लगातार तेस्रोपटक विश्वकप फाइनल पुग्ने लक्ष्यमा रहेको फ्रान्स एकातिर छ भने १६ वर्षपछि फेरि विश्वविजेता बन्ने अभियानमा रहेको स्पेन अर्कोतिर ।
३० असार, काठमाडौं । फिफा विश्वकप २०२६ अब निर्णायक मोडमा पुगेको छ । उपाधिबाट अब दुई जित मात्र टाढा रहेका फ्रान्स र स्पेन मंगलबार पहिलो सेमिफाइनलमा आमनेसामने हुँदैछन् ।
विश्व फुटबलका शीर्ष राष्ट्रमध्येका यी दुई टोलीबीचको यो भिडन्तलाई ‘फाइनल अघिको फाइनल’ भनिएको छ । लगातार तेस्रोपटक विश्वकप फाइनल पुग्ने लक्ष्यमा रहेको फ्रान्स एकातिर छ भने १६ वर्षपछि फेरि विश्वविजेता बन्ने अभियानमा रहेको स्पेन अर्कोतिर ।
फ्रान्स प्रतियोगिताकै सबैभन्दा खतरनाक आक्रमण गर्ने टोलीका रूपमा देखिएको छ । कप्तान किलियन एमबाप्पेको नेतृत्वमा ओस्मान डेम्बेले, माइकल ओलिसे र डिजिरे डुएले विपक्षी रक्षापङ्क्तिमाथि निरन्तर दबाब सिर्जना गर्दै आएका छन् । प्रतियोगितामा सबैभन्दा धेरै प्रहार गर्ने टोलीमध्ये एक रहेको फ्रान्ससँग गोल गर्ने खेलाडीको विविधता पनि प्रशस्त छ ।
यता स्पेनले भने बल नियन्त्रणमा आधारित आफ्नो परम्परागत शैलीलाई यस विश्वकपमा अझ प्रभावकारी बनाएको छ । सबैभन्दा बढी समय बल आफ्नो नियन्त्रणमा राख्ने टोलीका रूपमा रहेको स्पेनले विपक्षीलाई बल नै नदिएर खेल नियन्त्रण गर्ने रणनीतिमा सफलता पाएको छ । रोड्री र पेड्रीको मिडफिल्ड नियन्त्रण, लामिन यामालको व्यक्तिगत कौशल र मिकेल ओयारजाबालको फिनिसिङ स्पेनका मुख्य हतियार हुन् ।
फ्रान्सलाई रोक्ने सबैभन्दा ठूलो चुनौती एमबाप्पे हुनेछन् । प्रतियोगितामा आठ गोल गरिसकेका उनी गोल्डेन बुटको दौडमा लियोनल मेसीसँग संयुक्त रूपमा शीर्ष स्थानमा छन् ।
तर स्पेनसँग उनको गतिलाई नियन्त्रण गर्न सक्ने संरचित टोली र बल नियन्त्रण गर्ने क्षमता छ। यही कारण धेरै विश्लेषकले रोड्री र यामालको प्रदर्शनलाई खेलको निर्णायक पक्षका रूपमा हेरेका छन् ।
स्पेनका लागि पनि यो आफ्नो वास्तविक स्तर देखाउने अवसर हुनेछ । समूह चरणदेखि नकआउटसम्म टोलीले लगातार जित निकाले पनि प्रशिक्षक लुइस डे ला फुएन्तेको टोलीले अझै आफ्नो उत्कृष्ट लय पूर्ण रूपमा देखाउन सकेको छैन । युवा स्टार यामालले पनि अहिलेसम्म अपेक्षाअनुसार प्रभाव पार्न सकेका छैनन् । सेमिफाइनल जस्तो ठूलो मञ्चमा उनी चम्किने अपेक्षा गरिएको छ ।
मिडफिल्डको लडाइँ पनि निकै रोचक हुनेछ । फ्रान्स सम्भवतः दुई मिडफिल्डरको संरचनामा उत्रिनेछ भने स्पेन रोड्री, पेड्री र डानी ओल्मोको त्रिकोणबाट खेल नियन्त्रण गर्ने प्रयासमा हुनेछ । यही क्षेत्रमा कसले वर्चस्व कायम गर्छ भन्ने कुराले खेलको दिशा तय गर्न सक्छ ।
इतिहास पनि दुवै टोलीका लागि विशेष छ। फ्रान्स विश्वकपमा लगातार तेस्रो फाइनल पुग्ने लक्ष्यमा छ । त्यसो गर्न सके उसले जर्मनी र ब्राजिलपछि लगातार तीन विश्वकप फाइनल खेल्ने तेस्रो टोली बन्नेछ । यता स्पेन सन् २०१० पछि पहिलोपटक फाइनल पुग्ने अवसरको खोजीमा छ ।
दुवै टोलीबीच विश्वकपमा यसअघि एकपटक मात्रै भेट भएको थियो । सन् २००६ को अन्तिम १६ मा स्पेनले अग्रता लिए पनि फ्रान्सले पुनरागमन गर्दै ३–१ को जित निकालेको थियो । पछिल्लो ठूलो प्रतियोगितामा भने सन् २०२४ को युरोपियन च्याम्पियनसिपको सेमिफाइनलमा स्पेनले फ्रान्सलाई २–१ ले हराएको थियो ।
हालसम्मको यात्रा
फ्रान्स : फ्रान्सले समूह चरणमा सेनेगललाई ३–१, इराकलाई ३–० र नर्वेलाई ४–१ ले हराउँदै समूह विजेताका रूपमा नकआउट चरणमा स्थान बनाएको थियो ।
अन्तिम ३२ मा स्वीडेनमाथि ३–० को जित निकालेको फ्रान्सले अन्तिम १६ मा पाराग्वेलाई १–० ले पन्छायो । क्वाटरफाइनलमा मोरक्कोलाई २–० ले हराउँदै फ्रान्स लगातार तेस्रोपटक विश्वकपको सेमिफाइनलमा पुगेको हो ।

स्पेन : स्पेनको विश्वकप यात्रा सुरुमै अपेक्षाअनुसार थिएन । प्रतियोगिताको पहिलो खेलमा विश्वकपमा पहिलोपटक सहभागी केप भेर्डेसँग गोलरहित बराबरी खेलेपछि स्पेनमाथि प्रश्न उठेका थिए ।
तर त्यसपछि स्पेनले आफ्नो असली रूप देखायो । दोस्रो खेलमा साउदी अरेबियालाई ४–० ले हराएको स्पेनले समूहको अन्तिम खेलमा उरुग्वेलाई १–० ले पन्छाउँदै समूह विजेता बन्यो ।
अन्तिम ३२ मा अस्ट्रियामाथि ३–० को सहज जित निकालेको स्पेनले अन्तिम १६ मा छिमेकी पोर्चुगललाई १–० ले हरायो ।
क्वाटरफाइनलमा बेल्जियमविरुद्ध भने स्पेनले कठिन परीक्षा दिनुपर्यो । फाबियन रुइजको गोलबाट अग्रता बनाए पनि बेल्जियम खेलमा फर्किएको थियो । तर खेल सकिन दुई मिनेट बाँकी रहँदा मिकेल मेरिनोले निर्णायक गोल गर्दै स्पेनलाई २–१ को जितसहित सेमिफाइनल पुर्याए ।
हेड टु हेड
फ्रान्स र स्पेन हालसम्म ३८ पटक आमनेसामने हुँदा स्पेनले १८ खेल जितेको छ भने फ्रान्सले १३ खेल जितेको छ । ७ खेल बराबरी भएका छन् ।
यी दुई टोली विश्वकपमा दोस्रोपटक मात्रै आमनेसामने हुन लागेका हुन् । पहिलोपटक सन् २००६ को विश्वकप अन्तिम १६ मा खेल्दा फ्रान्सले स्पेनमाथि ३-१ को जित निकालेको थियो ।
स्पेनका लागि डेभिड भियाले गोल गरेपनि त्यसपछि फ्रान्सका लागि फ्रान्क रिबेरी, प्याट्रिक भिएरा र जिनेदिन जिदानले गोल गरेका थिए ।
पछिल्लोपटक यी दुई टोली युरोकप २०२४ को सेमिफाइनलमा खेलेका थिए जहाँ स्पेनले फ्रान्सलाई २-१ ले पराजित गरेको थियो ।

टिम न्युज
यो महत्त्वपूर्ण खेलअघि दुवै टोलीका नियमित खेलाडीहरूमा चोट वा निलम्बनको कुनै समस्या देखिएको छैन । त्यसकारण दुवै टोली यसअघि जस्तै फुल पोटेन्सियल र बेन्च क्षमताको साथ नै खेल्ने देखिन्छ ।
फ्रान्सका कप्तान किलियन एमबाप्पेले अझै कठिन परीक्षा बाँकी भएको बताएका छन् । ‘हामी सेमिफाइनलमा पुग्दा खुसी छौं । तर हाम्रो लक्ष्य अझ पूरा भएको छैन । अब अझ कठिन परीक्षा बाँकी छ र त्यसका लागि हामी तयार छौं’ उनले भनेका छन् ।
यस्तै पहिलो विश्वकप खेलिरहेका स्पेनका विङ्गर लामिन यमालले जीवनकै सबैभन्दा ठूलो खेल भएको बताए । ‘मेरो जीवनकै सबैभन्दा ठूलो खेल यही हुनेछ । यो क्षणको म निकै उत्साहित भएर प्रतीक्षा गरिरहेको छु’ यमालले भनेका छन् ।
प्रभाव पार्न सक्ने खेलाडी
फ्रान्सबाट किलियन एमबाप्पे र स्पेनबाट लामिन यमाल स्वाभाविक रूपमा सबैभन्दा ठूलो अपेक्षा राखिएका खेलाडी हुन् । तर फाइनलको टिकट दिलाउन अन्य खेलाडीको भूमिका पनि उत्तिकै महत्वपूर्ण हुनेछ ।
विश्व फुटबलका सबैभन्दा खतरनाक फरवार्डमध्ये एक किलियन एमबाप्पे फ्रान्सको सबैभन्दा ठूलो भरोसा हुन् । उनीसँगै माइकल ओलिसे र ओस्मान डेम्बेलेको भूमिका पनि निर्णायक बन्न सक्छ ।
यस्तै १९ वर्षीय लामिन यमाल विश्व फुटबलको नयाँ पुस्ताका सबैभन्दा चम्किला तारा हुन् । सानो उमेरमै उनले क्लब र राष्ट्रिय टोली दुवैतर्फ असाधारण परिपक्वता देखाए । उनीसँगै रोड्री र मिकेल ओयरजाबाल पनि महत्त्वपूर्ण रहनेछन् ।
सम्भावित सुरुवाती ११
फ्रान्स : माइक मेग्नन; जुलियस कोन्डे, डायट उपामेकानो, विलियम सालिबा, लुकास डिग्ने; मानु कोन, एड्रियन राबियट; माइकल ओलिसे, ओस्मान डेम्बेले, डिजायर डुए; किलियन एमबाप्पे
स्पेन : उनाइ सिमोन; पेड्रो पोरो, पाउ कुबार्सी, एमरिक लापोर्ट, मार्क कुकुरेला; रोड्री, पेड्री; लामिन यमाल, डानी ओल्मो, एलेक्स बाएना; मिकेल ओयरजाबाल
***
खेल : फ्रान्स भर्सेस् स्पेन, पहिलो सेमिफाइनल
मिति र समय : ३१ असार, बिहान १२:४५ बजे
स्थान : डलास स्टेडियम
प्रत्यक्ष प्रसारण : हिमालय स्पोर्ट्स


+ There are no comments
Add yours