Advertisement

निक्षेप संकलनको ब्याजदर उच्च

0 21

Advertisement

२० माघ, काठमाडौं । निक्षेप संकलन उपकरणको ब्याजदर यो बर्षकै उच्च विन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीबाट पछिल्ला ३ दिनमा ६६ अर्ब रुपैयाँ तरलता खिचेपछि बैंक तथा वित्तीय संस्थाबाट केन्द्रीय बैंकले लिने निक्षेपको ब्याजदर बढेको हो ।

केन्द्रीय बैंकले वित्तीय प्रणालीमा अधिक तरलता व्यवस्थापन गरी अन्तर बैंक ब्याजदरलाई स्थिर राख्नका लागि निक्षेप संकलन उपकरण प्रयोग गर्छ । पछिल्लो समयमा अन्तर बैंक ब्याजदर ब्याजदर करिडोरको तल्लो सीमाभन्दा कम भएपनि केन्द्रीय बैंकले निरन्तर तीन दिन निक्षेप संकलन उपकरण प्रयोग गर्यो । कर्जाको मागमा देखिएको कमीसँगै बैंकहरुको पुँजीकोष दबाबका कारण कर्जा विस्तार अपेक्षा गरे अनुसार हुन सकेको छैन । त्यसले वित्तीय प्रणालीमा तरलता बढाई अन्तर बैंक दर घटाएपछि केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ ।

राष्ट्र बैंकले यो साताको मंगलबार, बुधबार र बिहीबार गरेर बैंक तथा वित्तीय संस्थाबाट ६६ अर्ब ३० करोड रुपैयाँ निक्षेप लिएको छ । केन्द्रीय बैंकले विगतमा लिएको निक्षेप परिपक्व हुने हुँदा झनै तरलता बढ्ने भएपछि ब्याजदर बढाएर वित्तीय प्रणालीको तरलता खिचेको हो ।

केन्द्रीय बैंकले मंगलबार र बुधबार आफुले मागे जति निक्षेप बैंक तथा वित्तीय संस्थाबाट लिएको छ । तर, बिहीबार तरलताको अवस्था केही कसीलो भएपनि बैंक तथा वित्तीय संस्थाले ब्याजदर बढाए । बिहीबार २० अर्बको माग गर्दा बैंक तथा वित्तीय संस्थाले १७ अर्ब ४० करोड मात्रै निक्षेप दिन तयार भएका थिए । त्यसमा पनि केन्द्रीय बैंकले ब्याजदर केही बढाएर भएपनि १६ अर्ब ४० करोड रुपैयाँ निक्षेप लिएको छ ।

बिहीबार बैंक तथा वित्तीय संस्थाले न्यूनम ब्याजदर नै ३ प्रतिशतभन्दा माथि माग गरेका छन् । बैंकहरुले माग गरेको न्यूनतम ब्याजदर पनि यो वर्षकै उच्च हो । बिहीबार बैंक तथा वित्तीय संस्थाले न्यूनतम माग गरेको ब्याजदर ३.०५०० प्रतिशत रहेको छ । त्यसैगरी उक्त निक्षेप संकलनको अधिकतम ब्याजदर ३.३५०० प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ ।

केन्द्रीय बैंकका अनुसार बिहीबारको निक्षेप संकलनको औसत ब्याजदर ३.१८५३ प्रतिशत कायम भएको छ । यो औसत ब्याजदर यो वर्षकै उच्च हो । यसभन्दा अघि निक्षेप संकलनको औसत ब्याजदर ३.१४१९ प्रतिशतसम्म पुगेको थियो ।

केन्द्रीय बैंकले अन्तर बैंक दर ब्याजदर करिडोरको तल्लो सीमाभन्दा कम भएमा निक्षेप संकलन उपकरण मार्फत तरलता खिच्छ । निक्षेप संकलन उपकरण मार्फत तरलता खिच्दा केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई ब्याजदर दिनु पर्ने हुन्छ । ब्याजदर करिडोरको तल्लो सीमा निक्षेप संकलन उपकरणको ब्याजदर नै हो । त्यसैले अन्तर बैंक दर निक्षेप संकलन दरभन्दा कम भएको अवस्थामा केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणको प्रयोग गर्छ ।

राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाको पछिल्लो अन्तर बैंक दर २.९३ प्रतिशत रहेको छ । त्यसैगरी बिहीबारको निक्षेप संकलनको औसत ब्याजदर ३.१८५३ प्रतिशत रहेको छ । बिहीबार निक्षेप संकलन उपकरणपछि अन्तर बैंक ब्याजदर पनि निश्चित रुपमा बढेको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.