१० बैशाख, काठमाडौँ । अग्रणी नेपाली लोकरक ब्यान्ड नेपथ्यले आफ्नो दुई साता लामो शृङ्खलाबद्ध क्यानडा यात्रा सम्पन्न गरेको छ । ओन्तारियो राज्यको लन्डनस्थित ‘लन्डन म्युजिक हल’ मा शनिबार आयोजित अन्तिम कन्सर्टसँगै यस वर्षको क्यानडा भ्रमण टुङ्गिएको हो ।
क्यानडाको सदबरी सहरबाट सुरु भई मुख्य व्यापारिक केन्द्र टोरन्टो हुँदै लन्डन पुगेको यो यात्रामा दर्शकको उत्साहजनक सहभागिता रह्यो । शनिबारको अन्तिम प्रस्तुतिमा ओटावादेखि सात घण्टाको मोटर यात्रा गरेर आएका परिवारदेखि स्थानीय विदेशी नागरिक र भुटानी–नेपाली समुदायका ७७ वर्षीया धनमाया तामाङ र ७५ वर्षीय चित्र प्रधान जस्ता ज्येष्ठ नागरिकहरूको समेत उपस्थिति थियो ।
कन्सर्टका क्रममा मुख्य गायक अमृत गुरुङले ‘सा कर्णाली’ लगायतका चर्चित गीतहरू प्रस्तुत गर्दै विदेशमा रहेका नेपालीहरूलाई एकजुट हुन र आफ्नो मातृभूमिलाई नबिर्सन आग्रह गरे । मञ्चमा अमृतलाई ड्रममा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले साथ दिएका थिए ।
स्थानीय आयोजकले सानो सहर भए पनि नेपथ्यको उपस्थितिले दर्शकमाझ बेग्लै ऊर्जा र खुसी सञ्चार गरेको बताएका छन् । कन्सर्ट सम्पन्न भएसँगै कलाकार, प्राविधिक र व्यवस्थापनसहितको १४ सदस्यीय टोली स्वदेश फर्किएको छ । क्यानडाको सफल साङ्गीतिक यात्रापछि नेपथ्यले आगामी महिना न्युजिल्यान्डको भ्रमण गर्ने तय भएको छ ।


+ There are no comments
Add yours