Advertisement

अमेरिकामा टिकटकको कीर्तिमानी कमाइ, वार्षिक आम्दानी १६ अर्ब डलर

0 13

Advertisement

०४ चैत, काठमाडौं । गत वर्ष सन् २०२३ मा टिकटकले अमेरिकामा १६ अर्ब डलर आम्दानी गरेको रिपोर्ट सार्वजनिक भएको छ । खासगरी किशोर किशोरी तथा युवापुस्ता (जेनेरेसन जेड) का बीचमा व्यापक लोकप्रियताले टिकटकको आम्दानी कीर्तिमानी वृद्धिमा सहयोग गरेको छ ।

अमेरिकामा टिकटकमाथि प्रतिबन्धको सम्भावना बलियो बन्दै गएको समयमा अमेरिकामा कम्पनीले गरेको आम्दानीको रिपोर्ट सार्वजनिक भएको हो ।

अमेरिकाले मुलुकभर टिकटक प्रतिबन्धका लागि संसदबाट विधेयक पारित गरेको छ । ६ महिनाभित्र चिनियाँ स्वामित्व बिक्री नगरेमा अमेरिकामा टिकटक प्रतिबन्ध हुनेगरी प्रतिनिधिसभा (हाउस अफ रेप्रिजेन्टेटिभ) बाट विधेयक पारित भएको हो ।

यसबीचमा फाइनान्सियल टाइम्सले सार्वजनिक गरेको रिपोर्ट अनुसार टिकटकको मातृ कम्पनी बाइटडान्सले गत वर्ष विश्वभरबाट १ खर्ब २० अर्ब डलर आम्दानी गरेको छ । यो सन् २०२२ को भन्दा ४० प्रतिशत धेरै हो ।

१७ करोड प्रयोगकर्ता रहेको अमेरिका टिकटकका लागि चीनपछिको ठूलो बजारको रुपमा रहेको छ । जबकि भारतमा भने सन् २०२० मै टिकटकमाथि प्रतिबन्ध लागेको थियो ।

टिकटकको मातृ कम्पनी बाइटडान्स नयाँ–नयाँ मोबाइल एपहरु सार्वजनिक गर्ने कारणले गर्दा एप फ्याक्ट्रीको नामले समेत चिनिन्छ । त्यसैले फेसबुक, इन्स्टाग्राम तथा ह्वाट्सएप जस्ता सोसल मिडिया प्लाटफर्मको स्वामित्व रहेको मेटासँग यसको प्रतिस्पर्धा छ ।

उक्त रिपोर्ट अनुसार बाइटडान्सले सर्वाधिक वार्षिक आम्दानी गर्ने सोसल मिडिया कम्पनीको रुपमा मेटालाई पछि पार्ने सम्भावना छ । गत वर्ष सन् २०२३ मा मेटा कम्पनीको आम्दानीमा १६ प्रतिशतले वृद्धि भएर १ खर्ब ३४ अर्ब ९० करोड डलर पुगेको छ । जुन बाइटडान्सको भन्दा केहीमात्रै धेरै हो ।

यसैबीच हालैमात्र सार्वजनिक एक अर्को रिपोर्ट अनुसार इन्स्टाग्रामले गत वर्ष सर्वाधिक डाउनलोड हुने सोसल मिडिया एपको सूचिमा टिकटकलाई पछि पार्दै पहिलो नम्बरमा कब्जा जमाएको छ ।

जसअनुसार गत वर्ष इन्स्टाग्राम ७६ करोड ८० लाख पटक डाउनलोड हुँदा टिकटक चाहिँ ७३ करोड ३० लाख पटक डाउनलोड भयो ।

तथापि अमेरिका मात्रैको कुरा गर्दा भने टिकटक नै गत वर्ष सर्वाधिक डाउनलोड हुने सोसल मिडिया एपको रुपमा कायम छ । सन् २०२३ मा अमेरिकामा ४ करोढ ७० लाख पटक टिकटक एप डाउनलोड हुँदा फेसबुक ३ करोड ५० लाख र इन्स्टाग्राम ३ करोड ४० लाख पटक डाउनलोड भएको छ ।

– एजेन्सी



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.