आयोगले आज चुनाव चिन्ह प्रदान गर्दै
०१ पुष, काठमाडौं । निर्वाचन आयोगले आज दलहरुलाई चुनाव चिन्ह प्रदान गर्दै छ । आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आयोगले चुनाव चिन्ह प्रदान गर्न लागेको हो ।
दल दर्ताको अन्तिम दिन शुक्रबारसम्ममा १२ दलले निवेदन दिएको आयोगले जनाएको छ । दर्ता भएका तिनै दलले चुनाव चिन्ह पाउने आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए ।
पुस ४ गते दर्ताको सूची राजपत्रमा प्रकाशनका लागि पठाइने आयोगको कार्यतालिकामा उल्लेख छ ।
फागुन २० गतेदेखि राष्ट्रियसभा सदस्यका २० पद रिक्त हुँदै छ । माघ ११ गते १९ पदका निम्ति निर्वाचन हुनेछ । एक पदमा भने राष्ट्रपतिले मनोनयन गर्नेछन् ।