१६ असार, काठमाडौँ । आफ्नो एआई मोडेल जेमिनी प्रयोगमा गुगलले सीमा लगाएपछि मेटाका केही आन्तरिक एआई परियोजना प्रभावित र ढिलाइ भएको बेलायती पत्रिका फाइनान्सियल टाइम्सले आइतबार जनाएको छ।
रिपोर्टअनुसार अल्फाबेटको स्वामित्वमा रहेको गुगलले करिब मार्च महिनामा मेटालाई आफूले खरिद गर्न चाहेको जेमिनी कम्प्युटिङ क्षमता पूर्ण रूपमा उपलब्ध गराउन नसक्ने जानकारी दिएको थियो। यसका कारण मेटाका केही आन्तरिक एआई परियोजना प्रभावित र ढिलाइ भएका हुन्।
रिपोर्टमा यस विषयमा जानकार स्रोतलाई उद्धृत गर्दै गुगलका अन्य केही ग्राहक पनि प्रभावित भएको उल्लेख गरिएको छ। तर गुगलका मोडेलको अत्यधिक माग भएका कारण मेटा सबैभन्दा बढी प्रभावित भएको बताइएको छ।
उक्त रिपोर्टको स्वतन्त्र रूपमा पुष्टि गर्न नसकिएको रोयटर्सले उल्लेख गरेको छ। व्यवसायिक समयबाहिर टिप्पणीका लागि गरिएको अनुरोधमा गुगल र मेटाले तत्काल प्रतिक्रिया दिएका छैनन्।
यस प्रतिबन्धपछि मेटाले आफ्ना कर्मचारीलाई एआई प्रयोग मापन गर्ने एकाइ ‘एआई टोकन’को प्रयोग अझ प्रभावकारी बनाउन आग्रह गरेको फाइनान्सियल टाइम्सले जनाएको छ।
कम्पनीहरूले चिप र डाटा सेन्टरमा अर्बौं डलर लगानी गरिरहे पनि एआई सेवाको बढ्दो माग पूरा गर्न आवश्यक कम्प्युटिङ क्षमता उपलब्ध गराउन अझै कठिनाइ भइरहेको छ।
मार्चमा समाप्त पहिलो त्रैमासिकमा गुगल क्लाउडको आम्दानी २० अर्ब डलर पुगेको थियो। तर प्रमुख कार्यकारी अधिकृत सुन्दर पिचाइले कम्प्युटिङ क्षमताको सीमितताका कारण अझ बढी वृद्धि हुन नसकेको र क्लाउड एकाइको ब्याकलग अघिल्लो त्रैमासिकको तुलनामा झन्डै दोब्बर भएको बताएका थिए।


+ There are no comments
Add yours