२३ चैत, काठमाडौँ । स्नो रिभर्स लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्कासन गरेको आईपीओमा आवेदन दिने आज (चैत २३) अन्तिम दिन रहेको छ।
कम्पनीले जारी पूँजी ९३ करोड ७५ लाख रुपैयाँको २० प्रतिशत बराबर १८ करोड ७५ लाख रुपैयाँको १८ लाख ७५ हजार कित्ता शेयर निष्कासन गर्ने अनुमति पाएको थियो। यसमध्ये ९ करोड ३७ लाख ५० हजार रुपैयाँ बराबरको ९ लाख ३७ हजार ५०० कित्ता साधारण शेयर स्थानीयका लागि छुट्याइएको छ।
निष्कासित शेयरमध्ये ४ लाख ६८ हजार ७५० कित्ता ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका वडा नं. ८ (अति प्रभावित क्षेत्र) का बासिन्दालाई छुट्याइएको छ। बाँकी ४ लाख ६८ हजार ७५० कित्ता सिरिजङ्गा गाउँपालिका वडा नं. १–७, सिदिङ्वा गाउँपालिका वडा नं. ५ र ६, पाथिभरा याङवारक गाउँपालिका वडा नं. ५ र ६ तथा पाँचथरको हिलिहाङ गाउँपालिका वडा नं. १ का बासिन्दालाई वितरण गरिनेछ।
आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ।
आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। स्थानीय बासिन्दाले बिक्री प्रबन्धकका साथै आयोजनास्थल याम्फुदिनबाट आवेदन दिन सक्नेछन्।
यसका साथै नेपाल बैंक, एनएमबि बैंक, सानिमा बैंक र ग्लोबल आइएमई बैंक का फुङलिङ शाखाबाट पनि आवेदन दिन सकिने व्यवस्था छ।
आवेदन फाराम लिन स्थानीय बासिन्दाले २ रुपैयाँ शुल्क तिर्नुपर्नेछ।
रेटिङअनुसार इक्रा नेपाल ले कम्पनीलाई ‘इक्राएनपी डबल बी प्लस’ इस्यूअर रेटिङ प्रदान गरेको छ, जसले दायित्व वहन क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्छ।
कम्पनीले सञ्चालन गरिरहेको १३.५ मेगावाट क्षमताको सुपर काबेली खोला ‘ए’ जलविद्युत् आयोजनाको कुल लागत २ अर्ब ७१ करोड ९० लाख रुपैयाँ रहेको छ। प्रतिमेगावाट लागत करिब २० करोड १४ लाख रुपैयाँ रहेको कम्पनीले जनाएको छ।
आयोजनाको विद्युत् उत्पादन अनुमतिपत्र अवधि अझै ३१ वर्ष २ महिना बाँकी छ। साधारण लगानी फिर्ता अवधि ८.१७ वर्ष र छुट दरमा १५.७७ वर्ष रहेको छ।


+ There are no comments
Add yours