१२ माघ, मुम्बई । सनी देओलको फिल्म ‘बोर्डर २’ ले बक्स अफिसमा धमका मच्चाएको छ। ओपनिङ विकेन्ड (रिलिजको पहिलो तीन दिन) को कमाइमा यसले फिल्म ‘धुरन्धर’ लाई पनि पछि पारेको छ।
फिल्मले पहिलो विकेन्डमा कुल १२९.८९ करोड भारतीय रुपैयाँ संकलन गरेको छ। स्मरण रहोस्, ‘धुरन्धर’ ले आफ्नो ओपनिङ विकेन्डमा करिब १०३ करोड कमाएको थियो।
गत जनवरी २३ मा रिलिज भएको ‘बोर्डर २’ले पहिलो दिन ३२.१० करोड, दोस्रो दिन ४०.५९ करोड र तेस्रो दिन ५७.२० करोड कमायो।
‘बोर्डर २’ सन् १९९७ को ब्लकबस्टर फिल्म ‘बोर्डर’ को सिक्वेल हो। अनुराग सिंहले निर्देशन गरेको यस फिल्ममा सनी देओलका साथै वरुण धवन, दिलजीत दोसांझ र अहान शेट्टी मुख्य भूमिकामा छन्। फिल्मलाई भूषण कुमार, कृष्ण कुमार, जेपी दत्ता र निधि दत्ताले निर्माण गरेका हुन्।
आइतबार नै सनी देओल र अहान शेट्टी मुम्बईको चर्चित गेइटी ग्यालेक्सी थिएटरमा अचानक पुगेर दर्शकलाई सरप्राइज दिए। आफ्नै फिल्मको स्क्रिनिङका क्रममा उनीहरू हलमा पुगेका थिए।
सनी र अहानलाई देख्नासाथ फ्यानहरूको भीड निकै उत्साहित भयो। सार्वजनिक भएका भिडियोहरूमा हल खचाखच भरिएको देखिन्छ भने दर्शकले सिठी र ताली बजाएर कलाकारहरूको स्वागत गरेका थिए। विशेषगरी सनी देओलको इन्ट्रीमा दर्शकले उठेर ताली बजाएका थिए।


+ There are no comments
Add yours