२४ असाेज, गलकोट (बागलुङ) । बागलुङलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने मुख्य नाकामा रहेको मालढुङ्गा पुलको पहुँचमार्ग १३ दिनदेखि अवरुद्ध हुँदा जिल्लाको व्यापार, पर्यटन र जनजीवनमा प्रत्यक्ष असर परेको छ। दसैँको मुखमा सिधा यातायात सञ्चालन हुन नसक्दा उपभोक्ता महँगीको मारमा परेका छन् भने पर्यटन तथा व्यापार व्यवसायसमेत प्रभावित भएका छन्।
बागलुङ जोड्ने प्रमुख सडकका रूपमा रहेको मालढुङ्गा क्षेत्रमा अविरल वर्षासँगै आएको बाढीले क्षति पुर्याएपछि असोज ११ गतेदेखि यातायात सेवा प्रभावित हुँदै आएको छ। सडक अवरुद्ध हुँदा बागलुङमा आपूर्ति हुने दैनिक उपभोग्य वस्तुलगायत अन्य सामग्रीको ढुवानी प्रभावित भएको छ। वैकल्पिक मार्ग प्रयोग गर्नुपर्दा ढुवानी खर्च बढेपछि उपभोक्ताले सामानमा बढी मूल्य तिर्नुपरेको छ।
पछिल्ला केही वर्षयता दसैँ र तिहारको समय बागलुङमा पर्यटन व्यवसायका लागि महत्त्वपूर्ण मौसम बन्दै आएको थियो। कालिका मन्दिर, पञ्चकोटदेखि ढोरपाटनसम्म घुम्न जाने पर्यटकका कारण होटलहरू भरिभराउ हुने समयमा यस वर्ष भने बागलुङका होटल सुनसान देखिएका छन्। बागलुङ बजारमा समेत चहलपहल घटेको व्यवसायीहरू बताउँछन्।
जिल्ला भित्रिने मुख्य नाकाका रूपमा रहेको मालढुङ्गा पुलको पहुँचमार्गमा क्षति पुग्दा यातायात अवरुद्ध भएको हो। मालढुङ्गास्थित कालीगण्डकी पुलको पर्वततर्फको पहुँचमार्ग बाढीले बगाएपछि पुल पुनः सञ्चालनमा ल्याउन मर्मत कार्य तीव्र पारिएको छ। तर, हालसम्म यातायात पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन।
पुल सञ्चालनमा ढिलाइ हुँदा नजिकिँदै गरेको दसैँको व्यापारमा समेत प्रत्यक्ष असर पर्ने व्यवसायीहरूले बताएका छन्। निजी क्षेत्रका अग्रणी व्यवसायी चन्द्रप्रसाद ढकालले समेत मालढुङ्गा पुल आयात–निर्यातको महत्त्वपूर्ण सेतु भएकाले यसको अवरोधले आर्थिक क्षेत्रमा नकारात्मक असर पार्ने बताउनुभएको छ।
भारत र चीनलाई जोड्ने कालीगण्डकी करिडोर तथा पहाडी क्षेत्र हुँदै गएको मध्यपहाडी लोकमार्गको महत्त्वपूर्ण संगमस्थल भएकाले उक्त पुलको मर्मतलाई राष्ट्रिय प्राथमिकतामा राख्नुपर्ने उहाँको जोड छ।
पर्यटन क्षेत्रमा विस्तारै पहिचान बनाउँदै गरेको बागलुङ र स्थापित पर्यटकीय गन्तव्य मुस्ताङसमेत सडक सञ्जालबाट प्रभावित हुँदा कोरला नाकाबाट हुने सामान ढुवानीमा समेत असर परेको छ।
उपभोग्य वस्तुको मूल्य वृद्धि
हाल दर्शन ट्रान्सपोर्टले वैकल्पिक मार्गका रूपमा पर्वतको फलेवास हुँदै बलेवा भएर बागलुङमा सामान ढुवानी गरिरहेको छ। साना व्यापारीले मालढुङ्गा–बेनी हुँदै बागलुङमा सामग्री ल्याउने गरेका छन्। लामो र घुमाउरो वैकल्पिक मार्ग प्रयोग गर्नुपर्दा ढुवानीमा थप समय र खर्च लाग्ने भएकाले सामानको मूल्य बढ्न थालेको व्यवसायीहरूको भनाइ छ।
ग्यासको ढुवानीमा प्रतिसिलिन्डर १५० देखि १७० रुपियाँसम्म अतिरिक्त खर्च लागेपछि बजारमा ग्यासको मूल्यसमेत बढाइएको ग्यास विक्रेता सङ्घ बागलुङका अध्यक्ष राजु गौतमले बताउनुभयो। उहाँका अनुसार अतिरिक्त ढुवानी खर्चका कारण ग्यासको मूल्यमा करिब १०० रुपियाँ बढाइएको छ।
“साना गाडीमा ग्यास ल्याउने काम भइरहेको छ, तर ढुवानी शुल्क धेरै लाग्ने र गाडी बिग्रने समस्या छ। पुल छिटो सञ्चालनमा ल्याउनुपर्यो,” उहाँले भन्नुभयो।
पुल सञ्चालनमा नआउँदा बागलुङमा भित्रिने ग्यास, इन्धन, औषधि, खाद्यान्न, फलफूल, तरकारी, कपडा, अण्डा, खसी, कुखुरा, स्टेसनरी तथा कस्मेटिकलगायत दैनिक उपभोग्य र व्यावसायिक सामग्रीको आपूर्ति प्रभावित भएको छ।
दसैँका बेला बजारमा सामानको माग बढ्ने भएकाले पुल समयमै सञ्चालनमा नआए आपूर्ति व्यवस्थामा थप समस्या आउन सक्ने व्यवसायीहरूको चिन्ता छ। विशेषगरी दसैँका लागि आवश्यक खाद्यान्न, कपडा, मासुजन्य वस्तु, फलफूल तथा अन्य सामग्रीको ढुवानी महँगो हुँदा त्यसको प्रत्यक्ष असर उपभोक्तासम्म पुग्ने देखिएको छ।
मालढुङ्गा पुल दसैँअघि सञ्चालनमा नआए बागलुङका प्रमुख धार्मिक तथा पर्यटकीय स्थलमा आउने आन्तरिक पर्यटकको आवागमनसमेत प्रभावित हुने होटल व्यवसायी अर्जुन चोखालले बताउनुभयो। उहाँले चाडपर्वको मुखमा सडक अवरुद्ध हुँदा होटल व्यवसाय चौपट भएको बताउनुभयो।
बागलुङ कालिका भगवती मन्दिरलगायत धार्मिक स्थलमा दसैँका बेला दर्शन गर्न आउने भक्तजन तथा पर्यटकको सङ्ख्या घटेमा होटल, रेस्टुरेन्ट, पूजा सामग्री, फूलप्रसाद, दूधजन्य पदार्थ, फलफूल, तरकारी र खाद्यान्न आपूर्ति गर्ने किसान तथा व्यवसायीको व्यवसायमा समेत असर पर्ने उहाँको भनाइ छ।
व्यवसायीहरूले दसैँअघि नै मालढुङ्गा पुल सञ्चालनमा ल्याउन सम्बन्धित निकायले मर्मत कार्यलाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने बताएका छन्। पुल सञ्चालनमा आएमा बागलुङको यातायात तथा आपूर्ति व्यवस्था सहज हुनुका साथै दसैँको व्यापारमा समेत राहत पुग्ने अपेक्षा गरिएको छ।
दसैँअघि पुल सञ्चालनमा ल्याउने तयारी
दसैँअघि नै पुल सञ्चालनमा ल्याउन सडक डिभिजन कार्यालय पोखराले दिनरात मर्मत कार्य गरिरहेको जनाएको छ। दसैँको मुखमा पनि सिधा यातायात सञ्चालन हुन नसक्दा सर्वसाधारण पुल सञ्चालनको प्रतीक्षामा छन्।
११४ मिटर लामो पुलको पहुँचमार्गको करिब ३० मिटर सडकमा क्षति पुगेपछि १३ दिनदेखि दुई जिल्लाबीचको सडक सम्पर्क अवरुद्ध भएको छ। मध्यपहाडी लोकमार्ग हुँदै बागलुङ, रुकुम र रोल्पासम्म हुने आवागमनसमेत प्रभावित भएको छ।
सडक डिभिजन कार्यालय पोखराले दिउँसो र राति दुवै समयमा मजदुर परिचालन गरी पुलको पहुँचमार्ग मर्मत गरिरहेको जनाएको छ। डिभिजन प्रमुख कृष्णराज अधिकारीले चाडपर्व नजिकिँदै गएको र बागलुङमा खाद्यान्न, ग्यासलगायत उपभोग्य वस्तुको अभाव देखिन थालेकाले २४ सै घण्टा काम गरेर भए पनि पुल छिटो सञ्चालनमा ल्याउने तयारी गरिएको जानकारी दिनुभयो।


+ There are no comments
Add yours