वर्षा राउतलाई प्रश्न : तपाईंलाई प्राय: किन विवाहित र गृहिणीको रोलमा अफर आउँछ ?

२० मंसिर, काठमाडौँ । ‘नाइँ नभन्नु ल’ बाट फिल्म करिअरमा डेब्यु गरेकी वर्षा राउत अहिलेकी स्थापित अभिनेत्री हुन् । उनको ‘क्युटनेस’, चुलबुले स्वभाव र मोहक मुस्कानले दर्शकहरुलाई लठ्ठ बनाउँछ । अभिनयलाई न्याय गर्ने वर्षा करिअरभन्दा बढी व्यक्तिगत सम्बन्धले बढी चर्चामा रहन्छिन् ।

व्यवसायी तथा अभिनेता सञ्जोग कोइराला उनका श्रीमान् हुन् । सञ्जोग र वर्षाबिच सम्बन्ध विच्छेद (डिभोर्स) हुन लागेको हल्ला बेलाबेलामा चल्छ । उनको यो हल्ला समाचारका हेडलाइन बनिरहेका हुन्छन् । 

एक दशक लामो करिअरमा बक्स अफिसमा ‘लकी’ मानिने वर्षाका अधिकांश फिल्म व्यावसायिक रूपमा सफल छन् । पर्दामा प्रायः गृहिणीको भूमिकामा देखिँदै आएकी उनी गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘हर्ष’मा पनि सोही भूमिकामा छिन् । 

सामाजिक, राजनीतिक विषयमा खुलेर आफ्नो धारणा राख्ने वर्षासँग फिल्म करिअर, पारिवारिक जीवन लगायत विषयमा गरेको कुराकानीको सम्पादित अंश : 

तपाई अभिनित नयाँ फिल्म ‘हर्ष’ गत शुक्रबारदेखि प्रदर्शनरत् छ । प्रतिक्रिया र व्यवसाय आश गरे अनुरूप छ कि छैन ?

म कलाकार भएकाले व्यावसायिक पाटोका विषयमा ठ्याक्कै भन्न सक्दिनँ । किनभने त्यसमा हाम्रो सिधै एक्सेस पनि हुँदैन । बजेट र कलेक्सनबारे मैले धेरै सोधीखोजी पनि गरेको छैन । तर फिल्मबाट अभिनयको प्रतिक्रिया भने राम्रो पाइरहेकी छु । फिल्मको रिलिज समयदेखि नै म नियमित हल भिजिट गरिरहेकी छु । दर्शकहरूसँग प्रत्यक्ष भेट्दा प्रतिक्रिया राम्रो पाइरहेकी छु । अहिलेसम्म फिल्म हामीलाई मन परेन भन्ने दर्शक मैले भेटेको छैन । हेर्ने जति सबैले रुचाइदिनुभएको छ । म एकदमै खुसी छु ।

फिल्ममा कस्तो भूमिकामा देख्न पाइन्छ ?

यो फिल्म एउटी आमाको कथा हो । यसमा म अन्य फिल्म जस्तै विवाहित महिला (बुहारी) को भूमिकामा छु । तर सबैको भोगाइ फरक हुन्छ । परम्परा धान्नुपर्ने पुरातन सोचको चेपुवामा परेकी बुहारीको मैले प्रतिनिधित्व गरेको छु । बिहे भएपनि बच्चा नभएकी एक नारीले आमा बन्न गर्ने सङ्घर्ष, पीडा र खुसीको कथा मेरो पात्रले बोल्छ । अन्य फिल्मको भन्दा यसमा मेरो चरित्रको भोगाइ र संवेगहरू फरक छन्, त्यसैले दर्शकहरूले मन पराउनुभएको छ ।

विवाहित महिलाको भूमिका तपाईंका लागि नौलो होइन, किन रोजाइमा पर्‍यो ‘हर्ष’ ?

फिल्ममा भूमिका विवाहित भएपनि फिल्मको कथा अन्य भन्दा फरक छ । यसमा महिलालाई स्ट्रोङ देखाइएको छ । महिलालाई बलियो रुपमा प्रस्तुत गरिएको कथामा काम गर्न अफर आएपछि नाइँ भन्न मन लागेन । 

तपाईं प्राय: विवाहित महिलाकै भूमिकामा पर्दामा देखिनुहुन्छ । रोजाइ तपाईंको कि निर्माता निर्देशकको ?

खै के भन्ने । मलाई प्रायः विवाहित र गृहिणीकै अफर आउँछन् । सायद मैले यस्तो भूमिकामा राम्रो गरेको देखेर होला । अर्को कुरा मेकरहरूले ममाथि अन्य भूमिका ‘एक्सपेरिमेन्ट’ गर्न नखोजेको पनि हुन सक्छ । तर स्क्रिप्ट राम्रो आएपछि विवाहित महिलाको रोल भन्दैमा नखेल्ने कुरा भएन । म विवाहित, अविवाहित भूमिका भन्दा पनि चरित्र र कथा हेरेर फिल्म छान्छु ।

‘हर्ष’ मार्फत पहिलो पटक अभिनेता खगेन्द्र लामिछानेसँग देखिनुभएको छ । उहाँसँग काम गर्दाको अनुभव कस्तो रह्यो ?

खगेन्द्र दाइसँग यो फिल्मको अलावा ‘मेयर’मा पनि काम गरेको छु । प्रदर्शनको हिसाबले ‘हर्ष’ पहिलो भयो । उहाँसँग काम गर्दा धेरै कुरा सिक्ने मौका मिल्यो । राम्रो भयो, सुटिङ हुन्जेल काम गरुन्जेल एकदमै रमाइलो थियो । फिल्मका निर्देशक एकता पौडेल पनि नयाँ हुन् । त्यसैले निर्देशक र मलाई दाइको सहयोग एकदमै रह्यो । प्रदर्शनपछि भने खगेन्द्र दाइ त्यति हल भिजिटमा हिँड्नु भएको छैन । उहाँलाई हल भिजिट त्यति मनपर्दो रहेनछ । 

‘हर्ष’मा पहिलो पटक तपाईं केन्द्रीय भूमिकामा देखिनुभयो होइन ? 

फिल्म ‘हर्ष’ मेरो केन्द्रीय भूमिकामा पहिलो फिल्म हो । अहिलेसम्म जति फिल्म अभिनय गरे, धेरै मल्टिस्टार फिल्ममा र सहयोगी भूमिकामा थिए । त्यसैले पनि ‘हर्ष’बाट एकदमै एक्सपेक्टेसन राखेको थिए । दर्शकहरूले कस्तो प्रतिक्रिया दिनुहुन्छ, दर्शकहरूलाई मेरो काम मनपर्छ कि पर्दैन भन्ने । फिल्मको चरित्र मैले एकदमै न्याय गरेको छु । दर्शकले आफैंले यस्तो भन्नुभएको छ । पर्सनल्ली म्यासेजहरू पनि गरिराख्नुभएको छ । एकदमै खुसी छु । मलाई पनि दर्शकहरूलाई यो मेरो आफ्नै फिल्म हो हेर्न आउनुस् है भन्नलाई मजा आइरहेको छ ।

कलाकार नयाँ निर्देशकलाई हत्तपत्त विश्वास गर्दैनन् भनिन्छ, एकता पनि नयाँ निर्देशक हुन् । तपाईंले उहाँलाई के कारणले विश्वास गर्नुभयो ? 

उहाँ निर्देशन पढेर आउनु भएको हो । उहाँले धेरै सर्ट मुभीहरू गर्नुभएको छ । जुन मैले पनि हेरेकी छु । त्यसैले पनि विश्वास लाग्यो । अर्को नयाँ मेकरहरूको आइडिया र काम गर्ने तरिका पनि नयाँ हुन्छ । उहाँहरूसँग काम गर्दा आफूले पनि धेरै कुरा सिकिन्छ । त्यसमाथि एकता महिला निर्देशक हुनुहुन्छ, एक महिलाले अर्को महिलालाई सपोर्ट गर्नुपर्छ भन्ने पनि लाग्यो ।

पछिल्लो समय पारिवारिक फिल्म धेरै बन्न थालेको छ । तपाईंको बुझाइमा यसप्रति दर्शकको रुचि बढेको हो ?

त्यो पारिवारिक फिल्म निर्माण बढ्नुले पनि देखाउँछ । आजकल मान्छेहरू परिवारसँग समय बिताउन खोजिरहेका छन् जस्तो मलाई पनि लाग्छ । धेरै फिल्महरूमा ‘एडल्ट’ वा ‘प्यारेन्ट्स गाइडेन्स’ हुने हुँदा सपरिवार हेर्न मिल्दैन । पारिवारिक फिल्महरू सबै पुस्ताले सँगै बसेर हेर्न मिल्ने भएकाले रुचाइएको हो । पछिल्लो समय केही पारिवारिक फिल्मको व्यवसायले पनि यस्ता फिल्मको निर्माण बढेको छ ।

फिल्ममा धेरै पटक आमाको भूमिकामा देखिनुभएको छ । रियलमा आमा बन्न परिवारबाट कति प्रेसर छ ?

व्यक्तिगत रूपमा मलाई आमा बन्ने इच्छा अहिले जागिसकेको छैन । आमा बन्न सुरुमा परिवारबाट अलिअलि प्रेसर थियो, तर अहिले सबैले बुझ्नुभएको छ । मैले मेन्टल्ली, फिजिकल्ली र फाइनान्सियल्ली तयार भएपछि मात्र बच्चा जन्माउने भनेर घरमा कुरा राख्दै आएकी छु । उहाँहरू सहमत हुनुहुन्छ ।

तपाईंका सहकर्मीहरू धमाधम नाटकमा देखिन थालेका छन् । तपाईंको सोच के छ ?

मैले नाटक अमेरिकामा गरेकी थिएँ । नेपालमा पनि गर्न मन छ । समय व्यवस्थापन गर्न गाह्रो भएर गर्न सकेकी छैन । नाटकका लागि धेरै समय र समर्पण चाहिन्छ ।

अभिनय गर्न मन लागेको त्यस्तो भूमिका केही छ ?

अहिलेसम्म हरेक फिल्ममा फरक–फरक भूमिकामा अभिनय गरिरहेकी छु । त्यसैले यो गर्न मन छ, त्यो गर्न मन छ भन्ने छैन । एकपछि अर्को फिल्ममा राम्रो भूमिकामा काम गर्न पाऊँ त्यही हो ।

फिल्म निर्माणको सोच पनि छ कि ?

अहिलेसम्म छैन ।

बेलाबेलामा तपाईंको डिभोर्सको हल्ला चल्ने गरेको छ नि ?

हो । यो किन र कसरी यस्तो हल्ला चलिरहेको छ । म आफैं बुझ्न सकिरहेकी छैन । विगत चार वर्ष अगाडिदेखि पटक-पटक यस्तो हल्ला भइरहेको छ । मैले कहिल्यै पनि डिभोर्स गर्दैछु वा श्रीमान् (सञ्जोग कोइराला)सँग छुट्टिएर बसेकी छु भनेर बोलेकी छैन । मिडियाले आफैं हेडलाइन बनाइदिनुहुन्छ । पहिला यस्ता चर्चा हुँदा म चुप बस्थें । अहिले भने बोल्न थालेकी छु । यस्ता अनावश्यक हल्लाले तनाव भने दिँदो रहेछ ।

त्यसै हल्ला चल्यो त ?

कसरी चल्यो थाहा भएन । पहिलो पटक यस्तो हल्ला केही वर्ष अगाडि चलेको थियो । जतिबेला मैले आफ्नो सामाजिक सञ्जालबाट सञ्जोगको तस्बिर डिलिट गरेको थिएँ, त्यो समय मैले उसको मात्र होइन, मेरो आफ्नो पनि फोटो डिलिट गरेको थिए । त्यसपछि बेलाबेलामा यस्ता हल्ला चलिरहेको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours