२१ पुस, काठमाडौँ । नेपाल एसोसिएसन–एनआरएनए एनसीसी, यूएईको आयोजनामा ‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने मूल नारासहित चौथो एनआरएनए कप भलिबल प्रतियोगिता–२०२६ आगामी जनवरी २५ मा दुबईमा आयोजना हुने भएको छ।
यूएईमा रहेका नेपाली भलिबल खेलाडी, संघ–संस्था तथा क्लबलाई लक्षित गरी आयोजना गर्न लागिएको प्रतियोगिता अल वासल स्टेडियम, अल जदफमा बिहान ८ बजेदेखि सुरु हुने आयोजकले जनाएको छ। प्रतियोगितामा यूएईमा क्रियाशील नेपाली भलिबल टिमहरूबीच मात्र प्रतिस्पर्धा हुनेछ भने कुनै पनि विदेशी खेलाडीलाई सहभागिता गर्न अनुमति नदिइने स्पष्ट गरिएको छ।
आयोजकका अनुसार प्रतियोगिता अन्तर्राष्ट्रिय भलिबल महासंघ (एफआईभीी) अन्तर्गत रही नेपाल भलिबल संघको नियमअनुसार सञ्चालन हुनेछ। प्रत्येक टिममा १० खेलाडी, एक प्रशिक्षक र एक टिम व्यवस्थापक गरी १२ सदस्य अनिवार्य हुनुपर्नेछ। खेलका क्रममा उत्पन्न हुने प्राविधिक वा अन्य विवादमा रेफ्री र आयोजक समितिको निर्णय अन्तिम मानिनेछ।
खेलका क्रममा चोटपटक लागेमा आयोजक जिम्मेवार नहुने र सबै टिमले प्राथमिक उपचार सामग्री आफैं साथमा ल्याउनुपर्ने व्यवस्था गरिएको छ। खेलाडी तथा समर्थकलाई अनुशासनमा राख्ने जिम्मेवारी टिम प्रशिक्षक र व्यवस्थापकको हुनेछ। अभद्र व्यवहार, अपशब्द प्रयोग वा मादक पदार्थ सेवन गरी खेल मैदान प्रवेश गरेमा यूएईको प्रशासनलाई जिम्मा लगाइने चेतावनी पनि आयोजकले दिएको छ।
Shivam Cement
प्रतियोगिता पोल ‘ए’ र पोल ‘बी’ अनुसार खेलाइनेछ। एउटै संस्था वा क्लबका दुई टिम सहभागी भएमा गोलाप्रथाबाट फरक–फरक पोलमा राखिनेछ। टाइसिटअनुसार तोकिएको समयमा उपस्थित नभएमा सम्बन्धित टिम स्वतः प्रतियोगिताबाट बाहिरिने व्यवस्था गरिएको छ। टिम क्याप्टेन वा व्यवस्थापकले खेल सुरु हुनुभन्दा कम्तीमा ३० मिनेटअघि अफिसियल डेस्कमा उपस्थित भई सम्पर्क गर्नुपर्नेछ।
Nabil bank
टिम दर्ता आगामी जनवरी १८ को साँझ ६ बजेसम्म गरिसक्नुपर्नेछ। दर्ता शुल्क १ हजार २५० दिराम तोकिएको छ। टाइसिटअघि सम्पूर्ण खेलाडीको नामावली उपलब्ध गराउनुपर्ने र टाइसिटमा समावेश खेलाडीबाहेक अन्य खेलाडीले सहभागिता जनाउन नपाउने व्यवस्था गरिएको छ।
गोलाप्रथा टाइसिट जनवरी १८ आइतबार साँझ ७ः३० बजे दुबई बसपार्क नजिकै रहेको सयपत्री ट्राभलमा गरिनेछ। टाइसिट कार्यक्रममा सबै टिमबाट अनिवार्य एक–एक जना प्रतिनिधि उपस्थित हुनुपर्नेछ भने टाइसिट प्रक्रिया एनआरएनए एनसीसी यूएईको फेसबुक पेजमार्फत प्रत्यक्ष प्रसारण गरिनेछ।
प्रतियोगितामा प्रथम हुने टिमले ११ हजार १११ दिरामसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। दोस्रो हुने टिमले ६ हजार ६६६ दिराम र तेस्रो हुने टिमले ३ हजार ३३३ दिरामसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ। साथै उत्कृष्ट खेलाडी, बेस्ट स्पाइकर, बेस्ट लिब्रो, बेस्ट सेटर, बेस्ट सर्भर, बेस्ट ब्लकर र बेस्ट कोचलाई विधागत पुरस्कार प्रदान गरिनेछ।
एनआरएनए यूएईका अध्यक्ष भीम मल्ल ठकुरीले प्रतियोगिताले यूएईमा रहेका नेपाली खेलाडीबीच आपसी सद्भाव, स्वास्थ्य प्रवद्र्धन र खेलकुद संस्कृतिको विकासमा महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गर्दै सबै नेपाली भलिबल खेलाडी र क्लबलाई सहभागिताका लागि आह्वान गरिएको जानकारी दिए।


+ There are no comments
Add yours