१८ साउन, काठमाडौं । हालसम्म देशभर करिब ८४ प्रतिशत धान रोपाई सम्पन्न भएको छ । कृषि विकास मन्त्रालयका अनुसार हालसम्म देशभर ८३.८८ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । गत वर्ष यही समय अर्थात् साउन १८ गतेसम्म ९६.४७ प्रतिशत धान रोपाइँ सम्पन्न भएको कृषि मन्त्रालयले जानकारी दिएको हो ।
देशभर १३ लाख ७८ हजार ९६६ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने गरेको छ । जसमध्ये हालसम्म ११ लाख ५६ हजार ६८७ हेक्टर क्षेत्रफलमा मात्र धान रोपाइँ सकिएको मन्त्रालयले जनाएको छ ।
यस वर्ष कोशी प्रदेशमा ८९.०३ प्रतिशत भूभागमा धान रोपाइँ भएको छ । सो प्रदेशमा गत वर्ष यही समयमा ९५ प्रतिशत भूभागमा धान रोपाइँ सम्पन्न भएको थियो । कोशी प्रदेशमा २ लाख ७६ हजार ३८६ हेक्टर क्षेत्रफल जमिनमा धान रोपाइँ हुने गरेकामा हालसम्म २ लाख ४६ हजार ६५ हेक्टर क्षेत्रफलमा मात्र धान रोपिएको मन्त्रालयले जनाएको छ ।
मधेस प्रदेशमा हालसम्म ५७.२८ प्रतिशत मात्र धान रोपाइँ सकिएको छ । गत वर्ष यही समयमा सो प्रदेशमा ९५ प्रतिशत धान रोपाइँ सकिएको थियो । मधेस प्रदेशमा ३ लाख ७२ हजार ६४५ हेक्टर क्षेत्रफलमा धान रोपाइँ गरिन्छ । हालसम्म सो प्रदेशमा २ लाख १३ हजार ४३८ हेक्टर क्षेत्रफलमा मात्र धान रोपाइँ सकिएको छ । समयमा नै पानी नपर्दा यसपाली मधेश प्रदेशमा धान रोपाईमा कमी आएको हो ।
बागमती प्रदेशमा हालसम्म ९२.९२ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सकिएको छ । गत वर्ष साउन १८ गतेसम्म बागमती प्रदेशमा ९७ प्रतिशत रोपाइँ सकिएको थियो । यो प्रदेशमा १ लाख १५ हजार ६२१ हेक्टर क्षेत्रफलमा धान रोपाइँ गरिन्छ । यसमध्ये हालसम्म १ लाख ७हजार ४३४ हेक्वटर क्षेत्रफलमा मात्र धान रोपाइँ गरिएको छ ।
गण्डकी प्रदेशमा हालसम्म ८८.९७ प्रतिशत धान रोपाइँ सकिएको छ । गत वर्ष साउन १८ गतेसम्म यो प्रदेशमा ९६ प्रतिशत रोपाइँ सकिएको थियो । गण्डकी प्रदेशमा ९४ हजार १८२ हेक्टर क्षेत्रफलमा धान रोपाइँ गरिन्छ । जसमध्ये हालसम्म ८३ हजार ७९४ हेक्टर क्षेत्रफलमा मात्र धान रोपाइँ गरिएको छ ।
लुम्बिनी प्रदेशमा ९५.९६ प्रतिशत धान रोपाइँ सकिएको छ । सो प्रदेशमा गत वर्ष यही समयमा ९७ प्रतिशत धान रोपाइँ सकिएको थियो । लुम्बिनी प्रदेशमा ३ लाख २ हजार ९३९ हेक्टर क्षेत्रफलमा धान रोपाइँ गरिन्छ । जसमध्ये हालसम्म २ लाख ९० हजार ७०८ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सकिएको छ ।
कर्णाली प्रदेशमा हालसम्म ९६.४७ प्रतिशत धान रोपाइँ सकिएको मन्त्रालयले जनाएको छ । गत वर्ष यही समयमा सो प्रदेशमा ९९ प्रतिशत रोपाइँ भएको थियो । कर्णाली प्रदेशमा ४१ हजार ४२ हेक्टर क्षेत्रफलमा धान रोपाइँ गरिन्छ । सो प्रदेशमा हालसम्म ३९ हजार ५९४ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सकिएको छ ।
सुदूरपश्चिम प्रदेशमा हालसम्म ९९.७२ प्रतिशत धान रोपाइँ सकिएको छ । सो प्रदेशमा गत वर्ष पनि यही समयमा रोपाइँ सम्पन्न भइसकको थियो । सुदूरपश्चिम प्रदेशमा १ लाख ७६ हजार १५१ हेक्टर क्षेत्रफलमा रोपाइँ गरिन्छ । सो प्रदेशमा हालसम्म १ लाख ७५ हजार ६५२ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको मन्त्रालयले जनाएको छ ।


+ There are no comments
Add yours