१३ भदौ, काठमाडाैँ । नेपाल प्रहरीमा शुक्रवार रोचक संयोग बन्यो । २०५२ सालको प्रहरी निरीक्षक ब्याचका दुई अधिकृतमध्ये एकजना प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त भए भने अर्का बिदाइ भए ।
शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त महानिरीक्षक (एआईजी) चन्द्रकुवेर खापुङलाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेको छ । उनी बिहीबारदेखि प्रहरी सङ्गठनको नेतृत्व सम्हाल्नेछन् र आगामी कात्तिक २७ गतेसम्म जिम्मेवारीमा रहनेछन्
यसैबीच, प्रहरी प्रधान कार्यालयले अर्का एआईजी कृष्णहरि शर्मा पोखरेललाई बिदाइ गरेको छ । उमेर हदका कारण शर्मा शनिवारदेखि अनिवार्य अवकासमा गएका हुन् । शनिवार बिदा भएकाले उनलाई शुक्रवार नै बिदाइ गरियो ।
खापुङ र शर्मा २०५२ कात्तिक २७ मा प्रहरी निरीक्षकमा सँगै भर्ना भएका थिए । गत वैशाखमा दुवै एआईजी बनेका थिए, तर डीआईजीमा खापुङ पहिले बनेका थिए । शर्माको अवकासले खापुङ ब्याचका एकमात्र वरिष्ठ एआईजी बने, जसलाई सरकारले आईजीपी नियुक्त गरेको हो ।
शर्माको बिदाइ समारोहमा आईजीपी दीपक थापा, भावी आईजीपी खापुङलगायत उपस्थित थिए । थापाले शर्माको योगदानको प्रशंसा गर्दै मायाको चिनो प्रदान गरे । थापासहित उनका ब्याचका एआईजी टेकबहादुर तामाङ र सुदीप गिरी पनि आगामी बुधवार ३० वर्षे सेवा अवधिका कारण अवकाश हुँदै छन् ।


+ There are no comments
Add yours