नासाको २२ वर्ष पुरानो टेलिस्कोप पृथ्वीमा खस्दै, भारत पनि सम्भावित जोखिम क्षेत्रमा

नासाका अनुसार अफ्रिका, अस्ट्रेलिया, भारत, दक्षिणपूर्वी एसिया तथा मध्य र दक्षिण अमेरिकाका केही भूभाग सम्भावित जोखिम क्षेत्रभित्र पर्छन् । पृथ्वीको करिब ७० प्रतिशत सतह महासागरले ढाकेकाले अन्तरिक्ष यानका अवशेष समुद्रमा खस्ने सम्भावना बढी हुन्छ ।

१८ कात्तिक, काठमाडौँ। अमेरिकी अन्तरिक्ष निकाय नासा (नेसनल एरोनटिक्स एन्ड स्पेस एडमिनिस्ट्रेसन) को करिब १.५ टन तौलको अन्तरिक्ष टेलिस्कोप करिब २२ वर्षपछि पृथ्वीको वायुमण्डलमा पुनः प्रवेश गर्ने भएको छ ।

यसको अधिकांश भाग वायुमण्डलमै जलेर नष्ट हुने अनुमान गरिए पनि केही अवशेष पृथ्वीको सतहसम्म आइपुग्न सक्ने नासाका वैज्ञानिकहरूले बताएका छन् ।

नासाको ‘निल गेरेल्स स्विफ्ट अब्जर्भेटरी’ नामक अन्तरिक्ष टेलिस्कोप आज नोभेम्बर ४ को दिन पृथ्वीको वायुमण्डलमा प्रवेश गर्ने अनुमान छ ।

भारतका मुम्बई, हैदराबाद, बेङ्गलुरु र चेन्नईलगायत सहर सम्भावित पुनः प्रवेश क्षेत्रको अक्षांशीय सीमाभित्र पर्ने भएकाले ती क्षेत्रमा पनि यसको अवशेष खस्न सक्ने सैद्धान्तिक सम्भावना रहेको छ ।

सन् २००४ नोभेम्बर २० मा प्रक्षेपण गरिएको यस अन्तरिक्ष वेधशालाको सुरुवाती नाम ‘स्विफ्ट गामा–रे बर्स्ट एक्सप्लोरर’ थियो । सुरुमा दुई वर्षका लागि सञ्चालन गर्ने लक्ष्य राखिएको यो यानले करिब २२ वर्षसम्म अन्तरिक्षमा रहेर ब्रह्माण्डका विभिन्न घटनाको अध्ययन गरेको थियो ।

भारतका कुन–कुन भूभाग छन् सम्भावित जोखिम क्षेत्रमा ?

नासाका अनुसार अन्तरिक्ष यानको सम्भावित पुनः प्रवेश क्षेत्र २०.६ डिग्री दक्षिण अक्षांशदेखि २०.६ डिग्री उत्तर अक्षांशसम्म फैलिएको छ । यो क्षेत्रमा भारत समेत पर्ने भएकाले जोखिम क्षेत्रमा रहेको ठानिएको हो ।

अन्तरिक्ष मिसनका प्रमुख वैज्ञानिक ब्राड सेन्कोका अनुसार अफ्रिका, अस्ट्रेलिया, भारत, दक्षिणपूर्वी एसिया तथा मध्य र दक्षिण अमेरिकाका केही भूभाग सम्भावित जोखिम क्षेत्रभित्र पर्छन् ।

भारतको भौगोलिक अवस्थिति हेर्दा मुम्बई, हैदराबाद, बेङ्गलुरु र चेन्नईजस्ता शहर जोखिम क्षेत्रमा पर्ने एनडीटीभीले जनाएको छ ।

तर, यी सहर सम्भावित अक्षांशीय क्षेत्रभित्र पर्दैमा त्यहीँ अन्तरिक्ष यानको अवशेष खस्छ भन्ने निश्चित हुँदैन । वास्तविक पुनः प्रवेशको स्थान अन्तरिक्ष यान वायुमण्डलमा प्रवेश गर्ने समयको यसको कक्षीय अवस्थिति र गतिमा निर्भर गर्छ । त्यसैले नासाले कुनै निश्चित शहरलाई जोखिमयुक्त अवतरणस्थलका रूपमा तोकेको पनि छैन ।

समुद्रमा खस्ने सम्भावना बढी

वैज्ञानिकहरूका अनुसार अन्तरिक्ष यानको अधिकांश भाग वायुमण्डलमा प्रवेश गर्दा उत्पन्न हुने अत्यधिक तापक्रमका कारण जलेर नष्ट हुनेछ । तर, केही बलिया र बाक्ला उपकरणका टुक्रा भने पृथ्वीको सतहसम्म आइपुग्न सक्छन् ।

डरहम विश्वविद्यालयका खगोलभौतिकशास्त्री जोनाथन म्याकडोवेलले करिब १ हजार ५०० किलोग्राम तौलको अन्तरिक्ष यानमध्ये वायुमण्डलमा पुनः प्रवेशपछि १०० किलोग्रामभन्दा बढी भाग बाँकी रहे आफूलाई आश्चर्य लाग्ने बताएका छन् ।

अस्ट्रेलियन नेसनल युनिभर्सिटीका खगोलभौतिकशास्त्री ब्राड टकरका अनुसार पृथ्वीको करिब ७० प्रतिशत सतह महासागरले ढाकेको छ । त्यसैले सांख्यिकीय हिसाबले अन्तरिक्ष यानका अवशेष समुद्रमा खस्ने सम्भावना बढी हुन्छ ।

वैज्ञानिकहरूले यसबाट कुनै व्यक्तिलाई चोटपटक लाग्ने वा भौतिक संरचनामा ठूलो क्षति पुग्ने सम्भावना निकै कम रहेको बताएका छन् ।
भारतसँग पनि अन्तरिक्षबाट फर्किने वस्तु तथा अन्तरिक्षमा रहेका अन्य संरचनाको निगरानी गर्ने व्यवस्था छ ।

भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) ले श्रीहरिकोटास्थित बहुवस्तु अनुगमन राडारमार्फत उपग्रह, रकेटका अवशेष तथा अन्य अन्तरिक्षीय वस्तुको निगरानी गर्दै आएको छ ।

यद्यपि, स्विफ्ट अन्तरिक्ष वेधशालाको पुनः प्रवेशलाई इसरोले पनि निगरानी गरिरहेको छ वा छैन भन्नेबारे अहिलेसम्म आधिकारिक जानकारी सार्वजनिक भएको छैन ।

२२ वर्षको वैज्ञानिक यात्रा

स्विफ्ट अन्तरिक्ष वेधशालाको मुख्य उद्देश्य गामा–रे विस्फोट (गामा–रे बर्स्ट) लगायत ब्रह्माण्डका अत्यधिक ऊर्जायुक्त घटनाको अध्ययन गर्नु थियो । यसले सुपरनोभा, ब्ल्याक होल र अन्य खगोलीय घटनाबारे महत्त्वपूर्ण तथ्य संकलन गरेको छ ।

नासाका अनुसार आफ्नो कार्यकालमा यस अन्तरिक्ष वेधशालाले २ हजारभन्दा बढी गामा–रे विस्फोट र १ हजार ४०० भन्दा बढी सुपरनोभाको अवलोकन गरेको थियो ।

दुई वर्षका लागि पठाइएको यो अन्तरिक्ष वेधशालाले निर्धारित अवधिभन्दा करिब २० वर्ष बढी काम गरेर खगोल विज्ञानमा महत्त्वपूर्ण योगदान दिएको छ । सन् २०२६ अक्टोबर २० मा यसको अन्तिम वैज्ञानिक अवलोकन भएको थियो । अब यसको क्षमता क्रमशः घट्दै गएपछि पृथ्वीको वायुमण्डलमा पुनः प्रवेश गर्ने अवस्था आएको हो ।

नासा र अमेरिकी स्पेस फोर्सले यसको पुनः प्रवेशसम्बन्धी अवस्थाको निगरानी गरिरहेका छन् ।

You May Also Like

More From Author

+ There are no comments

Add yours