१५ असार, मुम्बई । सिद्धार्थ काननको पोडकास्टमा पत्रकार सिमी चन्डोकले फिल्म ‘रिभल्भर रानी’ को सुटिङका क्रममा एउटा सनसनीपूर्ण दाबी गरेकी छिन्। सुटिङका क्रममा भएको एउटा किसिङ सिनमा कंगना रनोटले सह-कलाकार वीर दासको ओठ टोकिदिएको उनको दाबी छ।
ती पत्रकारले वीर दास आज पनि उक्त घटनालाई भुल्न नसकेको समेत उल्लेख गरेकी छिन्। पोडकास्टको भिडियो भाइरल भएपछि एक प्रयोगकर्ताले वीर दास हरेक मुद्दामा बोल्ने तर यस महिलाको बयानमा किन चुप छन् भन्दै यो दाबी सत्य हो भनी प्रश्न उठाएका थिए।
अहिले अभिनेता वीर दासले भने यस दाबीलाई पूर्ण रूपमा खारेज गर्दै कंगना रनावतको बचाउ गरेका छन्। उनले आफ्नो आधिकारिक सामाजिक सञ्जाल खाताबाट लेखेका छन्, ‘यो कथा पूर्ण रूपमा काल्पनिक हो। कंगना पूर्ण रूपमा व्यावसायिक थिइन् र आज पनि म उनलाई अत्यन्तै प्रतिभाशाली कलाकार मान्छु। उनको बारेमा यस प्रकारका झुट्टा कुराहरू फैलाउनु गलत हो। यद्यपि, केही वर्षपछि उनले मेरो कमेडीलाई लिएर मलाई ‘आतङ्कवादी’ सम्म भनेकी थिइन्। तर फिल्मको सेटमा हामीबिच कहिल्यै कुनै समस्या वा विवाद भएन।’
पत्रकारको यस बयानमा अभिनेत्री कंगना रनावत पनि निकै आक्रोशित भएकी छिन्। उनले वीर दासको पोस्टको जवाफ दिँदै लेखेकी छिन्, ‘थ्याङ्क्स वीर, तर यो महिला हो को ? छि… लाग्छ कोही अजीब मानिस हो, जो हामी दुवैको नाम प्रयोग गरेर आफ्नो फोहोर कल्पनाहरूलाई पूरा गरिरहेकी छिन्। कहिले लेख्छिन् मैले तिम्रो रगत पिएकी छु, कहिले भन्छिन् १० वर्षपछि पनि तिमी त्यो घटनाको त्रासमा छौ र रुन्छौ। कति अजीब र विनासित्तिका कुराहरू हुन्।’
के थियो दाबी?
सिद्धार्थ काननको पोडकास्टमा पत्रकार सिमी चन्डोकले भनेकी थिइन्, ‘कंगनालाई किन भुल्दै हुनुहुन्छ तपाईं। जब उनी रिभल्भर रानी सुट गरिरहेकी थिइन्, सोध्नुहोस् ती बिचरा वीर दासलाई। तपाईं उनलाई आज पनि पोडकास्टमा बोलाउनुहुन्छ भने उनी आफूसँग भएको त्यो घटनालाई सम्झिएर रोइदिनेछन्। रिभल्भर रानीका लागि उनले वीर दासलाई किस गर्नु पर्ने थियो। सिन सकियो, तर उनी तब पनि किस गरिरहिन्। बिचरा (वीर दास) को ओठ काटेर रक्ताम्मे बनाइदिइन्।’
कंगनाले वीर दासलाई भनेकी थिइन् आतङ्कवादी
कुनै समय कंगना रनावत र वीर दासका बिचमा ठुलो विवाद भएको थियो। केही वर्षअघि वीरले आफ्नो युट्युब च्यानलमा ‘आई कम फ्रम टु इन्डिया’ शीर्षकको एउटा भिडियो अपलोड गरेका थिए, जुन वासिङ्टन डिसीको ‘जोन एफ केनेडी सेन्टर’ मा उनको प्रस्तुतिको एउटा अंश थियो। शोमा उनले आफू एउटा यस्तो देशबाट आउने जहाँ दिउँसो महिलाहरूलाई पूजा गरिन्छ र राति उनीहरूमाथि सामूहिक बलात्कार हुन्छ भनी अभिव्यक्ति दिएका थिए।
उनको यो बयानले ठुलो विवाद निम्त्याएको थियो र उनीविरुद्ध देशभर धेरै उजुरीहरू समेत दर्ता भएका थिए। त्यतिबेला कंगना रनावतले वीर दासको बयानको आलोचना गर्दै उनलाई आतङ्कवादी भनेकी थिइन्।


+ There are no comments
Add yours