Advertisement

आइएमएफले अप्रत्याशित ‘लचिलोपन’ लाई उद्धृत गर्दै विश्वव्यापी वृद्धि प्रक्षेपण हटायो

0 6

Advertisement

१७ माघ, काठमाडाैं । अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) ले विश्वभरका प्रमुख उन्नत र उदीयमान बजार अर्थतन्त्रमा अप्रत्याशित ‘लचिलोपन’ लाई उद्धृत गर्दै आफ्नो सन् २०२४ को वैश्विक वृद्धि प्रक्षेपणलाई बढाएर तीन दशमलव एक प्रतिशत बनाएको मङ्गलबार घोषणा गरेको छ ।

पछिल्लो विश्व आर्थिक दृष्टिकोण (डब्लुइओ) प्रतिवेदनमा जारी अद्यावधिक आँकडा अक्टोबरमा आइएमएफको पछिल्लो प्रक्षेपणभन्दा शून्य दशमलव दुई प्रतिशत अङ्कले बढी छ । आइएमएफका प्रमुख अर्थशास्त्री पियरे–ओलिभियर गौरिन्चसले प्रतिवेदन प्रकाशनअघिको पत्रकार सम्मेलनमा भने, “हामीसँग एकैसाथ कम मुद्रास्फीति र अधिक वृद्धि दर थियो ।” उनले चीन, रुस, ब्राजिल र भारतसहितका मुलुकहरूमाथि प्रकाश पार्दै भने, “यो अमेरिकाको मात्र कथा होइन, गत वर्ष र सन् २०२४ सम्म विश्वका कयौँ भागमा धेरै लचिलोपन थियो ।”

सुधार भए पनि उच्च ब्याजदरको निरन्तर प्रभाव, महामारीसँग सम्बन्धित सरकारी समर्थन फिर्ता हुनु तथा उत्पादकत्वको निरन्तर न्यूनस्तरका कारण यस वर्ष र आगामी वर्ष वैश्विक वृद्धि तीन दशमलव आठ प्रतिशतको हालको औसतभन्दा तल रहने अनुमान गरिएको छ ।

सात मुलुकको समूह (जी७) को उन्नत अर्थतन्त्रहरूमध्ये युरोपेली मुलुकहरूमा वृद्धि कमजोर रहने देखिन्छ । यसले विद्यमान चुनौतीहरूलाई प्रतिविम्बित गर्दछ । जापान र क्यानाडाको प्रदर्शन केही राम्रो रहने अपेक्षा गरिएको छ ।

आइएमएफको समग्र मुद्रास्फीति दृष्टिकोण सन् २०२४ का लागि पाँच दशमलव आठ प्रतिशतमा अपरिवर्तित रहेको छ तर यसले धनी र गरिब मुलुकहरूबिच महत्त्वपूर्ण अन्तरनिहित परिवर्तनलाई लुकाएको छ ।

उन्नत अर्थतन्त्रहरूमा मुद्रास्फीति सन् २०२४ मा दुई दशमलव छ प्रतिशत हुने अनुमान छ । यो अक्टोबरमा गरिएको प्रक्षेपणको तुलनामा शून्य दशमलव चार प्रतिशत अङ्क कम हो । उदीयमान र विकासशील अर्थतन्त्रहरूमा वार्षिक मुद्रास्फीति दर शून्य दशमलव तीन प्रतिशतले बढेर आठ दशमलव एक प्रतिशत हुने अपेक्षा गरिएको छ ।

अधिकांश वृद्धिको श्रेय अर्जेन्टिनामा जारी समस्यालाई दिन सकिन्छ । त्यहाँ जारी आर्थिक सङ्कटका बिच गत वर्ष उपभोक्ता मूल्य दुई सय प्रतिशतभन्दा धेरैले बढेको थियो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.