०९ चैत, काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले हालै सम्पन्न निर्वाचनलाई नेपालको इतिहासमै अहिलेसम्मकै उत्कृष्ट र सुशासनयुक्त निर्वाचनका रूपमा मूल्याङ्कन गरिएको बताएका छन्। आइतबार निर्वाचन आयोगको टोलीले प्रधानमन्त्री सुशीला कार्कीलाई निर्वाचन सम्पन्न भएको औपचारिक प्रतिवेदन बुझाएपछि मन्त्री अर्यालले यस्तो जानकारी दिएका हुन्।
निर्वाचन आयोगका प्रमुख आयुक्त रामप्रसाद भण्डारी, दुई जना आयुक्तहरू र सचिवसहितको टोलीले प्रधानमन्त्री निवासमा प्रतिवेदन पेस गरेको छ। सो अवसरमा आयोगले यसपटकको निर्वाचन विगतका तुलनामा निकै व्यवस्थित र सुशासनका हिसाबले नमुना रहेको दाबी गरेको छ।
प्रतिवेदन बुझ्दै प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगको समग्र टोलीप्रति आभार व्यक्त गरेकी छन्। प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै गृहमन्त्री अर्यालले भने, “यो निर्वाचन सुशासनका हिसाबले अहिलेसम्मकै सबैभन्दा राम्रो भएको हामीले महसुस गरेका छौँ। प्रधानमन्त्रीज्यूले यस कार्यलाई इतिहासमा सुनौलो अक्षरले लेखिने र आयोगको कामलाई इतिहासले उच्च मूल्याङ्कन गर्ने विश्वास व्यक्त गर्नुभएको छ।”
गृहमन्त्री अर्यालका अनुसार आयोगले निष्पक्ष र धाँधलीरहित निर्वाचन गराउन सफल भएकोमा सरकार सन्तुष्ट रहेको छ। निर्वाचन सम्पन्न भएसँगै अब मुलुक नयाँ राजनीतिक प्रक्रिया र स्थायी सरकारको दिशामा अघि बढ्ने अपेक्षा गरिएको छ।
आयोगले बुझाएको प्रतिवेदनमा निर्वाचनका क्रममा देखिएका चुनौती, खर्चको विवरण र आगामी निर्वाचनका लागि सुधार गर्नुपर्ने पक्षहरूबारे समेत उल्लेख गरिएको बताइएको छ।


+ There are no comments
Add yours