Advertisement

‘डिजिटल’ पत्रकारिता : ‘विश्वसनीयता’को संकट !

0 299

Advertisement

प्रविधिको अत्यधिक प्रयोगले पत्रकारितालाई क्रमशः परनिर्भर बनाइरहेको छ र यसबाट पत्रकारिताको मौलिकतामाथि संकट निम्तिन सक्छ


धर्मेन्द्र झा


१० साउन, काठमाडाैं । विश्वभर अहिले प्रेस स्वतन्त्रताबारे चर्चा चलिरहेको छ । प्रत्येक वर्ष ३ मेमा औपचारिक रूपमा विश्वभर यो दिवस मनाउने गरिए पनि ३ मेको आसपास दिनमा पनि यस दिवससँग सम्बन्धित कार्यक्रम आयोजना गर्ने गरिएको छ । नेपालमा पनि मे ३ र ४ का दिन यस दिवससँग सम्बन्धित विविध कार्यक्रम आयोजना गरिए । नामिबियाको विन्डहक सहरमा सन् १९९१ मा सम्पन्न अफ्रिकाका पत्रकारहरूको सम्मेलनले ३ मेका दिन स्वतन्त्र प्रेसका सम्बन्धमा एक घोषणापत्र जारी गरेको दिनलाई संयुक्त राष्ट्र संघको आह्वानमा १९९३ देखि विश्व प्रेस स्वतन्त्रता दिवसका रूपमा विश्वभर मनाउन थालिएको हो ।

सरकारी स्तरबाट नमनाइए पनि गैरसरकारी स्तरबाट भने नेपालमा यो दिवस सन् १९९५ देखि नै मनाउन थालिएकोे हो । यसै दिवसको अवसर पारेर सञ्चार र पत्रकारितासँग सम्बन्धित विभिन्न संघसंस्थाले विविध कार्यक्रम आयोजना गर्ने गरेका छन् र यो क्रम यसपटक पनि जारी रह्यो । यो दिवस मनाउने सन्दर्भमा युनेस्कोले प्रत्येक वर्ष नारा तय गर्छ र वर्षभरि नै त्यो नारासँग सम्बन्धित गतिविधि स्वयंले पनि आयोजित गर्छ । उसले अन्य राज्य तथा नागरिक संघसंस्थालाई पनि बहसमा आधारित गतिविधि सञ्चालन गर्न प्रोत्साहित गर्छ ।

युनेस्कोले यस वर्ष २०२२ का लागि जर्नालिज्म अन्डर डिजिटल सिज भन्ने नारा तय गरेको छ । नेपाल पत्रकार महासंघले यसको अनुवाद प्रविधिको नियन्त्रणमा पत्रकारिता भनेर गरेको छ । यो विषय अर्थात् नारा स्वयंमा निकै महत्वपूूर्ण मात्र छैन, विगतको तुलनामा अर्थपूर्ण पनि छ । निश्चय पनि आजको पत्रकारिता प्रविधिबाट निर्देशित हुन बाध्य छ भन्दा अनुचित हुँदैन । विशेषगरी इन्टरनेटको विकास भएपछिका दिनमा सञ्चार र पत्रकारिता क्षेत्रमा प्रविधिको हस्तक्षेप बढेको छ र यसका राम्रा–नराम्रा दुवै प्रभाव यस क्षेत्रमा अनुभूत गरिएको छ भन्दा अतिशयोक्ति हुँदैन ।

युनेस्कोले यसपटकको नारामा ‘सिज’ भन्ने शब्द प्रयोग गरेको छ र यसको सोझो रूपमा नेपाली अनुवाद हुन्छ, कब्जा वा घेराबन्दी । एउटा कुरा निश्चित हो, यसपटकको नाराबाट युनेस्को पत्रकारितामा डिजिटल प्रविधिको बढ्दो प्रयोगका सम्बन्धमा गम्भीर छ भन्ने प्रमाणित भएको छ । हो, इन्टरनेटमा आधारित डिजिटल प्रविधिले पत्रकारिताका माध्यमलाई तीव्र बनाएको छ । प्रभावकारी पनि बनाउने प्रयत्न गरेको छ । आमव्यक्तिमा सूचनाको शीघ्र सम्प्रेषणलाई सहज बनाएको छ । पत्रकारितालाई व्यावसायिक पत्रकारका कित्ताबाट नागरिक पत्रकारिताका कित्तामा पुर्‍याउने काम गरेको छ । उल्लिखित सन्दर्भमध्ये कति विषय उचित र कति अनुचित हुन्, त्यसबारे बहस चल्दै गर्ला । तर, वर्तमान अवस्थाले दुइटा कुरा बडो गम्भीर ढंगले सोच्न उत्प्रेरित गरेको छ, त्यो हो पहिलो– पत्रकारिताको रचनात्मक (क्रिएटिभ) र विश्वसनीयताको पक्ष कमजोर बन्दै जानु र दोस्रो हो– डिजिटल प्रविधिको व्यवस्थापन र नियमनको बहानामा प्रेसमाथि राज्यको बढ्दो हस्तक्षेप ।

प्रविधिको प्रयोगले पत्रकारितालाई यति प्रतिस्पर्धी बनाएको छ कि आजको समयमा पत्रकारले कुनै पनि घटना र स्कुपलाई एकछिन पनि ‘होल्ड’ गर्न सक्दैन । एकजनाले होल्ड गरेछ भने पनि अर्को पत्रकारले त्यस्तो सूचना तत्काल सम्प्रेषण गर्छ । यसो गर्दा उसले सूचनाको सत्य स्थापित गर्न आवश्यक सम्पादकीय प्रक्रिया (एडिटोरियल प्रोसेस) र ‘गेट किपिग’को अवधारणालाई अनुसरण गर्न सकेको हुँदैन । यसले निश्चय पनि समाचारमा विश्वसनीयताको संकट निम्त्याउँछ ।

इन्टरनेटको विकास भएपछिका दिनमा सञ्चार र पत्रकारिता क्षेत्रमा प्रविधिको हस्तक्षेप बढेको छ र यसका राम्रा–नराम्रा दुवै प्रभाव अनुभूत गरिँदै छ

नेपालको सन्दर्भमा भन्ने हो भने यतिखेर यहाँका सञ्चारमाध्यमले विश्वसनीयताको संकट व्यहोर्न बाध्य हुनुपरेको छ र यसको एक मूल कारण यही डिजिटल प्रविधिमा आधारित प्रतिस्पर्धा हो । यही प्रतिस्पर्धाले कुनै सामग्रीलाई कसरी र कुन रूपमा प्रस्तुत गर्ने भन्ने रचनात्मकतालाई पनि प्रभावित गर्छ । उल्लिखित विषय हार्ड न्युज (घटना प्रधान समाचार) का सन्दर्भमा त पूरै लागू हुन्छन् । तर, पत्रकार सचेत र जिम्मेवार भयो भने सफ्ट न्युज (विषय वा प्रक्रिया प्रधान समाचार) का सन्दर्भमा भने पत्रकारिताको मौलिकता जोगिन सक्छ । पछिल्लो प्रकारको समाचारको आधार खोजी पत्रकारिता हो । यसमा ‘कारण’ र ‘परिणाम’को खोजी गर्नु आवश्यक हुन्छ भन्ने बुझाइका आधारमा पत्रकारको सक्रियता बढ्न सक्ने अपेक्षा गरिनु अनुचित हुँदैन । यसो भयो भने डिजिटल प्रविधि पत्रकारका लागि सहयोगी हुन सक्छ र पत्रकारको सक्रियताले पत्रकारिताको रचनात्मकता जोगिन सक्छ ।

आजको पत्रकारिता प्रविधिबाट यति बढी प्रभावित भइसक्यो कि मानिसले प्रतिस्पर्धा गर्न सक्ने सम्भावनाका सन्दर्भमा क्रमशः चुनौती थपिँदै छन् । आज पत्रकारितामा रोबोट र एआई (आर्टिफिसियल इन्टेलिजेन्स) को प्रयोग भइरहेको अवस्था छ । प्रविधिको यस हदसम्मको प्रयोगले पत्रकारितालाई क्रमशः परनिर्भरतातर्फ धकेलिरहेको छ भन्दा अस्वाभाविक हुँदैन । यस्तोमा पत्रकारिताको मौलिकतामाथि संकट निम्तिन सक्ने सम्भावनालाई अस्वीकार गर्न सकिँदैन । यसको एक मात्र उपाय हो, पत्रकारको स्वसक्रियता । पत्रकारले प्रविधि निर्देशित कन्टेन्ट (विषय) मा भर पर्नुको साटो आफूले कारण र परिणामको औजार प्रयोग गरेर खोजेको विषयलाई प्रविधिको सहयोगले थप सशक्त बनाउनु आवश्यक छ ।

यसै सन्दर्भमा डिजिटल प्रविधिले उत्पन्न गरेको प्रभावलाई व्यवस्थित र नियमन गर्ने नाममा पत्रकारिता क्षेत्रमा राज्यको हस्तक्षेप बढेको अनुभव गरिएको छ । हो, कतिपय सन्दर्भमा डिजिटल झमेलाले पक्कै पनि केही समस्या निम्त्याएका होलान् । तर, यसै आधारमा नियमनको सोच राख्दा स्वतन्त्र पत्रकारिताको अवधारणा प्रतिकूल रूपमा प्रभावित हुने अवस्थाप्रति राज्य अनभिज्ञ हुन मिल्दैन । नेपाल पनि यो अवस्थाको अपवाद छैन । नेपालमा विगतमा सरकारद्वारा डिजिटल प्रविधिको प्रयोगलाई देखाएर प्रेस स्वतन्त्रता नियन्त्रणको प्रयास भएको हो । सूचना प्रविधिसँग सम्बन्धित कनुन र निर्देशिका (बनेका र बन्ने प्रक्रियामा रहेका) यसैका नमुना हुन् भन्दा अन्यथा ठहर्दैन ।

माथिको पृष्ठभूमिका आधारमा युनेस्कोको नारा नेपालका सन्दर्भमा पनि सान्दर्भिक रहेकोमा दुई मत हुन सक्दैन । माथि उल्लेख गरिसकियो, वर्तमानमा व्यावसायिक पत्रकारिता र नागरिक पत्रकारिता गरी पत्रकारिता दुई कित्तामा विभाजित छ । यसलाई सम्भव बनाएको छ, इन्टरनेटमा आधारित डिजिटल प्रविधिले । इन्टरनेटको विकासपछि न्यु मिडिया (नयाँ मिडिया) निकै सशक्त ढंगले उपस्थित भएको छ । यसले सामाजिक सञ्जाल र अनलाइनको प्रयोगलाई जनसामान्यको पहुँचमा ल्याएको छ । आज सूचना सम्पे्रषणका लागि पत्रकार नै भइरहनुपर्छ भन्ने मान्यता क्रमशः अस्वीकृत भइरहेको छ । तर, जनसामान्यको पहुँचमा पुगेका डिजिटल प्लेटफर्ममार्फत सम्प्रेषित सूचनाको आँधीबेहरीले सँगसँगै विश्वसनीयताको संकट निम्त्याएकामा दुई मत हुन सक्दैन । यसो हुनुको मूल कारण हो, सम्पादकीय प्रक्रियाको अनुसरणमा समस्या ।

कहाँसम्म भने व्यावसायिक रूपमा पत्रकारिता गर्नेहरूमै पनि सामाजिक सञ्जाल र अनलाइनको प्रयोग गरी सूचना सम्पेषण गर्ने सन्दर्भमा समस्या छ । आजको सन्दर्भमा सामाजिक सञ्जाल पत्रकारिताको अत्यन्त ठूलो निर्णायक अंगका रूपमा विकसित भएको छ र हुँदै छ । मूलधारका पत्रकार र पत्रकारिताका लागि यस्ता सञ्जालले विषय उपलब्ध गराउन महŒवपूर्ण भूमिका निर्वाह गरिरहेका छन् । पछिल्ला दिनमा ‘विश्वसनीयता’को संकट खेप्न बाध्य नेपाली पत्रकारिताका सरोकारवाला पत्रकार स्वयंले उल्लेखित यथार्थ बुझेका छैनन् भन्न सकिँदैन । वास्तवमा नेपालका सन्दर्भमा पत्रकारको दुईथरि व्यक्तित्व छ, पहिलो पत्रकारको र दोस्रो व्यक्तिको ।

यी दुवै व्यक्तित्वबीच समन्वय र सन्तुलन कायम गर्न नसकिएको अवस्थामा सूचना प्रवाहको ‘गेट किपिङ’ दोषपूर्ण हुन जान्छ । व्यक्तिको हैसियतमा आफ्नो वैयक्तिक धारणा निर्माण गर्न छुट छ भन्ने आधारमा पत्रकारहरू सामाजिक सञ्जाललगायत अन्य वैकल्पिक सञ्चारमाध्यमबाट निजात्मक धारणा व्यक्त गर्छन्, जो उनको पत्रकारिताको व्यक्तित्वभन्दा सर्वथा भिन्न हुन्छ । तर, यस्ता पत्रकार–व्यक्तिलाई समाजले स्मृतिमा लिइरहेको हुन्छ र उनका विविध खाले अभिव्यक्तिका आधारमा मूल्यांकन गरिरहेको हुन्छ । पत्रकारले यस यथार्थलाई विस्मृतिमा राखेर व्यवहार गर्दा पत्रकारिताले वर्तमानमा विश्वसनीयताको संकट भोग्न बाध्य भइरहेको छ । सञ्चार उपभोक्ताका दृष्टिले यो अवस्था अत्यन्त चिन्ताजनक हो । युनेस्कोको यसपटकको नाराबाट पनि यो यथार्थ बुझ्न कठिन हुँदैन ।

RATOPATI



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.