Advertisement

बुक बिल्डिङमा रिलायन्स स्पिनिङको ‘कटअफ’ मूल्य ९१२ रुपैयाँ

0 9

Advertisement

१५ माघ, काठमाडौं । बुक बिल्डिङबाट खुलेको रिलायन्स स्पिनिङको प्राथमिक सेयर (आईपीओ)मा संस्थागत लगानीकर्ताले दिएको बोलपत्र आवेदन खोलिएको छ । माघ १० देखि १४ गतेसम्म संस्थागत लगानीकर्ताले मूल्य तोकेर गोप्य शिलबन्दी बोलपत्र आवेदन दिएका थिए । सो बोलपत्र आवेदनअनुसार संस्थागत लगानीकर्ताहरुले अधिकतम मूल्य ९१२ रुपैयाँमा ठूलो कित्ता सेयर माग गर्दै आवेदन दिएको पाइएको छ ।

नेपाल स्टक एक्स्चेन्ज स्रोतका अनुसार प्रतिकित्ता ९१२ रुपैयाँका दरले संस्थागत लगानीकर्ताले दिएको मूल्यले नै सम्पूर्ण सेयर कभर हुने भएपछि कटअफ मूल्य ९१२ रुपैयाँ हुने भएको छ । अहिले भुक्तानी क्लियरिङको काम भइरहेको छ, कटअफ मूल्य ९१२ रुपैयाँ नै हुने निश्चित देखिएको छ । संस्थागत लगानीकर्तालाई न्यूनतम मूल्य प्रतिकित्ता ६०८ रुपैयाँदेखि अधिकतम मूल्य ९१२ रुपैयाँसम्मको रेञ्ज प्रदान गरिएको थियो ।

बुक बिल्डिङमा कटअफ मूल्यको १० प्रतिशत घटाएर सर्वसाधारणका लागि सेयर जारी गर्नुपर्ने व्यवस्था छ । सो व्यवस्थाअनुसार सर्वसाधारणलाई यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसा पर्नेछ ।

कम्पनीले जम्मा ७ लाख ७० हजार ६४० कित्ता सेयर पहिलो चरणमा संस्थागत लगानीकर्ताका लागि बिक्री खुलाएको थियो । कम्पनीले जारी पूँजी १ अर्ब ९० करोड रुपैयाँको १०.१४ प्रतिशत अर्थात् १९ लाख २६ हजार ६ सय कित्ता साधारण सेयर जारी गर्नेछ । बाँकी ११ लाख ५५ हजार ९६० कित्ता सेयर पछि सर्वसाधारणका लागि जारी हुनेछ ।

इटहरीमा यस कम्पनीको धागो कारखाना सञ्चालनमा छ । कम्पनीले सो धागो देशभरका विभिन्न कपडा उद्योगहरुलाई बिक्री गर्ने तथा भारत लगायत तेस्रो मुलुकमा पनि निर्यात गर्ने गरेको जनाएको छ । गत असार मसान्तसम्म कम्पनीको प्रतिसेयर नेटवर्थ २४८ रुपैयाँ ६७ पैसा छ । त्यस्तै प्रतिसेयर आम्दानी ५४ रुपैयाँ ३४ पैसा र सञ्चित नाफा ५ अर्ब ६३ करोड रुपैयाँ रहेको विवरणपत्रमा उल्लेख छ । साधारण लगानी फिर्ता हुने अवधि ६.८८ वर्ष प्रक्षेपण गरिएको छ । कम्पनीका अध्यक्ष पवनकुमार गोल्यान हुन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.