१० असाेज, काठमाडौं । शुक्रबारदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘सानो संसार’ले प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया प्राप्त गरेको छ । बुधबार बेलुका काठमाडौंमा फिल्मको प्रिमियर गरिएको थियो ।
प्रिमियर समारोहमा कलाकार तथा सञ्चारकर्मीहरुको बाक्लो उपस्थिति थियो । उक्त अवसरमा सहभागि अधिकांश सेलेव्रिटी दर्शकले फिल्मलाई सकारात्मक प्रतिक्रिया दिएका छन् ।
फिल्मले नेपाली मध्यवर्गीय परिवारको वास्तविकता चित्रण गरिएको र फिल्म मर्मस्पर्शी रहेको उनीहरुको भनाई छ । यो फिल्म हरेक नेपालीले हेर्नुपर्ने सुझाव समेत उनीहरुको छ ।
पारिवारिक कथावस्तुमा अर्जुन कुमारद्वारा निर्मित यो फिल्ममा हास्य कलाकार केदार घिमिरे ‘माग्नेबुढा’की श्रीमती सीतादेवी तिमल्सेनाको शीर्ष भूमिका छ । फिल्ममा उनीसँगै राजपंगेनी शर्मा, अनु दाहाल, अञ्जसा रिजाल, शिशिर शिवाकोटी, सरिता भण्डारी र जीवन गौतमको मुख्य भूमिका छ ।
सिद्धार्थ पुडासैनी निर्देशित फिल्मको पटकथा पनि निर्देशकले नै लेखेका हुन् । उनको यो डेब्यु निर्देशन हो । कार्यकारी निर्माता माधव वाग्ले हुन् ।
७० लाख रुपैयाँको बजेटमा बनेको फिल्मको बजेटलाई निर्माता कुमारले आम नेपाली फिल्मको बजेट भएको बताए । आमरुपमा यतिबेला नेपाली फिल्मको निर्माणमा करोडभन्दा बढी खर्च हुन्छ ।
विहिबारदेखि नै प्रमुख मल्टिप्लेक्सले बुकिङ पनि थालेका छन् । निर्माता कुमारले हलले आफ्नो फिल्मलाई राम्रो शोज दिएको बताए ।
+ There are no comments
Add yours