१८ करोड लागतमा बेनी अस्पतालको भवन निर्माण सम्पन्न

१६ असार, म्याग्दी । स्तरोन्नति र क्षमता विस्तार भएको दश वर्षपछि प्रदेश अस्पताल बेनीको पूर्वाधार तयार भएको छ । विसं २०७२ मा १५ बाट ५० शय्यामा स्तरोन्नति भएको बेनी अस्पतालले नयाँ पक्की भवनबाट सेवा सञ्चालन थालेको हो ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्षसमेत रहेकी जिल्ला समन्वय समिति म्याग्दीका कार्यवाहक प्रमुख डिलकुमारी खत्रीले अस्थायी भवनबाट सञ्चालन गरिँदै आएको अस्पतालको सेवा नयाँ भवनबाट सुरु गरिएको जानकारी दिए ।

“अन्तरङ्ग विभागको सेवा नयाँ भवनबाट सञ्चालन गरेका हौँ”, उनले भने, “अन्तिम चरणमा पुगेको भवन निर्माण कार्यले पूर्णता पाएपछि अन्य सेवा नयाँ भवनमा सार्ने तयारीमा छौँ ।”

पक्की भवन बनाउनका लागि विसं २०७४ मा पुरानो बहिरङ्ग विभागको भवन भत्काएपछि अस्थायी भवन बनाएर सेवा सञ्चालन गरिएको थियो । अस्पताल भवन निर्माणका लागि महादेव खिम्ती–गल्वा–रफिना जेभी र सहरी विकास तथा भवन आयोजना बागलुङसँग २०७३ मङसिर २१ गते सम्झौता भएको थियो ।

१८ करोड ८४ लाख ८ हजार ८९ मा ठेक्का सम्झौता भएको योजना लक्ष्यअनुसार २०७६ मङ्सिर २० गते सम्पन्न हुनुपर्ने थियो । आयोजनाका इञ्जिनियर वीरबल सुनारले भवन निर्माणको ९५ प्रतिशत काम सम्पन्न भएको बताए ।

भवनको सरसफाइ र बाहिर पाँच सय मिटर सडक कालोपत्रे काम मात्र बाँकी छ । ४ हजार ९६३ वर्गमिटर क्षेत्रफलमा निर्माण गरिएको ४ तले ३ वटा भवनको भित्री भाग पलास्टर र रङरोगन गर्न, विद्युत्, पानी जडान गर्न, झ्याल ढोका र टायल राख्ने काम अन्तिम चरणमा पुगेको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours