Advertisement

माओवादीले गठबन्धन तोडे सम्हाल्न एमाले तयार

0 85

Advertisement

०९ पुस, काठमाडौं । ठुलो दल नेपाली कांग्रेसले सरकार गठनका लागि आन्तरिक तयारी गरिरहेका बेला सहयात्री अर्को दल माओवादी केन्द्र भने प्रधानमन्त्री पद नपाए वर्तमान सत्ता गठबन्धन तोड्न तयार देखिएको छ। नयाँ बन्ने सरकारको नेतृत्व पहिलो अढाइ वर्ष पुष्पकमल दाहालले गर्ने भनी निर्वाचनअघि नै मौखिक सहमति भएको र सहमति कार्यान्वयन गर्न कांग्रेसले आनाकानी गरे गठबन्धन टुट्ने संकेत माओवादी नेताले दिएका हुन्। ‘पहिलो प्राथमिकता गठबन्धनबाटै प्रधानमन्त्री हुने हो तर कांग्रेसले आनाकानी गरे विकल्प खोज्नुपर्ने बाध्यता हुनेछ,’ माओवादीका एक पदाधिकारीले भने। ती पदाधिकारीका अनुसार बिहीबार र शुक्रबार यसै विषयमा घनीभूत छलफल भएको छ।

माओवादी केन्द्रका अध्यक्ष दाहालले बिहीबार साँझ नयाँ बन्ने सरकारको सुरुको आधा कार्यकाल आफूले नेतृत्व गर्न पाउनुपर्ने भन्दै कांग्रेस सभापति देउवालाई यसअघिको मौखिक सहमति कार्यान्वयन गर्न आग्रह गरेका थिए। तर शुक्रबारसम्म कांग्रेसले यसबारे माओवादीलाई कुनै जवाफ दिएको छैन। वर्तमान सत्ता गठबन्धनबाट माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी (नेकपा एस) ले समेत आफूलाई सघाउने माओवादीको दाबी छ। तर कांग्रेसले राष्ट्रपतिसहित सुरुमा प्रधानमन्त्री बन्न पाउनुपर्ने दाबी छाडेको छैन।

सरकार गठनका लागि गृहकार्य र संवाद भइरहेका बेला एमाले नेतृत्वले माओवादी सत्ता गठबन्धन तोडेर आए ऊसँग सहकार्य गरी सरकार गठन गर्न सकिने सन्देश दिएको छ। एमाले महासचिव शंकर पोखरेलले पनि शुक्रबार वामपन्थीहरू एकै ठाउँमा उभिनुपर्ने बेला आएको बताएका छन्। सुर्खेतमा आयोजित एक कार्यक्रममा उनले वामपन्थी शक्तिहरू एकजुट हुनुपर्ने बताउँदै माओवादीले गठबन्धन तोडे आफूहरू छलफल गर्न तयार रहेको बताए। ‘अहिले मुलुकमा राजनीतिक अस्थिरता र अराजकता बढ्दै गएको छ। मुलुकलाई बलियो राष्ट्रिय शक्ति आवश्यक छ। वर्तमान सत्ता गठबन्धनको कुनै लक्ष्य छैन। त्यसैले वामपन्थीहरू एक ठाउँमा उभिनुपर्छ,’ पोखरेलले भने। एमाले र माओवादी मिलेर सरकार बनाउने चर्चा चलिरहेका बेला महासचिव पोखरेलले वामपन्थी एकजुट हुनुपर्ने धारणा राखेपछि राजनीतिक वृत्त झनै तरंगित बनेको छ।

प्रधानमन्त्री शेरबहादुर देउवाको प्रतिनिधिका रूपमा शुक्रबार बिहान कांग्रेस नेता प्रकाशमान सिंहले माओवादी अध्यक्ष दाहाललाई उनकै निवास खुमलटार पुगेर भेटेका छन्। सिंहले पहिलो आधा कार्यकाल देउवालाई प्रधानमन्त्री बनाए दोस्रो आधा कार्यकाल स्वतः दाहालको पालो आउने भन्दै फकाउने कोसिस गरेका थिए। उनले दाहाललाई सत्य तथा मेलमिलाप आयोगमा परेका उजुरी र द्वन्द्वपीडितहरूको समस्या देखाएर आयोगबाट पीडितहरूको मुद्दा टुंग्याउने र त्यसपछि प्रधानमन्त्री बनाउने भनी सत्ता समीकरणका लागि सहजीकरण गर्न खोजेका थिए। तर दाहाल आफ्नो अडान छाड्न तयार भएनन्। उनले यसअघिको मौखिक सहमति कार्यान्वयन गर्न आग्रह गर्दै अहिलेको अवस्थामा आफू प्रधानमन्त्री हुनबाट पछि हट्ने पक्षमा नरहेको जवाफ दिएका थिए। तर सिंहले कांग्रेस सबैभन्दा ठुलो पार्टी भएकाले कांग्रेसकै नेतृत्वमा सरकार गठन हुँदा सकारात्मक सन्देश जाने भन्दै दाहाललाई सहमतिमा ल्याउने कोसिस गरेका थिए। यसअघि कांग्रेसका वरिष्ठ उपाध्यक्ष पूर्णबहादुर खड्काले पनि द्वन्द्वपीडितहरूको मुद्दा सुल्झाएपछि मात्रै दाहाललाई प्रधानमन्त्री बनाउन सकिने संकेत गरेका थिए। यसअघि दाहाल दुईपटक प्रधानमन्त्री भइसकेका छन्।

एमालेले माओवादीलाई सत्ता गठबन्धन तोडेर आए केही समय पर्खिने जनाउ पनि दिएको छ। दाहालले पनि कांग्रेसलाई धेरै दिन कुर्न नसकिने बरु नयाँ चरणको राजनीतिक ‘कोर्स’ थाल्ने मनस्थिति बनाएको स्रोतको भनाइ छ। माओवादीका उपमहासचिव वर्षमान पुनले गठबन्धन दलबीच आफ्नै पार्टीले सुरुको कार्यकाल प्रधानमन्त्री पाउनुपर्ने प्रस्ताव राखिसकेको बताए। उनका अनुसार यस विषयमा गठबन्धनभित्र छलफल सुरु भइसके पनि कांग्रेसबाट जवाफ आउन बाँकी छ। ‘सुरुको प्रधानमन्त्रीमा हाम्रो दाबी हो। गठबन्धन दलको बैठकमा यस विषयले प्रवेश पाइसकेको छ,’ पुनले भने, ‘कांग्रेसबाट आधिकारिक जवाफ आउन बाँकी छ।’

प्रधानमन्त्री देउवा, माओवादी अध्यक्ष दाहाल र नेकपा एसका अध्यक्ष नेपालबीच शुक्रबार साँझ पनि सरकार गठन विषयमा गम्भीर विचार विमर्श भएको थियो। स्वास्थ्य उपचारका लागि अस्पतालमा बसेका नेपाल चिकित्सकको अनुमतिले बिहीबार सांसद पदको शपथ ग्रहणमा सहभागी भएका थिए। उनी शुक्रबार पनि बालुवाटारको छलफलमा सहभागी भए। कांग्रेस–माओवादी दुवैलाई नेकपा एसका अध्यक्ष नेपालले मिलाउने र गठबन्धनकै सरकार बनाउने विषयमा छलफल भएको भनिए पनि देउवा–दाहालले आ–आफ्नै अडान नछाडेका कारण पाँच वर्ष कार्यकालको सुरुमा प्रधानमन्त्री को बन्ने भन्ने अन्योल कायमै छ।

माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपमहासचिव पुनलगायत नेताहरू कांग्रेसले धोका दिए वाम गठबन्धन बनाएर जानुपर्ने पक्षमा छन्। एमालेका नेताले पनि माओवादी गठबन्धन छाडेर आए सबै प्रकारका विकल्पमा छलफल गर्न तयार रहेको सन्देश प्रवाह गरिरहेका छन्। एमालेका नेताले माओवादीलाई प्रधानमन्त्री दिएर आफ्नो पार्टीले राष्ट्रपति र सभामुख लिएर पनि सहकार्य गर्ने सन्देश दिएका छन्। तर माओवादी अध्यक्ष दाहालले केही दिन कुर्न र कांग्रेससँगको सहकार्यलाई ध्यान दिन भन्दै एमालेलाई अल्मल्याएका छन्। ‘माओवादी अध्यक्ष दाहालले दुवैतिर कुरा अघि बढाएर एमालेलाई अल्मल्याउने कोसिस गरेका छन्। हामीले दाहाललाई चाँडै निर्णय गर्नुस् नत्र कांग्रेसको सरकारलाई निःसर्त समर्थन गर्न सक्ने बताएका छौं,’ एमालेका एक नेताले भने। एमाले नेताहरू सुवास नेम्वाङ, रघुवीर महासेठलगायतले दाहाललाई भेटेर एमालेको धारणा राखेका थिए। प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि राष्ट्रपतिले संघमा नयाँ सरकार गठनका लागि दिएको सात दिनको समय आइतबार सकिँदैछ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.