सिटीलाई शीर्ष स्थानमा आठ अंकको अग्रता
१५ पुस, एजेन्सी । फिल फोडानले गोलमा म्यानचेस्टर सिटीले बुधबार राती इङ्लिस प्रिमियर लिगमा ब्रेन्टफोर्डमाथि १–० को विजय हासिल गरेको छ । जितसँगै सिटीले शीर्ष स्थानमा आठ अंकको अग्रता बनाउँदै वर्ष २०२१ को अन्त्य गरेको छ ।
सिटीको जितमा फोडानले १६औं मिनेटमा गरेको गोल निर्णायक बन्यो । फोडानले केभिन डी ब्रुयनाको लामो पासलाई पहिलो ‘टच’मै पोष्टको दिशा दिएका थिए । फोडान अघिल्लो दुई खेल न्युक्यासल युनाइटेड र लेस्टर सिटीविरुद्ध पहिलो रोजाईमा पर्न सकेका थिएनन् । तर गएराती पेप ग्वार्डिओलाले फोडान र ज्याक ग्रेलिसलाई पहिलो रोजाई खेलाएका थिए । दुबै जना अनुशासनका कारण दुई खेलमा बेन्चमा बसेका थिए ।
जितसँगै सिटीले उपाधि होड बलियो बनेको छ । मंगलबार राती लिभरपुल लेस्टर सिटीसँग १–० ले पराजित हुनुका साथै चेल्सीले बुधबार राती ब्राइटनसँग १–१ को बराबरी खेलेको थियो । यस्तो अवस्थामा सिटीले महत्वपूर्ण जित हासिल गरेको हो ।
जितपछि सिटीले २० खेलबाट ५० अंक जोडेको छ । समान खेलबाट ४२ अंक जोडेको चेल्सी दोस्रो स्थानमा छ । लिभरपुल ४१ अंकका साथ तेस्रो स्थानमा छ । तथापी लिभरपुलले एक खेल कम खेलेको छ ।
सिटीका प्रशिक्षक ग्वार्डिओलाले उपाधि होड अझै बाँकी नै रहेको बताएका छन् । उनले भने, ‘‘अहिले नै उपाधि होड स्पष्ट भैसक्यो भन्ने होइन । अझै ५४ अंकको खेल बाँकी छन् ।’’