०२ असाेज, काठमाडौँ । वैज्ञानिकहरूले ‘डेल्फी–टु एम’ नामक एक नयाँ एआई मोडेल सिर्जना गरेका छन्, जसले भविष्यमा हुन सक्ने १ हजारभन्दा बढी रोगहरूको पूर्वानुमान गर्न सक्ने क्षमता राख्ने बताइएको छ। ‘नेचर’ जर्नलमा प्रकाशित एक शोधपत्रमा उल्लेख भएअनुसार, यो एआईलाई चिकित्सा निदानको लागि च्याटजीपीटीजस्तै एआई प्रविधिमा तालिम दिइएको हो।
यो मोडेललाई बेलायतको ‘यूके बायो बैङ्क’ को लगभग ५ लाख सहभागीहरूको बायोमेडिकल तथ्याङ्कमा आधारित नमूनाहरूमा प्रशिक्षित गरिएको थियो। जर्मन क्यान्सर रिसर्च सेन्टरका एआई विशेषज्ञ मोरिट्ज गेस्र्टुङले बताएअनुसार, यो एआईले स्वास्थ्य सेवा तथ्याङ्कमा पूर्वनिर्धारण गरिएका ढाँचाहरू सिक्ने भएकाले अर्थपूर्ण र स्वास्थ्य-सम्बन्धी पूर्वानुमान गर्न सक्षम छ।
गेस्र्टुङले भने, “एआईले व्यक्तिको उमेर र अन्य कारकहरूले भविष्यवाणी गर्नेभन्दा धेरै उच्च वा कम हृदयघातको जोखिममा रहेका मानिसहरूलाई छुट्याउन सक्छ।” यसको प्रदर्शनलाई डेनमार्कको सार्वजनिक स्वास्थ्य तथ्याङ्कमा २० लाख मानिसको तथ्याङ्कमाथि परीक्षण गरी प्रमाणित गरिएको पनि दाबी गरिएको छ।
यद्यपि, गेस्र्टुङ र उनका सहकर्मीहरूले डेल्फी–टु एमलाई थप परीक्षणको आवश्यकता रहेको र यो क्लिनिकल प्रयोगका लागि अहिले नै तयार नरहेको बताएका छन्। स्वास्थ्य प्रविधि शोधकर्ता पिटर ब्यानिस्टरले बेलायत र डेनमार्कको तथ्याङ्क उमेर, जातीयता र स्वास्थ्य सेवाको नतिजाको सन्दर्भमा पक्षपाती हुन सक्ने भएकाले थप अनुसन्धान आवश्यक रहेको बताएका छन्।
भविष्यमा डेल्फी–टु एम जस्ता प्रणालीहरूले रोगको रोकथामका लागि निगरानी र प्रारम्भिक क्लिनिकल हस्तक्षेपलाई मार्गदर्शन गर्न मद्दत गर्न सक्ने गेस्र्टुङको विश्वास छ। साथै, यस्ता उपकरणहरूले स्वास्थ्य सेवा प्रणालीमा स्रोतसाधनको उपयोगलाई पनि अनुकूलन गर्न मद्दत गर्न सक्ने बताइएको छ।
मेडिकल एआईमा विशेषज्ञता हासिल गरेका किङ्ग्स कलेज लन्डनका प्राध्यापक गुस्ताभो सुद्रेले यो अनुसन्धानलाई ‘व्याख्यायोग्य र नैतिक रूपमा जिम्मेवार भविष्यवाणीको नमूनाको दिशामा एक महत्त्वपूर्ण कदम’ मानेका छन्।


+ There are no comments
Add yours