काठमाडौंमा ‘द कन्फ्लुएन्स’ कला प्रदर्शनी

काठमाडौंमा ‘द कन्फ्लुएन्स’ कला प्रदर्शनी

काठमाडौं। नेपाली कला, संस्कृति तथा सिर्जनात्मक विविधतालाई एउटै मञ्चमा प्रस्तुत गर्ने उद्देश्यसहित काठमाडौंको दरबारमार्गस्थित ग्यालरी १०८ मा ‘द कन्फ्लुएन्स’ (The Confluence) शीर्षकको कला प्रदर्शनी आयोजना भइरहेको छ।
‘फाइन, फोक एन्ड ट्रेडिसनल आर्ट–इन्टरवेभिङ डाइभर्स आर्टिस्टिक भोइसेस’ अर्थात् ललितकला, लोककला तथा परम्परागत कलाको सङ्गम भन्ने मूल अवधारणामा आधारित प्रदर्शनी सन् २०२६ नोभेम्बर २० देखि डिसेम्बर २० सम्म सञ्चालन हुनेछ।
प्रदर्शनीमा हेमा दास, मुक्ति सिंह थापा, राखी कर्ण, सूर्य दुतराज र, उमा श्रेष्ठ र उमेश श्रेष्ठ गरी छ जना कलाकारका विविध कलाकृति प्रस्तुत गरिएको छ। कलाकारहरूले आफ्ना सिर्जनामार्फत कला, संस्कृति, परम्परा र मौलिक कलात्मक अभिव्यक्तिलाई एकै ठाउँमा समेट्ने प्रयास गरेका छन्।

ग्यालरी १०८, दरबारमार्ग–१, काठमाडौंमा आयोजना भइरहेको प्रदर्शनी बिहान ११ बजेदेखि साँझ ७ बजेसम्म अवलोकन गर्न सकिनेछ। सोमबार भने पूर्वनिर्धारित समय लिएर मात्र प्रदर्शनी अवलोकन गर्न पाइने आयोजकले जनाएको छ।

कला तथा संस्कृतिमा रुचि राख्ने सर्वसाधारण, कलाप्रेमी, विद्यार्थी तथा कला क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूलाई लक्षित गरिएको यस प्रदर्शनीमा प्रवेश निःशुल्क गरिएको छ।

विविध कलात्मक सिर्जनाको माध्यमबाट ललितकला, लोककला र परम्परागत कलाबीचको सम्बन्ध तथा विविधतालाई एउटै थलोमा अनुभूति गर्ने अवसरका रूपमा यस प्रदर्शनीलाई लिन सकिन्छ।
प्रदर्शनी स्थल: ग्यालरी १०८, दरबारमार्ग–१, काठमाडौं
समय: बिहान ११ देखि साँझ ७ बजेसम्म
प्रवेश: निःशुल्क तथा सबैका लागि खुला।

You May Also Like

More From Author

+ There are no comments

Add yours