Advertisement

अमेरिकामा नेपाली धावक आयुषले तोडे २३ वर्ष पुरानो रेकर्ड

0 54

Advertisement

०२ फागुन, काठमाडौं । नेपाली एथ्लेटिक्स धावक आयुष कुँवरले अमेरिकामा २३ वर्ष पुरानो कीर्तिमान तोडेका छन् । नेपालका स्प्रिन्टर आयुषले एथ्लेटिक्सको इन्डोरमा ६० मिटर र २०० मिटर दौडमा राष्ट्रिय कीर्तिमान बनाएका हुन् ।

हाल अमेरिकामा बस्दै आएका आयुषले वासिङ्गटनको स्पोकानमा भएको विथवर्थ इन्डोर ट्रयाक एण्ड फिल्ड इन्भाइट प्रतियोगितामा इन्डोरअन्तर्गत ६० मिटर दौडमा २३ वर्ष पुरानो राष्ट्रिय कीर्तिमान भंग गरेका हुन् ।

फ्रेब्रुअरी ९ र १० मा भएको यस प्रतियोगितामा विश्व एथ्लेटिक्को सर्वोच्च निकाय वर्ल्ड एथ्लेटिक्सले स्याङसन गरेको छ ।

उनले सन् २००१ मा रामकृष्ण चौधरीले बनाएको ७.०९ सेकेण्डको कीर्तिमान ब्रेक गर्दै ७.०२ सेकेण्डको नयाँ कीर्तिमान बनाएका हुन् ।

आयुषले क्वालिफाइङ राउण्डमा रामकृष्णको कीर्तिमान बराबरी गरेका थिए भने अर्को राउण्डमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएका हुन् ।

उनले अमेरिकाको सिटी स्पीड एसएफ क्लबमा प्रशिक्षण गर्दै आएका छन् र त्यही क्लबलाई प्रतियोगितामा आमन्त्रण गरेपछि आयुषले पनि भाग लिएका थिए । उनले नेपालकै नामबाट प्रतिस्पर्धा गरेका थिए ।

६० मिटरमा दुई दशकभन्दा पुरानो राष्ट्रिय कीर्तिमान तोड्न पाउँदा खुशी लागेको आयुषले अमेरिकाबाट बताए । ‘क्वालिफाइङमा कीर्तिमान बराबरी गर्दा म एकदमै आशावादी भएको थिएँ र सेमिफाइनलमा ब्रेक नै गर्छु भनेर नै दौ८एको थिएँ । त्यसमा सफल भएँ । एकदमै गर्व लागिरहेको छ,’ आयुषले भने , ‘मैले इन्डोरमा ६० मिटर र २०० मिटर दुवैमा राष्ट्रिय कीर्तिमान बनाउने लक्ष्य राखेको थिएँ त्यसमा सफल भएँ ।’

आयुषले इन्डोर २०० मिटर दौडमा पनि ७ वर्ष पुरानो कीर्तिमान ब्रेक गर्दै २२.७९ सेकेण्डको नयाँ कीर्तिमान बनाएका छन् ।

वर्ल्ड एथ्लेटिक्सले आयुषको ६० मिटरको टाइमिङ आफ्नो आधिकारिक साइटमा अपडेट गरेपनि २०० मिटरको भने अपडेट गरेको छैन ।

यसअघि इन्डोर २०० मिटरमा सन् २०१७ मा दक्षिण कोरियामा भएको वर्ल्ड मास्टर्स च्याम्पियनसिपमा नेपालका रमेश महर्जनले २८.९७ सेकेण्डको कीर्तिमान बनाएका थिए ।

नेपाली खेलाडीले एथ्लेटिक्सको इन्डोरमा धेरै अवसर नपाउँदा लामो समयदेखि कीर्तिमान ब्रेक हुन नसकेको आयुषले बताए । उनले भने, ‘नेपाली खेलाडीले इन्डोरमा त्यति अवसर पाउँदैनन् । अहिले अमरिकामा इन्डोर सेसल चलिरहेको छ र मैले त्यसमा प्रतिस्पर्धा गर्ने अवसर पाएँ र त्यसमा मैले कीर्तिमान ब्रेक गर्न सकेँ ।’

नेपालमा इन्डोर एथ्लेटिक्स नभएपनि नेपाली खेलाडीले अन्तर्राष्ट्रिय प्रतियोगितामा मात्रै इन्डोरमा भाग लिँदै आएका छन् ।

अबको लक्ष्य १०० र २०० मिटरमा राष्ट्रिय कीर्तिमान

पछिल्लो समय आयुषले एसियन एथ्लेटिक्स च्याम्पियन र वर्ल्ड एथ्लेटिक्स च्याम्पियनसिपमा स्प्रिन्टमा भाग लिएका थिए । त्यसमा पनि उनले नयाँ राष्ट्रिय कीर्तिमान बनाउने लक्ष्य राखेका थिए तर सफल भएनन् । अब भने उनको लक्ष्य आउटडोरमा १०० मिटर र २०० मिटर स्प्रिन्टमा राष्ट्रिय कीर्तिमान बनाउने रहेको छ । ‘यहाँ अब इन्डोर सेसन सकिएको छ । अब म १०० मिटर र २०० मिटर दौडमा केन्द्रित हुन्छु र मेरो अबको लक्ष्य भनेकै १०० र २०० मिटरमा राष्ट्रिय कीर्तिमान ब्रेक गर्ने हो,’ आयुषले भने ।

आयुषले गत भदौमा हंगेरीको बुढापेष्टमा भएको वर्ल्ड एथ्लेटिक्स च्याम्पियनसिपमा पुरुष १०० मिटरको प्रारम्भिक चरणमा निर्धारित दूरी ११.०७ सेकेण्डमा पूरा गरेका थिए । त्यसअघि असारमा थाइल्याण्डको बैंककमा भएको एसियन एथ्लेटिक्स च्याम्पियनसिपमा उनले १०० मिटर दूरी ११.२० सेकेण्डमा पूरा गरेका थिए ।

१०० मिटरमा उनको व्यक्तिगत उत्कृष्ट समय भने ११.०१ सेकेण्ड हो । गत मार्चमा अमेरिकाको पालो अल्टोमा भएको कार्डिनल क्लासिक, कोब ट्रयाक एण्ड फिल्डमा उनले उक्त समय निकालेका थिए ।

पुरुष १०० मिटरमा पनि राष्ट्रिय कीर्तिमान रामकृष्ण चौधरीकै नाममा छ । उनले सन् १९९९ मा नेपालमै भएको आठौं दक्षिण एसियाली खेलकुदमा १०० मिटरमा १०.७१ सेकेण्डको राष्ट्रिय कीर्तिमान बनाएका थिए । २५ वर्ष देखि यो कीर्तिमान कसैले पनि तोड्न सकेको छैन ।

यस्तै २०० मिटरमा पनि रामकृष्णकै नाममा २१.९२ सेकेण्डको राष्ट्रिय कीर्तिमान छ ।

अब आफू यी दुई विभामा फोकस हुने र त्यसमा राष्ट्रिय कीर्तिमान ब्रेक गर्न सकेन ओलम्पिक समेत खेल्नेमा आशावादी रहेको बताए । ‘यी दुई विधामा राष्ट्रिय कीर्तिमान बनाउन सकेँ भने ओलम्पिकको आशा पनि बढ्नेछ । त्यही अनुसार ट्रेनिङ पनि गरिरहेको छु,’ उनले भने ।

उनले राष्ट्रिय कीर्तिमान बनाउनका लागि स्वस्थ हुनुपर्ने, इन्जुरी फ्रिक हुनुपर्ने पनि बताए । अमेरिकामै बसेर आफ्नो काम र एथ्लेटिक्सलाई पनि सँगै अघि बढाएका आयुष नेपालको प्रतिनिधित्व गर्दै पदक समेत दिलाउने लक्ष्यमा छन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.