पर्यटकको ‘नक्कली उद्धार’ प्रकरणमा विमान सेवा सञ्चालक संघका पूर्व उपाध्यक्षसहित थप दुई पक्राउ

१४ फागुन, काठमाडौँ । विदेशी पर्यटकहरूको ‘नक्कली उद्धार (फेक रेस्क्यू)’ गरी बिमा रकम ठगी गरेको आरोपमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरोले विमान सेवा सञ्चालक संघ नेपालका पूर्व उपाध्यक्ष राजेन्द्रबहादुर सिंह र रोयल होलिडेज एड्भेन्चर एन्ड ट्राभलका सञ्चालक सन्दीप तिवारीलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार तिवारीलाई मंगलबार र सिंहलाई बुधवार बिहान पक्राउ गरिएको हो। योसँगै यस प्रकरणमा पक्राउ पर्नेको संख्या ९ पुगेको छ। यसअघि माघ २५ गते सिआइबीले श्रिद्धी अस्पतालका सञ्चालक डा. गीर्वाणराज तिमिल्सिनालाई पक्राउ गरेको थियो।

ठगीको सञ्जाल: ९ जना हिरासतमा

पर्वतारोहणमा आएका विदेशी पर्यटकलाई संगठित रूपमा बिरामी भएको बहाना बनाउन लगाई हेलिकप्टरबाट उद्धार गर्ने र अस्पताल भर्ना गरी बिमा दाबी गर्ने गिरोहमाथि प्रहरीले निगरानी बढाएको छ। यसअघि माउन्टेन रेस्क्यू सर्भिसका सञ्चालक जयराम रिमाल र म्यानेजर विवेक पाण्डे, नेपाल चार्टर्ड सर्भिसका सञ्चालक रवीन्द्र अधिकारी र अपरेसन म्यानेजर विवेकराज थपलिया, एभरेस्ट एक्स्पिरियन्स एन्ड एसोसिएट्सका सञ्चालक मुक्ति पाण्डे र म्यानेजर सुवास केसी पक्राउ परेका थिए।

२ अर्ब ८७ करोडको शंकास्पद दाबी

सिआइबीको अनुसन्धानले ठगीको भयावह तथ्याङ्क बाहिर ल्याएको छ। विभिन्न रेस्क्यू कम्पनीहरूले गरेका उद्धारमध्ये ठूलो सङ्ख्यामा नक्कली र शंकास्पद देखिएका छन्। त्यसमा माउन्टेनले १ हजार २ सय ४८ जनाको उद्धार गरेकोमा १ सय ७१ नक्कली देखिएको छ। नेपाल चार्टरले ४ सय ७१ जनाको रेस्क्यु गरेकोमा ७५, एभरेस्टले ६ सय १ जनाको रेस्क्यु गरेकोमा ७१ वटा नक्कली देखिएको छ।

यी कम्पनीहरूले कुल १ करोड ९६ लाख ९० हजार अमेरिकी डलर (करिब २ अर्ब ८७ करोड नेपाली रुपैयाँ) बराबरको बिमा दाबी गरेको प्रहरी अनुसन्धानले देखाएको छ।

अनुसन्धानको पृष्ठभूमि

यो प्रकरण नयाँ भने होइन। २०७५ सालमै पर्यटन मन्त्रालयले कार्यदल बनाएर यसबारे अध्ययन गरी प्रतिवेदन तयार पारेको थियो। पछिल्लो समय गत असोजमा पुनः उजुरी परेपछि सिआइबीले गहिरो अनुसन्धान सुरु गरेको थियो।

पक्राउ परेकाहरूमाथि ‘राष्ट्रहित प्रतिकूल काम गर्न नहुने कसुर’ र ‘संगठित अपराध’ अन्तर्गत मुद्दा अगाडि बढाइएको छ। विदेशी बिमा कम्पनीहरूलाई नेपालको पर्यटन क्षेत्रप्रति अविश्वास पैदा गराउने यस्ता गतिविधिले देशको छविमा समेत गम्भीर धक्का पुर्याएको प्रहरीको निष्कर्ष छ।

You May Also Like

More From Author

+ There are no comments

Add yours