पनि सोही दुर्घटनामा मृत्यु भएको छ ।

‘अत्यन्तै गहिरो दुख र हृदयविदारक पीडाका साथ हामी यो पुष्टि गर्दछौँ कि ब्रोड पिकमा आएको हिमपहिरोमा परी निर्मल ‘निम्सदाइ’ पुर्जाले ज्यान गुमाउनुभएको छ,’ इलाइट एक्सपेडले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हामी निम्स मात्र नभई यो त्रासदीमा ज्यान गुमाउने उहाँका सहयात्री र गाइडहरू युक्ता र निमा शेर्पाप्रति पनि शोक व्यक्त गर्दछौँ ।’

शनिबार बिहान ड्रोन सर्वेक्षणका क्रममा क्याम्प–१ नजिकै पाँचवटा शवहरू फेला परेपछि उद्धार टोली त्यसतर्फ प्रस्थान गरेको थियो। त्यसअघि नै तीनवटा शव बरामद भइसकेको थियो। खराब मौसम र भौगोलिक कठिनाइका बाबजुद मिङ्मा ग्याल्जे शेर्पा (मिङ्मा जी) र सिरबाज खानको नेतृत्वमा रहेको भू–उद्धार टोलीले घटनास्थलमा पुगेर मृतकहरूको पहिचान गरेको हो।

पूर्व ब्रिटिस गोर्खा सैनिक समेत रहेका निर्मल पुर्जाले सन् २०१९ मा संसारका ८,००० मिटरभन्दा अग्ला १४ वटै हिमालहरू मात्र ६ महिना ६ दिनमा चढेर विश्व कीर्तिमान कायम गरेका थिए। उनको यो साहसिक कार्य ‘फोर्टीन् पिक्स नथिङ इज इम्पोसिबलु डकुमेन्ट्रीका रूपमा नेटफ्लिक्समा समेत निकै चर्चित छ ।

इलाइट एक्सपेडले यस कठिन घडीमा शोक सन्तप्त परिवारजनको गोपनीयताको सम्मान गरिदिन सबैमा आग्रह गर्दै मृतकप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ । निम्स दाइले पर्वतारोहणमा असम्भव मानिएका रेकर्डहरू बनाएका छन् ।

यसपटक ब्रोड पिकपछि चोयू हिमाल चढेर बिनाअक्सिजन संसारका सबै ८ हजार मिटर माथिका हिमाल दोहो¥याएर चढ्ने रेकर्ड बनाउने तयारीमा थिए । निम्स दाइ आरोहणमा लाग्नुअघि बेलायती सेनामा थिए । उनले ६ वर्ष बेलायती सेनाको गोर्खा रेजिमेन्टमा सेवा गरे ।

त्यसपछि १० वर्ष बेलायतको विशेष नौसैनिक फौज ’स्पेसल बोट सर्भिस (एसबीएस)’ मा रहे । सन् २००९ मा उनी एसबिएसमा छनोट हुने पहिलो गोर्खा सैनिक बनेका थिए । निर्मल पुर्जाको नाम ’निम्स दाइ’ त्यति बेलै रहन गएको हो ।

बेलायती सेनामा रहँदा उनका सहकर्मीहरूले निर्मल भन्न गाह्रो लागेर ’निम्स’ भन्ने गर्थे । आरोहण क्षेत्रमा लागेपछि त्यसलाई उनले आफ्नो पहिचान बनाए । उनी पर्वतारोहणमा सन् २०१२ पछि आकर्षित भएका हुन् ।त्यतिबेला उनी सगरमाथा आधार शिविरसम्म पुगेका थिए ।

त्यही वर्ष उनले पहिलो पटक ६ हजार ११९ मिटर अग्लो लोबुचे इस्ट हिमाल आरोहण गरे । त्यसपछि सुरू भएको हिमाल आरोहण यात्रा केही वर्षमै विश्व कीर्तिमानतर्फ पुगेको हो । सन् २०१६ मा पहिलो पटक सगरमाथा आरोहण गरेका उनले फर्किने क्रममा ’डेथ जोन’ मा समस्यामा परेका एक आरोहीको उद्धार गरेर अन्तर्राष्ट्रिय चर्चा बटुले ।

त्यही साहसिक उद्धार र उच्च हिमाली पर्वतारोहणमा पु¥याएको योगदानका लागि बेलायतकी महारानी एलिजाबेथ द्वितीयाले उनलाई सन् २०१८ मा मेम्बर अफ द अर्डर अफ दि ब्रिटिस इम्पायर सम्मान प्रदान गरेकी थिइन् ।

सन् २०१९ मा निम्स दाइले विश्व पर्वतारोहणकै सबभन्दा कठिन मानिने उपलब्धिमध्ये एक हासिल गरेका छन् । उनले ८ हजार मिटरभन्दा अग्ला विश्वका सबै १४ वटा हिमाल ६ महिना ६ दिनमै आरोहण गर्दै नयाँ विश्व कीर्तिमान बनाएका छन् ।

यसअघि दक्षिण कोरियाका पर्वतारोही किम चाङ–होको नाममा रहेको झन्डै आठ वर्षको कीर्तिमान उनले तोडेका छन्। उनले त्यो अभियानलाई ’प्रोजेक्ट पसिबल’ नाम दिएका थिए, किनभने धेरैले यो लक्ष्य सम्भव नै नभएको बताएका थिए ।

सन् २०२१ को १६ जनवरीमा उनले मिङ्मा डेभिड शेर्पासहित पूर्ण नेपाली टोलीको नेतृत्व गर्दै विश्वको दोस्रो अग्लो हिमाल केटू पहिलो पटक जाडो महिनामा आरोहण गरेर अर्को इतिहास रचेका छन् ।

दशकौंदेखि विश्वभरका आरोहीले प्रयास गरे पनि कोही सफल हुन नसकेको केटू हिउँदमा पहिलो पटक नेपाली टोलीले नै आरोहण गरेको थियो। चुचुरो पुग्नुअघि टोलीले नेपाली राष्ट्रिय गान गाएको दृश्य विश्वभर चर्चित बनेको थियो ।

उच्च हिमाली पर्वतारोहणमा पु¥याएको योगदानको कदर गर्दै उनलाई सन् २०२० मा एसियाली अल्पाइन संघले पियोले डे’ओर सम्मान पनि प्रदान गरेको छ । उनको संघर्ष र सफलतामा आधारित भएर नेटफ्लिक्सले ’१४ पिक’ सिरिज समेत बनाएको छ ।

म्याग्दीमा जन्मिएर चितवनमा हुर्किएका निम्स दाइ आज नेपाली पर्वतारोहणका मात्र होइन, विश्व पर्वतारोहणकै सबभन्दा प्रभावशाली आरोहीमध्ये गनिन्छन् । धौलागिरी हिमालको काखैमा अवस्थित दाना गाउँमा २०४३ साल साउन ९ गते जन्मिएका थिए निर्मल पुर्जा ।

उनी चार वर्षका हुँदा उनका बुवा–आमा बसाइँ सरेर चितवनको रामनगर झरे । जब उनी नौ वर्षका मात्र थिए, उनलाई क्षयरोग टिबी भयो । पछि उनलाई दमले पनि नराम्ररी च्याप्यो। उनले यी सबै शारीरिक सकसहरूलाई पार गरेर आफूभित्र एक अदृश्य ऊर्जा पैदा गरे, जसलाई उनले पछि आफ्नो पुस्तकमा ‘एन्टिबायोटिक मनुष्य’ भनेर परिभाषित गरे ।

पहिलो पटक सन् २००२ मा उनले बेलायती गोर्खा फौजमा भर्ना हुन प्रयास गरे, तर पहिलो प्रयासमा असफल भए । उनले दोस्रो प्रयास गरे र सन् २००३ मा बेलायती गोर्खा फौजमा आधिकारिक रूपमा भर्ना भए ।

गोर्खा फौजको कठोर तालिम र अनुशासनले उनको शरीरलाई फलामजस्तै कडा बनायो । उनको क्षमता यतिमा सीमित रहेन, सन् २००९ मा उनले इतिहास रचे—गोर्खा फौजको इतिहासमा पहिलो पटक बेलायतको अति नै प्रतिष्ठित र गोप्य ‘स्पेसियल बोट सर्भिस’ मा छनौट हुने पहिलो गोर्खा सैनिक बने ।

जल, स्थल र हवाई तीन वटै क्षेत्रमा असाधारण पराक्रम देखाउनुपर्ने यो युनिटमा पुग्नु साधारण उपलब्धि थिएन । सेनाको जागिर चलिरहेकै थियो, तर सन् २०१२ मा जब उनी पहिलोपटक शेर्पा गाइड दोर्जी खत्रीसँग सगरमाथा आधार शिविर पुगे, तब उनको जीवनको मोड नै बदलियो ।

सन् २०१४ मा उनले बाल्यकालदेखि म्याग्दीमा हेरेर हुर्किएको विशाल हिमाल धौलागिरीको सफल आरोहण गरे। त्यसपछि भने उनले विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ वटै हिमाल सबैभन्दा छिटो चढ्ने एक अद्भूत र असम्भव जस्तो लाग्ने महत्वाकांक्षा बोके ‘प्रोजेक्ट पसिबल’। यो महत्वाकांक्षी योजनाका लागि करिब साढे ७ लाख पाउन्ड लाग्ने अनुमान थियो । तर हातमा पर्याप्त पैसा थिएन।

त्यसैले, सन् २०१८ मा आफ्नो जागिरबाट पूर्ण रूपमा विश्राम लिए र सन् २०१९ मा बेलायतमा रहेको आफ्नो घर धितो राखेर जम्मा ६५ हजार पाउन्ड जोहो गरे र मैदानमा होमिएका थिए । यसअघि एक कोरियाली आरोहीले झण्डै आठ वर्ष लगाएर पूरा गरेको १४ हिमाल आरोहणको कीर्तिमानलाई निर्मलले मात्र ६ महिना ६ दिनमै तोडिदिए ।

१४ अप्रिल २०१९ मा नेपालको अन्नपूर्ण हिमालबाट सुरु भएको यो यात्रा २९ अक्टोबर २०१९ मा चीनको सिसापाङ्मा हिमालमा पुगेर विश्व रेकर्डमा परिणत भयो । उनको यो अविश्वसनीय कथामा आधारित भएर विश्वप्रसिद्ध मञ्च नेटफ्लिक्सले ‘१४ पिक्सः नथिङ इज इम्पोसिबल’ नामक डकुमेन्ट्री निर्माण ग¥यो, जसले संसारभर तहल्का मच्चायो। उनको पुस्तक ‘बियोन्ड पसिबल’ अन्तर्राष्ट्रियस्तरमा बेस्टसेलड भयो ।

यद्यपि, उनले बनाएको ६ महिना ६ दिनको रेकर्ड पछि अन्य आरोहीले तोडे, तर एउटा असाधारण रेकर्ड अझै पनि निर्मल र उनको टोलीको नाममा अमर छ, जुन सायद कहिल्यै कसैले तोड्न सक्दैन, के–टुको पहिलो विन्टर (हिउँद) आरोहणः १६ जनवरी २०२१ मा पाकिस्तानको हिउँदको डरलाग्दो चिसो र आँधीबेहरीलाई चिर्दै निर्मल पुर्जाको नेतृत्वमा टोलीले विश्वको दोस्रो अग्लो हिमाल माउन्ट के–टु को पहिलो सफल विन्टर समिट ग¥यो।

हिमाल आरोहणको इतिहासमा यसअघि कसैले पनि हिउँदको समयमा के–टु चुचुरो टेक्न सकेका थिएनन् । जब उनीहरू त्यो असंभव चुचुरोमा पुगे, तब उनीहरूले गर्वका साथ नेपाली राष्ट्रिय गान ‘सयौँ थुँगा फूलका हामी एउटै माला नेपाली…’ गाएका थिए।

त्यो क्षण नेपाल र नेपालीका लागि मात्र होइन, विश्व साहसिक पर्यटन इतिहासमै स्वर्णिम अक्षरले लेखियो। भारतका नेता राहुल गान्धी लगायत विश्वका ठूला हस्तीहरूले उक्त भिडियो सेयर गरेर उनकी प्रशंसा गरेका थिए ।

दर्शकबृन्द, चीनको सीमासँग जोडिएको ब्रड पिकमा १० सदस्यीय आरोहण टोलीका ६ जना अझै बेपत्ता थिए । खोजी तथा उद्धार अभियानमा स्थानीय पाकिस्तानी आरोहीहरू स्वयंसेवकका रूपमा सहभागी भएका थिए ।

नजिकैको केटु हिमालमा आरोहण गरिरहेका केही नेपाली आरोहीहरूले समेत आफ्नो अभियान स्थगित गरेर उद्धारमा सहयोग गरिरहेका थिए । खराब मौसमका कारण खोजी अभियान प्रभावित भएको थियो ।

हिजो भने पाकिस्तानी अधिकारीहरूले केही आरोहीको शव फेला पारेका थिए । जसमध्ये अमेरिकी नागरिक मलोरी गाइस, ओमानकी नधिरा अहमद अब्दुल्लाह अल हर्थी र नेपालका पुरबहादुर गुरुङको पहिचान भएको थियो ।

शुक्रबार पाकिस्तानको अल्पाइन क्लबले ड्रोनमार्फत केही आरोहीहरू देखिएको जनाएको थियो । तर उनीहरूको अवस्था कस्तो छ भन्ने अझै स्पष्ट भएको थिएन । क्लबका महासचिव अयाज शिग्रीले उद्धारकर्ताहरू थप हिमपहिरो आउन सक्ने जोखिमप्रति चिन्तित रहेको पनि बताएका थिए ।

आज भने मौसम केही अनुकूल भएपछि उद्धार अभियानमा टोली जुटेको थियो । बिहीबार नै काराकोरम पर्वत शृङ्खलामा रहेको ८,०४७ मिटर अग्लो ब्रड पिकमा हिमपहिरो गएको खबर आएपछि आरोहण टोलीका सदस्यहरूको खोजी तथा उद्धार अभियान सुरु गरिएको थियो ।

जुन महिनामा अमेरिकी आरोही मलोरी गाइसले सामाजिक सञ्जालमा पाकिस्तानमा आफ्नो ‘पहिलो ठुलो आरोहण अभियान’ का लागि तयार रहेको उल्लेख गरेकी थिइन् ।

पुरबहादुर गुरुङ, जसलाई युक्टा नामले पनि चिनिन्थ्यो, इन्टरनेसनल फेडरेसन अफ माउन्टेन गाइड्स एसोसिएसनबाट प्रमाणित पर्वतारोही थिए। उनी विश्वका ८,००० मिटरभन्दा अग्ला १४ वटै हिमाल आरोहण गर्ने अभियान पूरा गर्ने क्रममा थिए ।

टोलीमा किली पेम्बा शेर्पा किली पनि थिए । उनले अहिलेसम्म सगरमाथाको १५ पटक आरोहण गरिसकेका छन्। सन् २०२१ मा उनी पुर्जासहित केही नेपाली आरोही सहभागी रहेको केटुको ऐतिहासिक हिउँदे आरोहण अभियानका सदस्य थिए ।

ब्रड पिकलाई आरोहीहरूका लागि चुनौतीपूर्ण हिमालमध्ये एक मानिन्छ। यसको पहिलो सफल आरोहण सन् १९५७ मा भएको थियो। त्यतिबेला अस्ट्रियाली आरोहण टोलीले यसको शिखरमा पाइला राखेको थियो ।

त्यसयता धेरै आरोहीले ब्रड पिकको सफल आरोहण गरेका छन्। तर दर्जनौँ आरोहीले यस हिमालमा ज्यान पनि गुमाएका छन् । ब्रड पिकमा सबैभन्दा घातक वर्षमध्ये एक २०१३ थियो । त्यस वर्ष कम्तीमा ६ जना आरोहीको मृत्यु भएको थियो ।

You May Also Like

More From Author

+ There are no comments

Add yours