Advertisement

निष्कृय कर्जा बढेको हिमालयन बैंकको नाफा १ अर्ब नाघ्यो

0 36

Advertisement

१७ असोज, काठमाडौं । मर्जरपछि गत असार मसान्तमा सञ्चित नोक्सानीमा रहेको हिमालयन बैंकले चालु आर्थिक वर्ष २०७०/८१ को प्रथम त्रैमासमा भने सुधारउन्मुख वित्तीय विवरण प्रकाशित गरेको छ । गत आर्थिक वर्ष २०७९-८० को प्रथम त्रैमासको तुलनामा निष्कृय कर्जामा उल्लेख्य वृद्धि भएपनि गत असारमा नै बैंकले ठुलो मात्रामा प्रोभिजन गरेकोले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा हिमालयन बैंकको सम्भावित कर्जा नोक्सानी वापतको प्रोभिजन सामान्य मात्रै बढेको छ । जसले गर्दा खुद ब्याज आम्दानीमा वृद्धिसँगै बैंकको नाफा पनि बढेको छ ।

गत आर्थिक वर्षको तेस्रो त्रैमासमा सिभिल बैंकलाई गाभेर एकीकृत कारोबार गरेको हिमालयन बैंक र सिभिल बैंकले गत वर्षको प्रथम त्रैमासमा गरेको प्रोभिजनसहित हेर्दा भने चालु आर्थिक वर्षको प्रथम त्रैमासमा बैंकको प्रोभिजन घटेको छ । मर्जरको प्रोत्साहनको लागि स्प्रेड दर केही माथि हुँदा खुद ब्याज आम्दानीमा वृद्धि देखिएको हो ।

चालु आर्थिक वर्ष २०८०-८१ को प्रथम त्रैमासमा बैंकले १ अर्ब ५ करोड ६२ लाख रुपैयाँ मुनाफा आर्जन गरेको वित्तीय विवरण प्रकाशित गरेको छ । जुन गत आर्थिक वर्षमा हिमालयन बैंकले सिभिल बैंकलाई गाभ्नु अगाडि कमाएको नाफाभन्दा ९८.३६ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको प्रथम त्रैमासमा हिमालयन बैंकले ५३ करोड २५ लाख र सिभिल बैंकले ४१ करोड ५१ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो । यस आधारमा बैैंकको मुनाफा केही बढेपनि उल्लेख्य वृद्धि भने होइन ।

नेपाल राष्ट्र बैंकले मर्जरमा गएको बैंकलाई एकिकृत कारोबार गरेको मितिले १ वर्षसम्म थप एक प्रतिशत स्प्रेड दर कायम गर्न पाउने व्यवस्था गरेको छ । जसले गर्दा बैंकको स्प्रेड दर राष्ट्र बैैंकले तोकेको अधिकत ४ प्रतिशतको सीमाभन्दा माथि ४.८६ प्रतिशत छ । सोही कारण बैंकको खुद ब्याज आम्दानी पनि बढेर ३ अर्ब १८ करोड पुगेको छ ।

गत आर्थिक वर्ष मर्जर अगाडि बैंकले प्रथम त्रैमासमा १ अर्ब ८१ करोड खुद ब्याज आम्दानी गरेको थियो । यस आधारमा बैंकको खुद ब्याज आम्दानी ७५.८६ प्रतिशले बढेको छ । तर, मर्जर अगाडि प्रथम त्रैमासमा सिभिल बैंकले पनि १ अर्ब १५ करोड खुद ब्याज आम्दानी गरेको थियो ।

गत आर्थिक वर्षको प्रथम त्रैमासमा दुबै बैंकले आर्जन गरेको खुद ब्याज आम्दानीभन्दा चालु आबको सोही अवधिमा बैंकले आर्जन गरेको खुद ब्याज आम्दानी बढेको छ ।

दुबै बैंकले गत आर्थिक वर्षको प्रथम त्रैमासमा गरेको प्रोभिजनभन्दा चालु आर्थिक वर्षको प्रथम त्रैमासमा मर्जरपछिको हिमालयन बैंकले गरेको प्रोभिजन घटेको छ । चालु आबकको प्रथम त्रैमासमा हिमालयन बैंकले ७५ करोड प्रोभिजन गरेको छ । तर, गत आबको प्रथम त्रैमासमा हिमालयन बैंकले करिब ६६ करोड र सिभिल बैंकले करिब १४ करोड गरी ८० करोडभन्दा माथि प्रोभिजन गरेका थिए । प्रोभिजनमा केही कमी र खुद ब्याज आम्दानीमा वृद्धि हुँदा बैंकको नाफा बढेको हो ।

बैंकको व्यवसाय पनि गत असार मसान्तको तुलनामा चालु आर्थिक वर्षको प्रथम त्रैमासमा सामान्य बढेको छ । बैंकको निक्षेप १.८४ प्रतिशतले बढेर २ खर्ब ८० अर्ब पुग्दा कर्जा लगानी २.१७ प्रतिशतले बढेर २ खर्ब ३० अर्ब पुगेको छ ।

गत आर्थिक वर्षको प्रथम त्रैमासमा २.३१ प्रतिशत रहेको हिमालयन बैंकको निष्कृय कर्जा चालु आर्थिक वर्षको सोही अवधिमा बढेर ४.६७ प्रतिशत पुगेको छ ।

हिमालयन बैंक र सिभिल बैंक मर्जरपछिको हिमालयन बैंकको चुक्ता पूँजी २१ अर्ब ६५ करोड ६६ लाख पुगेको छ । गत वर्षमा दुई बैंकले कमाएको नाफा भन्दा एकीकृत बैंकको नाफा बढ्दा हिमालयन बैंकको प्रतिसेयर आम्दानी १६ रुपैयाँ २१ पैसाबाट बढेर १९ रुपैयाँ ५१ पैसा पुगेको छ । असोज मसान्तमा बैंकको सञ्चित नोक्सानी १ अर्ब ८५ करोड ८४ लाख र जगेडा कोष १७ अर्ब ७ करोड ७४ लाख रुपैयाँ छ । चालु आर्थिक वर्षको प्रथम त्रैमासमा मात्रै बैंकको १ अर्ब ६८ करोड भन्दा बढी ब्याज उठ्न बाँकी रहेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १७० रुपैयाँ २७ पैसा र मूल्य आम्दानी अनुपात १०.३० गुणा छ ।

असोजमा बैंकको पूँजीकोष अनुपात १२.४१ प्रतिशत, कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८४.३९ प्रतिशत र आधार दर १०.८६ प्रतिशत रहेको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.