Advertisement

बजारको नाडी छामेर बनाइएको सिनेमा

0 17

Advertisement

०६ कार्तिक, काठमाडौं । चलचित्र ‘पशुपति प्रसाद’ हेर्नेलाई क्लाइमेक्स सिन यादै होला । पशुपतिप्रसादले भेट्टाएको सुनको औँठीमा सुन पसलेले आँखा गाडेपछि पशुपतिप्रसाद (खगेन्द्र लामिछाने)को हत्या गरिन्छ । उसलाई पर्खिएर बसेकाको छटपटी र भष्मे (विपीन कार्की)ले जिन्दगीप्रति गरेको ‘रियलाइज’सँगै सिनेमा ‘पशुपतिप्रसाद’ सकिन्छ ।

वियोगान्त मौलिक कथामा आफ्नै कथ्यशैली प्रयोग गरिएको सिनेमा समीक्षक र दर्शक दुवैले मन पराए । यसका निर्देशक, लेखक र निर्माताले सात वर्षपछि सिक्वेल बनाए । नाम राखे– पशुपतिप्रसाद–२ : भष्मे डन । यो अहिले सिनेमा हलमा प्रदर्शनरत छ ।

पशुपतिप्रसादको मृत्युपछि पशुपति क्षेत्रमा आफ्नो अस्तित्व स्थापित गर्न संघर्षरत भष्मे डनको जीवनमा एउटा पात्रको प्रवेश हुन्छ । यसपछि सुरु भएको परिचय र आत्मसम्मान अनि शक्तिसंघर्षको कथा नै ‘पशुपतिप्रसाद–२ : भष्मे डन’को मुख्य कथा हो ।

‘पशुपतिप्रसाद’को क्लाइमेक्समा जिन्दगीलाई ‘रियलाइज’ गर्ने भष्मे डनको कथा यो सिनेमाले भन्छ । अथवा, यो सिनेमा स्पिनअफ हो । अघिल्लो सिरिजको मुख्य पात्र भष्मे डनको कथालाई लिएर बनाइएको चलचित्र हो । ‘पशुपतिप्रसाद–२ : भष्मे डन’ ‘पशुपतिप्रसाद’मा जस्तै उट्पट्याङ छ कि साँच्चै सुध्रियो ? मुख्य पात्रको निधन भइसकेको अवस्थामा कथा कसरी अगाडि बढ्छ ? अरू को–को पात्रको प्रवेश कसरी हुन्छ ? यसकै वरिपरि ‘पशुपतिप्रसाद–२ : भष्मे डन’को कथा घुम्छ ।

केन्द्रीय चरित्रमा भष्मे डन छ । कालीप्रसादको भूमिकामा सौगात मल्ल भित्रिएका छन् । माताको भूमिकामा ‘मैना’ अर्थात् स्वस्तिमा खड्का छिन् ।

भष्मे डनले पशुपति एरिया आफ्नो ठान्छ । उसलाई साथ दिने केटाहरू छन् । तर, उसले आफैँले एउटा प्रतिज्ञा गरेको छ । उसको आफ्नै शब्दमा भन्दा ‘व्रत’ । उसको प्रतिज्ञाले कालीप्रसादलाई सहज भएको छ, तर कसरी ?

मैना मास्क र छुट्टै पहिरनमा छिन् । उनी एक ठाउँमा भन्छिन्– म डान्सबारमा नाच्थेँ । एउटै मान्छे पनि दुईवटा मान्छे हुन सक्दो रहेछ भनेर त्यही बेला थाहा पाएको हुँ मैले । गाउँको सोझो केटीलाई आस देखाएर ल्याएको त्यो असत्तीले । ‘ओइ, जाने हो ! कति लिन्छेस् ?’ बचाएँ एक दिन आफूलाई अनि सकिनँ । झुटा सपना देखाउने त्यो असत्तीले जिन्दगीमा कहिल्यै बाटो पाउँदैन । 

एक ठाउँमा भष्मे भन्छ– मैले व्रत तोडेको भए तँ वाग्मतीको भ्यागुताको डाइट भैसक्थिस् ! हेर्, अझै पनि केही बिग्रिएको छैन । आइज, शान्ति वार्ता गरौँ । 

सिनेमामा कालीप्रसादको एउटा डाइलग छ– बहुत भयो तेरो व्रत र वार्ता । जिन्दगीमा अशान्ति मच्चा’र साला शान्ति वार्ता भन्छ ! 

यी संवादले चरित्र कस्ता छन् मोटामोटी संकेत मिल्छ ।  चलचित्रमा संघर्ष छ । आकर्षण र समर्पण छ । संवेदना र पीडा छ । बाध्यता र छटपटी छ, जसले दर्शकलाई बाँधेर राख्छ । हँसाउँछ । जिन्दगी के हो सोच्न बाध्य पनि बनाउँछ ।

जिन्दगी एक चक्र हो । जसरी हरेक मान्छे जन्मिन्छ र अन्त्यमा घाटमा पुगेर धुवाँमा विलीन हुन्छ, जिन्दगीको त्यस्तै चक्र सिनेमामा देखाइएको छ । भष्मे र कालीप्रसादको पात्र, उनीहरूको अवस्था, संघर्ष र परिबन्दको चक्रमा समय, सन्दर्भ र पात्रबाहेक खासै ठूलो भिन्नता छैन । मितबा (प्रकाश घिमिरे) र चन्द्रबहादुर (लोकेन्द्र लेखक)का दुःखमा तात्त्विक भिन्नता पनि त्यति धेरै छैन । भलै, त्यसको सुरुआतको कारण जेसुकै होस् । 

सिनेमाको कथा आमनेपालीको घटनासँग जोडिन्छ । समाजका निम्नवर्गका आमचरित्रलाई सिनेमाका पात्रले प्रतिनिधित्व गर्छन् ।

तर, पात्र स्थापित गर्न सिनेमामा कन्जुस्याइँ गरिएको छ । कालीप्रसाद कुन बाध्यतामा छ र त्यसका निम्ति उल्टोसुल्टो काम गर्छ त्यो त स्पष्ट छ, तर त्यसको कारण के हो ? सिनेमाले भन्दैन । माता किन माता बनिन्, त्यो सिनेमाले भन्छ । तर, के कति कारणले उनी घरपरिवार छोडेर सुन्दर सपनाका निम्ति काठमाडौं आइन्, त्यसको भेउ पाउन कठिन छ । उनी किन मास्क लगाएर हिँड्छिन्, थाहा छैन । जबकि, अघिल्लो सिरिजमा हनुमानले हनुमानको मास्क र वस्त्र पहिरिनुको स्पष्ट कारण थियो ।

मितबा किन दोहोरो चरित्रमा छन् ? अघिल्लो सिरिजको हनुमानको बोली र व्यवहारमा किन इमानदारिता छैन ? शोभाकान्त किन निर्दयी छ ? थाहा पाइँदैन ।

तर, करिबकरिब उस्तै समस्याबाट आमनिम्नवर्गीय समाज गुज्रिरहेको यथार्थ सिनेमामा सुन्दर ढंगले देखाइएको छ । मधेस होस् वा सुदूरपहाड सबै अभावको दलदलमा रहेको तथा त्यसको मुक्तिका निम्ति काठमाडौं आइपुग्ने र यहाँ समस्या नसुल्झिएपछि आर्यघाटको वरिपरि घुम्ने गरेको सत्यलाई सिनेमामा देखाइएको छ । आर्यघाटको वरिपरि घुम्ने चरित्रले वास्तवमै जीवन हमेसा त्यसकै नजिक छ भन्ने पनि बुझिन्छ ।

यति हुँदाहुँदै पनि मध्यान्तरअघि चलचित्र दोस्रो हाफको तुलनामा केही ढिलो अगाडि बढ्छ । भष्मे डनको क्यारेक्टर अनावश्यक ठाउँमा आइरहेको अनुभूत हुन्छ ।

‘भष्मे डन’ स्थापित पात्र भइगयो । ‘कालीप्रसाद’ यो सिनेमाको हिरो हो । अक्सर सिनेमामा लाउड सुनिने सौगात यो चलचित्रमा अभिनयका हिसाबले हिरो हुन् । सिनेमाका कति सिन अनुत्तरित छन् । त्यसको रहस्य अर्को सिक्वेलमा खुल्न सक्छ । तर, अनुभवी र कुशल लेखक एवं निर्देशक त्यही हो, जसले एउटै सिनेमामा हररहस्यको कारण बताउन सक्छ । हरेक चलचित्र आफैँमा पूर्ण हुनुपर्छ ।

सिनेमेटोग्राफीमा मिहिनेत देखिएको छ । विशेष गरी रातिका सिनहरू राम्रा लाग्छन् ।

ब्याकग्राउन्ड स्कोरले सिनेमा पशुपति क्षेत्रमा खिचिएको स्पष्ट संकेत गर्छ । ब्याकग्राउन्ड स्कोरमा मौलिकता देखिन्छ । सिंक साउन्ड छ । सिंक साउन्डले कथा भन्न सहयोग गरेको छ । तर, मुख्य पात्र भष्मे डनको स्वर ‘पशुपतिप्रसाद’मा जस्तो स्पष्ट छैन । भासिएको स्वर भए पनि ‘पशुपतिप्रसाद’मा स्पष्ट सुनिएको थियो । योपटक ठाउँठाउँमा स्वरले विपीनलाई साथ दिएको छैन । 

सस्पेन्स र थ्रिलर त हैन ‘पशुपतिप्रसाद–२ : भष्मे डन’ कथा सस्पेन्स राख्न, तर कतिपय ठाउँमा सजिलै सस्पेन्स क्रिएट गर्न सकिने ठाउँ हुँदाहुँदै लेखकले त्यसो गरेका छैनन् । रियालिस्टिक सिनेमाभित्र पनि फिक्सन हुन्छ नै । लेखकलाई यसको स्वतन्त्रता पनि छ । यसमा पनि फिक्सन छ । तर, फिक्सनलाइज गरेर थप सुन्दर सिनेमा बनाउन सकिने ठाउँमा मिहिनेत कम छ ।

‘पशुपतिप्रसाद’ बजारभन्दा पनि निर्देशकले मनबाट बनाएको सिनेमा थियो । योपटक निर्देशकले बजारलाई समेत केन्द्रमा राखेका छन् । समीक्षकलाई रचनात्मक आलोचना गर्ने ठाउँ छोडिएको छ ।

सिनेमाले हँसाउँछ । दर्शकले भष्मेको चरित्र मन पराउँछन्, रमाइलो मान्छन् । योपटक निर्देशकले बजार र दर्शकको नाडी छामेर रमाइलो सिनेमा बनाएका छन् ।
० ० ०
निर्देशक : दीपेन्द्र के खनाल
लेखक : खगेन्द्र लामिछाने
निर्माता : खगेन्द्र लामिछाने
कलाकार : विपीन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का, सजन थापा मगर आदि । 



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.