मनसुन अवधिमा खडेरीको जोखिम : कस्तो रहला यस वर्षको मौसम?

२७ बैशाख, काठमाडौँ । विश्वव्यापी जलवायु परिवर्तनको असरले नेपालको मनसुनी वर्षा प्रभावित हुने प्रवृत्ति बढेको छ ।

यसले मनसुनको समयमा खडेरीको जोखिम बढाउँदै कृषि बालीमा असर पर्ने सम्भावना पनि बढाएको छ । यद्यपि, मनसुनपूर्वको समयमा भने देशका विभिन्न क्षेत्रमा एक सातादेखि लगातार वर्षा भइरहेको छ ।

विगतको प्रवृत्ति हेर्दा जेठ अन्तिमदेखि भदौ अन्तिमसम्मको चार महिनालाई वर्षा ऋतु मानिन्थ्यो । मनसुनअघि हल्का वर्षा र हावाहुरी चल्ने तथा त्यसपछि मनसुन सुरु हुने गर्थ्यो ।

असारभर प्रायः निरन्तर वर्षा हुने र साउन–भदौमा हल्का झरी कायम रहने अवस्था थियो । तर पछिल्ला केही वर्षयता जेठ, असार, साउन र भदौमा अपेक्षाकृत कम वर्षा हुन थालेको छ ।

बरु मनसुन लम्बिएर दसैँ–तिहारतिर बेमौसमी वर्षाका रूपमा भारी वर्षा हुने प्रवृत्ति बढेको छ । यस वर्ष पनि यस्तै अवस्था दोहोरिने संकेत देखिएको छ ।

जल तथा मौसम विज्ञान विभागले आउँदो मनसुन अवधिमा देशका अधिकांश स्थानमा सरदरभन्दा कम वर्षा हुने प्रक्षेपण गरेको छ । विभागले लम्बिँदै गएको मनसुनको प्रवृत्तिलाई ध्यानमा राख्दै यस वर्षको मनसुन अवधि जेठ १८ गतेदेखि असोज १४ गतेसम्म रहने जनाएको छ ।

मनसुन ऋतुको जलवायु प्रक्षेपण सार्वजनिक गर्दै विभागले वर्षा कम हुने तथा अधिकतम र न्यूनतम तापक्रम देशभर सरदरभन्दा बढी रहने जनाएको हो ।

मौसमविद् विभूति पोखरेलका अनुसार जलवायु परिवर्तनको विश्वव्यापी असर वर्षा प्रणालीमा परेको छ । सामान्यतया सक्रिय हुनुपर्ने लानिनाको सट्टा यस सिजनमा अलनिनो प्रणाली सक्रिय हुँदा मनसुनमा वर्षा कम हुन थालेको देखिएको छ ।

पोखरेलका अनुसार मनसुन सकिने बेलातिर पुनः लानिना सक्रिय हुने र दसैँ–तिहारका बेला भारी वर्षा भई बाढी, पहिरो तथा डुबानको समस्या निम्तिने क्रम केही वर्षयता दोहोरिँदै आएको छ ।

नेपालको मनसुनमा प्रभाव पार्ने पूर्वी प्रशान्त महासागरमा विकसित हुने अलनिनो तथा हिन्द महासागरमा विकसित हुने इन्डियन ओसन डाइपोलको अवस्था पनि यस वर्ष मनसुनका लागि अनुकूल नरहेको विभागले जनाएको छ ।

पोखरेलले वर्षाको अनिश्चिततासँगै आवश्यक नभएको समयमा वर्षा हुनेजस्ता असामान्य मौसमी घटना जलवायु परिवर्तनका कारण बढ्दै गएको बताए । अत्यधिक सुक्खा भएको बेला अचानक वर्षा हुने हुँदा कहिलेकाहीँ मौसम प्रक्षेपण र अनुमानसमेत प्रभावित हुने गरेको उनको भनाइ छ ।

युरोप तथा एसियामा गत हिउँद र प्रि–मनसुन अवधिमा परेको हिमपात तथा अन्तरऋतु परिवर्तनशीलताले नेपालसहित दक्षिण एसियाको वर्षा प्रणाली प्रभावित हुने पोखरेलले बताए ।

विभागका अनुसार विश्व मौसम सङ्गठनअन्तर्गतका जलवायु सूचना केन्द्र तथा साउथ एसियन सिजनल क्लाइमेट आउटलुक फोरम (सास्कोफ) को पूर्वानुमानले यस वर्ष कम वर्षासँगै गर्मी सामान्यभन्दा बढी हुने देखाएको छ ।

गर्मी र खडेरीका सम्भावित असरबारे विभागले सरकारका सरोकारवाला निकायलाई सतर्क रहन सुझाव दिएको छ । बर्खेधानलगायत खाद्यान्न बालीको उत्पादन तथा भूमिगत जल सञ्चितिमा खडेरीले असर पार्न सक्ने पोखरेलले बताएका छन् ।

कुन भेगमा कति वर्षा ?
विभागको पूर्वानुमानअनुसार कर्णाली प्रदेशको दक्षिणी भू–भाग, लुम्बिनी प्रदेशको अधिकांश क्षेत्र, मधेश प्रदेशको पूर्वी भू–भाग तथा कोशी प्रदेशको दक्षिणी भू–भागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशत रहेको छ ।

त्यस्तै, सुदूरपश्चिम प्रदेशको अधिकांश भू–भाग, मधेश प्रदेशको पश्चिमी भू–भाग तथा कोशी प्रदेशको मध्य भू–भागमा ४५ देखि ५५ प्रतिशत सरदरभन्दा कम वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ ।

कर्णाली र कोशी प्रदेशका उत्तरी भू–भागमा ३५ देखि ४५ प्रतिशत सरदर वर्षा हुने सम्भावना छ । देशका बाँकी भू–भागमा पनि ३५ देखि ४५ प्रतिशत सरदरभन्दा कम वर्षा हुने प्रक्षेपण गरिएको छ ।

तापक्रम बढ्ने सम्भावना
विभागका अनुसार यस वर्ष देशभर तापक्रम सरदरभन्दा बढी रहने सम्भावना छ । सुदूरपश्चिम प्रदेशको उत्तर–पूर्वी भू–भाग, कर्णाली प्रदेशको उत्तरी क्षेत्र, लुम्बिनीको पश्चिमी भू–भाग, गण्डकीको उत्तर–पूर्वी तथा दक्षिणी क्षेत्र तथा बागमती प्रदेशको पश्चिमी भू–भागमा तापक्रम बढ्न सक्ने अनुमान गरिएको छ ।

त्यस्तै, मधेश प्रदेशको पूर्वी तथा पश्चिमी भू–भाग र कोशी प्रदेशको पूर्वी तथा दक्षिणी भू–भागमा अधिकतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना ५५ देखि ६५ प्रतिशत रहेको छ । कोशी प्रदेशको मध्य क्षेत्र तथा सुदूरपश्चिम प्रदेशको पूर्वी भू–भागमा यो सम्भावना ३५ देखि ४५ प्रतिशत छ भने बाँकी भू–भागमा ४५ देखि ५५ प्रतिशत सरदरभन्दा बढी तापक्रम रहने अनुमान गरिएको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours