मूल्य नराखी जुत्ता चप्पल उत्पादन गर्ने कारखानालाई दुई लाख जरिवाना

२७ जेठ, नेपालगन्ज । अधिकतम खुद्रा मूल्य (एमआरपी) नराखी जुत्ता चप्पल उत्पादन गरी बजारमा बिक्री वितरण गरेको आरोपमा बाँकेको एक जुत्ता चप्पल कारखानालाई दुई लाख रुपियाँ जरिवाना गरिएको छ ।

जानकी गाउँपालिका–३, खजुरा रोडस्थित लक्ष्मी फुटवेयर इण्डस्ट्रीजलाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, नेपालगन्जले बजार अनुगमनका क्रममा उक्त रकम जरिवाना गरेको हो ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगन्जका प्रमुख हरि बहादुर खत्रीका अनुसार, बजार अनुगमनका क्रममा लक्ष्मी फुटवेयरले एमआरपी नराखी जुत्ता चप्पल बिक्री वितरण गरेको पाइएपछि उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ को खण्ड (ङ) बमोजिम दुई लाख रुपियाँ जरिवाना गरिएको हो ।

प्रमुख खत्रीका अनुसार, कुनै पनि वस्तुको उत्पादन गरेपछि अनिवार्य रूपमा अधिकतम खुद्रा मूल्य उल्लेख गर्नुपर्ने कानुनी व्यवस्था छ । तर, सो कारखानाले यो कानुन पालना नगरेको भेटिएकाले कारबाही गरिएको हो ।

चालु आर्थिक वर्षको यो अहिलेसम्मकै सबैभन्दा ठुलो जरिवाना भएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगन्जले जनाएको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours