निर्वाचन आयोग र सभामुखविरुद्ध सर्वाेच्च जाँदै एमाले
१६ भदाै, काठमाडाैँ । नेकपा (एमाले)ले निर्वाचन आयोग र सभामुखविरुद्ध सर्वाेच्च अदालतमा मुद्दा दायर गर्ने भएको छ। एमालेले अद्यावधिक गरेर पठाएको केन्द्रीय सदस्यहरूको विवरणलाई आयोगले मान्यता नदिएर माधवकुमार नेपाललाई पार्टी विभाजनमा सजिलो पारेको र सभामुख अग्निप्रसाद सापकोटाले एमालेले कारबाही गरेका १४ जना सांसदलाई पदमुक्त नगरेको भन्दै एमाले सर्वाेच्च जान लागेको हो।
एमाले प्रमुख सचेतक विशाल भट्टराईले आज निर्वाचन आयोग र सभामुख सापकोटाविरुद्ध सर्वाेच्च अदालत जान लागेको पुष्टि गरे।शुक्रबार बसेको केन्द्रीय कमिटी बैठकको निर्णयअनुसार निर्वाचन आयोगविरूद्ध सर्वोच्च अदालतमा रिट निवेदन दिने तयारी भइरहेको एमालेले जनाएको छ।
एमालेले गत भदौ १ मा पार्टी विभाजनमा लागेको भन्दै वरिष्ठ नेता नेपालसहित १४ जना प्रतिनिधि सभा सदस्यलाई पदमुक्तको निर्णय गरेको थियो।
एमालेले कारबाही गरेका १४ सहित ३० सांसद र ५५ केन्द्रीय सदस्यहरुको सनाखतलाई मान्यता दिएर आयोगले भदौ ९ गते नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) नामक पार्टीलाई राजनीतिक दलको प्रमाणपत्र दिएको थियो।