३० असार, काठमाडौं । बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेडले आउँदो साउन ६ गतेदेखि पहिलो चरणको आईपीओ जारी गर्न लागेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गर्न लागेको हो ।
कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पुँजी २ अर्ब ८३ करोड रुपियाँको २०.७०६७ प्रतिशत अर्थात् ५८ करोड ६० लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित दरमा ५८ लाख ६० हजार कित्ता साधारण शेयर निष्कासन गर्न अनुमति पाएको छ । जसमध्ये कम्पनीले ५ लाख ६६ हजार आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र ५ लाख २९ हजार ४०० कित्ता शेयर वैदेशिक रोजगारीमा गएका नेपालीका लागि बिक्री गर्नेछ ।
उक्त आईपीओमा आयोजना प्रभावितका स्थानीय तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका र आँबुखैरेनीका सबै वडाका साथै भानु नगरपालिका वडा नं. १ तथा गोरखाको पालुङटार ७ का स्थानीय बासिन्दाले आवेदन दिन सक्नेछन् । स्थानीयले धितोपत्र बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ्ग, बन्दीपुर केवलकारको काठमाडौंको कालिमाटीस्थित कार्यालय, बन्दीपुर केवलकारको तल्लो स्टेसन, आँबुखैरेनी गाउँपालिकाको कार्यालय, भानु नगरपालिकाको वडा नं. १ को कार्यालय र पालुङटार नगरपालिका वडा नं. ७ को कार्यालयबाट आवेदन दिन सक्नेछन् ।
जसमा दुवै समूहका लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । आयोजना प्रभावित बासिन्दाका लागि निष्कासन बन्द छिटोमा साउन २० गते र ढिलोमा भदौ ४ गतेसम्म आवेदन दिन सक्नेछन्। यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने साउन ९ तथा ढिलोमा भदौ २० गतेभित्रमा आवेदन दिन सक्नेछन् । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबीआइ मर्चेन्ट बैंकिङ्ग रहेको छ।


+ There are no comments
Add yours