गृहमन्त्री गुरुङ : स्वाट्ट आए झ्वाट्ट गए !

१० बैशाख, काठमाडौँ । गत चैत १३ गते प्रधानमन्त्री वालेन्द्र साहसहित मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभन्दा एक/दुई अघिसम्म पनि सुधन गुरुङ मन्त्री हुने चर्चामा थिएन । उनी मन्त्री भइहाले पनि गृह मन्त्रालय जस्तो ठूलो र शक्तिशाली मन्त्रालय नै पाउँछन् भन्ने अनुमानसमेत गरिएको थिएन ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने वर्तमान सभामुख डोलप्रसाद अर्याल (डिपी)लाई गृहमन्त्री बनाउने मनसायमा रहेकाे चर्चा चलिरहँदा उनैले नै गृहमन्त्रीकाे पद पाउँछन् भन्ने अनुमान गरिएकाे थियाे । तर वालेनले गृहमन्त्रालयको जिम्मेवारी डिपीलाई नभई सुधनलाई दिने अडान नछाडेपछि रविको कुनै जोडबल चलेन र १३ चैतमा सुधन गुरुङले गृहमन्त्रालयको जिम्मेवारी प्राप्त गरे ।

उनले गृहमन्त्रीको पद तथा गोपनीयताको सपथ लिइरहदासम्म पनि उनले गृहमन्त्रालय सम्हाल्न सक्दैनन् भन्ने बहस राजनीतिक जगतमा नभएको पनि होइन । आम नागरिकले पनि सुधनलाई दिइएको जिम्मेवारीप्रति आशंका व्यक्त गरेका थिए । तर गृहमन्त्री भएको २४ घण्टा नबित्दै जब प्रहरीले नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस नेता एवं पूर्वगृहमन्त्री रमेश लेखकलाई भदौ २३ गतेको जेनजी आन्दोलनमा १९ जनाको ज्यान जाने घटनामा संलग्न भएको आरोपको पक्राउ गर्याे तब भने धेरैले गृहमन्त्री गुरुङको चर्चा गरे ।

अघिल्लो दिनसम्म गृहमन्त्रालय सम्हाल्न सक्दैन भन्नेहरू नै गृहमन्त्री भनेको यस्तो हुनुपर्छ भन्नसम्म भ्याए । एकपछि अर्काे आरोपमा मुछिएका व्यक्ति पक्राउ पर्न थालेपछि गृहमन्त्री सुधनको चर्चा पनि थप चुलिँदै गयो । तर जब पक्राउ परेका व्यक्तिहरूलाई अदालतले धमाधम छाड्न आदेश दिन थाल्यो तब भने गृहमन्त्री गुरुङको आलोचना सुरु हुन थाल्यो ।

सम्पत्ति शुद्धीकरण र राजस्व चुहावटको अनुसन्धानका लागि पक्राउ परेका कांग्रेस नेता एवं पूर्व उर्जा मन्त्री दीपक खड्कालाई पक्राउ र म्याद थप गर्दा उचित कानुनी प्रक्रिया नअपनाएको ठहर गर्दै सर्वाेच्च अदालतले तत्काल थुनामुक्त गर्न आदेश दिएपछि भने गृहमन्त्री गुरुङको आलोचना सुरु भएको थियो ।

यसैबिच पक्राउ परेका केपी ओली र रमेश लेखकलाई पनि सर्वाेच्चले छाड्न आदेश दिएपछि गृहमन्त्री थप आलोचित बन्न पुगे । पक्र्राउ परेका व्यक्तिहरुले भटाभट छुट्न थालेपछि गृहमन्त्री र सरकारले सस्तो लोकप्रियताको लागि बलियो आधारबिना नै पक्राउ गरेको भन्दै आलोचना सुरु भएको थियो ।

यहीबीचमा गत चैत २९ गते प्रधानमन्त्री तथा मन्त्रीहरूले आफ्नो सम्पति विवरण सर्वाजनिक गरे । प्रधानमन्त्री र मन्त्रीहरुले सार्वजनिक गरेका सम्पति विवरणमा सयौँ तोला सुन र करोडौँ रुपैयाँ बैंक मौजात देखिएपछि वर्तमान सरकार र मन्त्रीहरू थप आलोचित बन्न पुगे । यो आलोचनाबाट गृहमन्त्री गुरुङ पनि अछुतो रहेनन् ।

कुनै स्थायी आयस्रोत नभएको, कुनै व्यापार व्यवसाय तथा रोजगारीमा संलग्न नरहेको केटो जो हिजोसम्म विभिन्न आन्दोलनमा सडकमा पानी बाँड्दै हिडिरहेको थियो । त्यस्ताे व्यक्तिसँग ८९ तोला सुन, करोडौंको सेयर र लाखौँ रूपैयाँ बैंक ब्यालेन्स देखिएपछि उनको सम्पतिको स्रोतको खोजीनीति हुन सुरू भएको हो ।

यही खोजी गर्ने क्रममा विभिन्न सञ्चार माध्यमहरूले उनले सार्वजनिक सम्पति विवरणमा उल्लेख नगरेको लाखौँ रूपैयाँको सेयरहरू रहेको र विवादित पात्रसँग साझेदारी रहेको कुरा बाहिर आएपछि गृहमन्त्री गुरुङ थप विवादमा तानिए र त्यही विवादकै कारण उनले गृहमन्त्रीकाे पदसमेत गुमाउनुपर्याे ।

प्रधानमन्त्री वालेन्द्र शाह र रास्वपा सभापति रवि लामिछानेले पद छोड्न निर्देशन दिएपछि गृहमन्त्री सुधन गुरूङले आज दिउँसो पदबाट राजीनामा दिएका छन् ।

गृहमन्त्री गुरुङकै कारण वर्तमान सरकार र उनको पार्टी रास्वपा पनि विवादमा तानियो । प्रधानमन्त्रीलाई गुरुङ बचाउन लागेको आरोप लाग्यो भने पार्टीलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपक कुमार साहलाई स्पष्टिकरणको कुनै मौका नदिएको तर गुरुङको विवाद चुलिँदा पनि चुपचाप लागेको आरोप लाग्यो ।

सुधन गुरुङले जसरी आम नागरिक र सरोकारवालाहरुले कल्पना गरेभन्दा बाहिरबाट गृहमन्त्रीमा इन्ट्री गरेका थिए उनकाे बर्हिगमन पनि त्यसरी नै भयो ।

You May Also Like

More From Author

+ There are no comments

Add yours