Advertisement

पूर्व राजा शाहलाई खनालको चेतावनी–गुण्डागर्दी बन्द नगरे तिम्रा कुनै पनि कार्यक्रम हुन दिन्नौं

0 24

Advertisement

१८ जेठ, काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले पूर्वराजा ज्ञानेन्द्र शाहको आलोचना गर्दै देशमा गुण्डागर्दै सह्य नहुने चेतावनी दिएका छन्। बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले देशमा गुण्डागर्दी गर्दै हिँड्ने इच्छा पूरा हुन नदिने बताए।

उनले राजाका मान्छेहरुले आफूविरुद्ध नाराबाजी लगाएकोप्रति आक्रोशित हुँदै राप्रपाको अध्यक्ष बनेर प्रतिष्पर्धामा आउन चुनौती दिए। उनले भने, ‘अहिले गणतन्त्र र गणतन्त्रका लागि लड्ने नेताहरुलाई बदनाम गर्न अभियान नै सुरु भएको छ। उनीहरुका विभिन्न कार्यक्रमलाई विथोल्ने क्रियाकलाप हुन थालेका छन्। आजको कार्यक्रममा आउँदा पनि सोच्दै थिएँ। कतै यहाँ मण्डले गुण्डाहरु त प्रवेश गर्ने होइनन् भनेर।’

उनले पञ्चायत कालमा लोकतन्त्रका लागि लड्नेहरुमाथि मण्डलेहरुले आक्रमण गर्ने गरेको स्मरण गर्दै अहिले तीनै मण्डलेहरु ब्यूँताउने कोसिस भइरहेको बताए। उनले भने, ‘हिजो पञ्चायतकालमा लोकतन्त्रका लागि, राष्ट्रियताका लागि, न्यायका लागि लड्नेहरुकाविरुद्ध त्यतिबेलाका मण्डलेहरु आक्रमण गर्थे। तिनै मण्डलेहरु ब्यूँताउन कोसिस भएको छ। ज्ञानेन्द्र राजा जिन्दावाद भन्छन् एकातिर, अर्कोतिर लोकतन्त्रकाविरुद्ध लड्ने योद्धाकाविरुद्ध तथानाम गर्छन्।’

उनले यस्ता गुण्डागर्दी बन्द नगरिए पूर्व राजा ज्ञानेन्द्र शाहका कुनै पनि कार्यक्रम हुन नदिने चेतावनीसमेत दिए। प्रतिस्पर्धा गर्ने भए राजनीतिक दलको अध्यक्ष बनेर आउन चुनौती दिँदै नेता खनालले यस्ता अराजक गतिविधि नरोके देशव्यापी रुपमा कुनै पनि कार्यक्रम गर्न नदिने चेतावनी दिए।

नेता खनालले भने, ‘गुण्डागर्दी गर्ने काम बन्द गर। बन्द गर्दैनौ भने हामी देशव्यापी एउटा पनि कार्यक्रम हुन दिँदैनौं। यो कुरा सुनिराख। ज्ञानेन्द्र शाहले सुन्नुपर्ने कुरा हो यो। म ज्ञानेन्द्र शाहलाई भन्न चाहन्छु। तिम्रा यी स–साना सेनालाई मैले भन्नुपर्ने छैन। तिनीहरुले टिट फर ट्याट पाउँछन्। जहाँ जे गर्छन्, त्यही फिर्ता लिनुपर्ने स्थिति आउँछ। तर, ज्ञानेन्द्र शाहलाई भन्छु, खबरदार, यदि गुण्डागर्दी गर्ने, अराजकता मच्चाउने इच्छा छ भने यो इच्छा पूरा हुनेवाला छैन। अहिले नै हिसावकिताव हुन्छ।’

नेता खनालले पूर्व राजा शाहलाई नारायणहिटी दरबारमा गएर मुकुट लगाउने सपना देखेको छ भने त्यो दिउँसै आकाशतिर हेरेको दिवास्वप्नबाहेक केही नभएको बताएका छन्। उनले एकपटक जन्मिसकेको बालक फेरि गर्भमा पस्न नसक्ने दाबी गरे।

उनले भने, ‘तपाईंलाई थाहा हुनुपर्छ। एकपटक जन्मिसकेको बालक फेरि गर्भमा पस्न सक्दैन। अब राजा भन्ने शब्द केही मान्छेको नाममा सीमित हुनेछ। जस्तो राजा शाक्य। मेरै टोलमा हुनुहुन्छ। तर, राजतन्त्र यो देशमा फर्किनेवाला छैन। मन्दिर मन्दिर नगए पनि हुन्छ। अभिनन्दन नखाए पनि हुन्छ। केही काम छैन। राप्रपालाई दुई चार भोट बढाइदिनु छ भने बढाइदिनु। तर, विभिन्न ढंगका हर्कत गरेर लोकतन्त्रमा प्रश्न उठाउने कुनै कुरा जनताले सहँदैन।’

पूर्वप्रधानमन्त्री खनालले सर्प पालन प्रकरणमा आफ्नो कुनै अनियमितता भेटे आफू सजाय भोग्न तयार रहेको र कुनै पनि भ्रष्टाचारका मुद्दामा आफूबाटै अनुसन्धान सुरु गर्न आग्रह गरे।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.