काठमाडौँ र सुदूरपश्चिम, गर या मरको दबाबमा जनकपुर चितवनसँग भिड्दै

२६ कात्तिक, काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई महत्त्वपूर्ण खेल हुँदै छन्। दिनको पहिलो खेलमा काठमाडौँ गोर्खाज र सुदूरपश्चिम रोयल्सबिच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा जनकपुर बोल्ट्स र चितवन राइनोज आमनेसामने हुनेछन्।

अङ्क तालिकाको शीर्ष होड र प्लेअफ समीकरणका दृष्टिले आजका दुवै खेल निकै निर्णायक मानिएका छन्। लिगमा ६ खेलबाट ९ अङ्क जोडेको लुम्बिनी लायन्स शीर्ष स्थानमा रहँदै प्लेअफमा स्थान पक्का गर्ने पहिलो टोली बनिसकेको छ। ५ खेलबाट ८ अङ्क जोडेको काठमाडौँ गोर्खाज दोस्रो र ६ खेलबाट समान ८ अङ्क जोडेको सुदूरपश्चिम रोयल्स तेस्रो स्थानमा छन्। आजको खेल जित्ने टोलीले प्लेअफमा आफ्नो स्थान सुरक्षित गर्ने बलियो सम्भावना छ।

त्यसैगरी ६ खेलबाट ६ अङ्क जोडेको विराटनगर किंग्स तालिकाको चौथो स्थानमा छ। पोखरा एभेन्जर्सलाई ४ विकेटले पराजित गर्दै विराटनगरले प्लेअफमा पुग्ने सम्भावनालाई जीवितै राखेको छ। ५ खेलबाट ५ अङ्क जोडेको चितवन राइनोज पाँचौँ स्थानमा रहँदा ६ खेलबाट समान ४–४ अङ्क जोडेका कर्णाली याक्स र जनकपुर बोल्ट्स क्रमशः छैटौँ र सातौँ स्थानमा छन्।

लुम्बिनीविरुद्ध पराजय बेहोरेसँगै कर्णाली याक्सको प्लेअफ यात्रा कठिन बनेको छ भने जनकपुर बोल्ट्सका लागि आजको खेल ‘गर या मर’ को अवस्थामा छ। आज चितवन राइनोजविरुद्ध जित निकाल्न नसके जनकपुर पनि प्लेअफ होडबाट औपचारिक रूपमा बाहिरिने छ। उता ६ खेलबाट मात्र २ अङ्क जोडेको पोखरा एभेन्जर्स भने विराटनगरसँग पराजित भएसँगै प्लेअफ दौडबाट बाहिरिने पहिलो टोली बनिसकेको छ।

You May Also Like

More From Author

+ There are no comments

Add yours