Advertisement

बुद्धिको एक मिनेट

0 486

Advertisement

बच्चुराम वाग्ले

१८ चैत, काठमाडाैं । हर्ष बहादुरको पढाई लेखाइ पूरा भएपछि विवाह भएको पनि दुई वर्ष भयो । उनी वेरोजगार नै थिए अत: उनले पितालाई विदेशमा गएर व्यापार गर्ने इच्छा व्यक्त गरे । पिताले पनि सहजै स्वीकार गरिदिए । उनकी गर्भवती पत्नी शान्तीलाई आफ्न आमा-बाबुको जिम्मामा छोडेर व्यापार गर्नका लागि विदेशतिर प्रस्थान गरे । विदेशमा कडा मिहिनेत गरेर प्रसस्त धन आर्जन गरे । कडा मिहिनेतका कारण छोटो समयमा नै उनी ठुलो धनाड्य बने र त्यहाँ उसको सामाजिक मान र प्रतिष्ठा बढ्न थाल्यो । टोल समाज हुँदै देश भरी सामाजिक र धार्मिक क्षेत्रमा उत्कृष्ट सहयोग गर्ने काम हुन थाल्यो ।

करीव दुई दशक परदेशमा व्यापारमा समय लगायो, तब मनमा केही सन्तुष्टी भयो र अधिक धन आर्जन गरेकोले स्वदेश फर्कने विचार पैदा भयो । घरमा पत्नीलाई पत्र लेखेर घर फर्कने सन्देस पठायो । घर फर्कने क्रममा पानी जहाजको यात्रा गर्नु पर्थ्यो । यात्रामा एउटा यात्री मलीन मुख गरी बसेको थियो । सहयात्रीको उदासीको कारण सोध्यो । उसले भन्यो कि यो देशमा बुद्धिका प्रति सम्मान हुनेछ भन्ने सोचले आएको थिएं तर, यहाँ केही दिन बसेपछि मलाई लाग्यो कि यहाँ बुद्धिको रत्ती भर पनि कदर रहेनछ । म यहाँ बुद्धिको केही सूत्र विक्री गर्न भनेर आएको थिएं तर, मेरो बुद्धि खरिद गर्न कोही पनि तयार भएनन् । अब म मेरै साथ मेरो बुद्धि लिएर फिर्ता हुँदै छु ।

नव आगन्तुकसँगको वार्ताले हर्षको मनमा केही धैर्यता र उपाय सुझ्यो । उसले सोच्यो कि आफुसँग भएको बुद्धिले तेती धेरै धन आर्जन गर्न सक्नेले अर्को बुद्धि समावेस गर्ने हो भने अरु धन विस्तार गर्न सकिन्थ्यो । यो मेरो कर्मभूमि हो । मैले यसको मर्यादा राख्नु पर्छ । हर्षले बुद्धिको व्यापारीसँग बुद्धि खरिद गर्ने इच्छा व्यक्त गरे । उसले पनि बुद्धिको दाम लगायो कि हरेक बुद्धिको दाम पाँच करोड हुनेछ । अहो! बहुत महँगो बुद्धि रहेछ । धेरै बुद्धि लिएर पनि वेकार होला । एउटा मात्र बुद्धि देउ भनेर तयार भयो । “कुनै पनि कार्य गर्नुभन्दा पहिले एकपटक सोचेर मात्र कदम अगाडि बढाउनु ।” हर्षले पनि उक्त किमती बुद्धिलाई नोटकापिमा लेखेर जतनले राख्यो । यात्राका क्रममा धेरै शहरहरूमा ट्रान्जिटको विश्राम लिंदै आफ्नो गृह नगर प्रवेश गर्यो ।

करीव दुई दशकपछि घर फर्कने उसले कतिबजे आइपुग्छु भनेर खबर गरेको थिएन अत: उसको मनमा आफ्नी प्राणपियारीलाई आश्चर्य सर्प्राइज दिने विचार गर्यो । मार्गमा भेटिएका जती थिए सबैलाई मौन रहन भन्दै सरासर आफ्नी प्रियसीको सयन कक्षमा प्रवेश गर्यो । आफ्नी प्राणपियारीलाई खोज्यो, उसले देख्यो कि कक्षमा उसको प्रवेश हुँदा उसकी प्रेयसी एक अपरिचित कुनै युवकका साथ एकै पलङमा सयन गरिरहेकी थिइन् । उसले उसकी प्रेयसीलाई देख्ने बित्तिकै उसको पाइतालामुनी जमिन भासिएको आभाष गर्योे ।

हर्षले अत्यन्त क्रोधमा आएर सोच्यो कि त्यती लामो समयसम्म आफ्नो देश छाडेर परदेशमा व्यापार गरी धन कमाएर एकैचोटी घर पुग्दा यो के देख्नु पर्यो उ सोच्न वाध्य पार्यो । आफ्नो परिवारको सुखका खातिर धन कमाउन परदेश पुगेको घटनालाई सम्झ्यो । परदेशमा शारीरिक र मानसिक त्यागका कारण नाम र दाम कमाएको अवस्थालाई सम्हालिएर सोच्यो । मैले यिनीहरूका सुखका लागि त्याग गर्ने अनि यहाँ परपुरुष सँग गरेको हर्कत देख्नु पर्ने । यो विश्वासघात क्षमायोग्य भएन । यी दुवै दण्डनीय हुन् भन्ने निश्चय गरेर म्यानबाट तरवार झिकेर एकै प्रहारमा छिनालिदिने विचार गरेको मात्र के थियो, हँ भाई! “कुनै पनि कार्य गर्नुभन्दा पहिले एकपटक सोचेर मात्र कदम अगाडि बढाउनु ।” भन्ने पाँच करोड मूल्य परेको बुद्धिको झट्ट याद आयो । उसले केही क्षणलाई घोरिएर सोच्यो, विचार्यो । म्यानबाट निकालिएको तरवारलाई यथास्थानमा सिउरिन लाग्दा कर्तामा स्रिजित क्रोध र आवेग वशिभूत कम्पनले तरवार म्यानमा घुसेन । बरु भित्तामा टङिएको ढालमा ठोकिएर भूमिमा गिर्दा निस्किएको आवाजले पत्नीको निद्रा भङ्ग भयो । उघ्रिएको आँखा मिच्दै हेर्दा आफ्न प्राणपियारा देखेर हर्षित मुद्रामा कुदेर श्रीमानका चरणमा आइ दण्डवत गरिन् र उठेर गएर पलङका युवकलाई भन्छिन् कि छोरा! उठ् । हेर् छोरा ! तेरा बाबा आउनु भएको छ । क्रोधले थरथर कम्पन गरिरहेका आफ्ना पतिलाई भन्छिन्, तपाईं साथमा नहुँदा मैले यो पुत्रलाई र घरलाई यहाँसम्म ल्याउन कती लामो प्रतिक्षा गर्नु पर्यो? मेरो नारिवत धर्ममा तपाईंको न्यानो पुरुषवत छहारी दिनुहोस् । म मात्रै जान्दछु कि यो लामो पीडा हरण गर्नुहोस् ।

जब सन्तानले आफ्ना पिताजिको प्रथमबार दर्शन गरे, पाउमा निहुरिएर स्पर्श गर्दा गर्दै तब उसको शिरमा गुतिरहेको फेटाको पगरी फुस्क्यो र लामो केश खुलेर झोल्लियो । पत्निले भनिन्, तपाईंको र यस घरको मान मर्यदामा आँच आउने कुनै काम गरेकी छैन । पिताका बिना यसको जीवनमा कुनै आफ्टेरो परिस्थिति नआओस् भनेर मैले यसलाई छोराको भेषमा सजाएर राखेकी थिएं । यो छोरीलाई यो बेलासम्म छोराकै सम्बोधनले मैले स्याहार गरिरहेकी थिएं । अबदेखि यो तपाईंकी छोरी हो ।

केही क्षण अगाडिको क्रोध साफ भयो साथै दुवै नेत्रबाट अश्रुधारा अनवरत बहिरहे । पत्नी र पुत्रीलाई अङ्कमाल गरे । हतारमा केही गर्नु भनेको अनर्थ निम्त्याउनु रहेछ । आज मेरो हातबाट आजीवन पछुताउनु पर्ने निकै ठूलो भुल गर्नबाट बचेँ । त्यो वास्तविक जीवनको सूत्र नै रहेछ । त्यो अमूल्य मन्त्र मेरा लागि वरदान भयो । मैले सम्यमित रहनाले मेरो परिवार बच्यो । बुद्धिको यो अनमोल सूत्र उस दिन मेरा लागि महँगो लागेको थियो तर, पाँच करोड भनेको त केही पनि होइन रहेछ । बुद्धि भनेको अनमोल रहेछ । यसलाई एक मिनेट खेल्न दियो भने जीवनमा सुख नै सुख बर्सने रहेछ ।
भनिएको रहेछः

सहसा विदधीत न क्रियामविवेकः परमापदां पदम् ।
वृणते हि विमृश्यकारिणं गुणलुब्धाः स्वयमेव संपदः ॥

अर्थात् : अचानक ( आवेशमा आएर सोच विचार नगरी) कुनै कार्य नगर्नु, किनकि विवेकशून्यता ठूलो विपत्तिको घर हो । ( यसका विपरीत ) जो व्यक्ति सोच विचार गरी कार्य गर्दछ, गुणलाई पछ्याउँदै माता लक्ष्मी स्वयं नै उसको घर समृद्ध गरिदिन्छिन् ।

हरिःॐ॥



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.