०१ मंसिर, काठमाडौँ। मेक्सिकोमा राष्ट्रपति क्लाउडिया सेनबामको सरकारविरुद्ध जेनजी आन्दोलनले उग्र रूप लिएको छ । राजधानीमा भएको विरोध प्रदर्शन हिंसात्मक झडपमा परिणत हुँदा कम्तीमा १२० जना घाइते भएका छन् । घाइतेमध्ये अधिकांश प्रहरी अधिकारीहरू छन् ।
लागुऔषध हिंसा र सेनबामको सुरक्षा नीतिविरुद्ध जेनजीका प्रतिनिधिहरूले सामाजिक सञ्जालमार्फत प्रदर्शनको आह्वान गरेका थिए । यद्यपि, प्रदर्शनमा जेनजीका साथै विभिन्न उमेर समूहका व्यक्तिहरूको उल्लेख्य सहभागिता देखियो ।
गत वर्ष अक्टोबरदेखि सत्तामा रहेकी राष्ट्रपति सेनबामको सुरक्षा नीतिमाथि हालैका चर्चित हत्याकाण्डहरूपछि निरन्तर आलोचना हुँदै आएको छ । मेक्सिको सिटीका सुरक्षा प्रमुख पाब्लो भाजक्वेजले प्रदर्शन सुरुमा शान्तिपूर्ण रहे पनि केही व्यक्तिले हिंसात्मक गतिविधि सुरु गरेपछि झडप भएको बताए ।

भाजक्वेजका अनुसार करिब १०० जना प्रहरी अधिकारी घाइते भएका छन्, जसमध्ये ४० जनालाई प्राथमिक उपचारपछि अस्पताल लैजानुपर्यो । यसैगरी, २० जना प्रदर्शनकारी पनि घाइते भएको पुष्टि गरिएको छ । सुरक्षा अधिकारीहरूले विभिन्न आरोपमा २० जनालाई पक्राउ गरेका छन् ।
प्रदर्शनकारीहरूले विभिन्न ब्यानर बोकेका थिए । कतिपयले मारिएका मिचोआकान राज्यको उरुपानका मेयर कार्लोस मन्जोप्रति ऐक्यबद्धता जनाउँदै उनको तस्बिरसहितको टोपी लगाएका थिए । मन्जो लागुऔषध तस्करी गर्ने समूहविरुद्ध कडा अभियान चलाउने नेताका रूपमा परिचित थिए ।
राष्ट्रपति सेनबामले यो आन्दोलन सरकारविरुद्ध विदेशबाट प्रेरित भएको दाबी गरेकी छन् । प्रदर्शनकारीहरू राष्ट्रपतिको निवास र राष्ट्रपति कार्यालयअगाडि जम्मा भई प्रदर्शन गर्दा हिंसा भड्किएको हो । सुरक्षाकर्मीले भवन जोगाउन प्रदर्शनकारीलाई रोक्न अश्रुग्यास तथा आगो निभाउने उपकरण प्रयोग गरेका थिए ।
नेपालमा जेनजी आन्दोलनले सरकार परिवर्तन गरेसँगै इन्डोनेसिया, मोरक्को, पेरु, माडागास्कर, केन्या, फिलिपिन्स र पूर्वी टिमोरमा पनि यो आन्दोलन जारी छ ।


+ There are no comments
Add yours