के हिमताल विस्फोट भएर मेलम्चीमा विनाशकारी बाढी आएको हो
०४ असार, बीबीसी । सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रमा कसरी अचानक विनाशकारी बाढी आयो भन्ने विषयमा विभिन्न अनुमान भइरहेको छ।
हेलम्बु र मेलम्ची क्षेत्रका कैयौँ मानिसलाई विस्थापित गराउने उक्त बाढी हिमताल विस्फोट भएकाले आएको हुन सक्ने चर्चा सामाजिक सञ्जालमा देखिएको छ। तर त्यस विषयमा सरकारी निकाय र विज्ञहरूको धारणा भने फरक छ।
सरकारी अधिकारीहरूले पहिरोले माथिल्लो भेगमा केही समय नदीको प्रवाह रोकेको र त्यसैको कारण बाढी आएको निष्कर्षनजिक पुगिएको बीबीसीलाई बताएका छन्।
स्थलगत अध्ययनबिना अनुमान गरिहाल्न नसकिने भए पनि “हिमताल फुटेको हुन सक्ने सम्भावना न्यून” रहेको आफ्नो बुझाइ रहेको विज्ञहरू बताउँछन्।
मनसुन सुरु भएको केही दिनमै यस वर्ष नेपालभरि नै ठूलो वर्षा भएको छ। वर्षाका कारण बाढी र पहिरो जाँदा धनजनको क्षति पनि भएको छ।
बाढीबारे के भन्छ सरकार?
मेलम्ची क्षेत्रमा गत जेठ २९ गते सबैभन्दा बढी पानी परेको जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान शाखाका प्रमुख विक्रम श्रेष्ठ जुवाले बीबीसीलाई बताए।
त्यस दिन करिब ९० मिलिमिटरको हाराहारीमा पानी परेको र त्यसपछिका दिनमा हरेक दिनजसो हल्का वर्षा भएको बताइएको छ।
सिन्धुपाल्चोकमा बाढीपहिरोको वितण्डा
“घटना भएको दिन हाम्रो स्टेशनमा लगभग ५:४० देखि ६:४० बजेसम्म खोलाको सामान्य स्वरूपबाट स्वाट्टै घटेको र त्यसपछि फेरि एकैपटक बढेको देखियो,”जुवाले भने।
खोला थुनिएर फेरि खुलेको अवस्थामा त्यस्तो हुने उनको भनाइ छ।
“मन्त्रीज्यूहरूको भ्रमणबाट पनि पहिरो गएको भन्ने कुरा आइसकेको अवस्थामा हाम्रो स्टेशनले देखाएको र त्यो कुरा मिले जस्तो देखियो,” उनले भने।
पहिरो गएको दिन अर्थात् असार १ गते सबैभन्दा बढी २९.२ मिलिमिटर वर्षा भएका हुनाले त्यसअघि नै पहिरो गएको हुन सक्ने सरकारी पक्षको भनाइ छ।
नकोटेस्थित सरकारी केन्द्रभन्दा केही माथि पहिरो गएको बुझिएको जानकारी जुवाले दिए।
पानीभन्दा पनि पहिरोका कारण बनेको लेदोले गर्दा मेलम्ची बजारमा असर पारेको उनी बताउँछन्।
“सङ्लो पानी भएको भए छिट्टै बग्थ्यो, लेदो मिसिएकाले बिस्तारै बढ्दै आयो,” उनले भने।
अरू सम्भावना कस्ता छन्?
हिमालय क्षेत्रबारे काम गर्ने अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र इसिमोडका रिभर बेसिन एन्ड क्राईअस्फिअरका क्षेत्रीय कार्यक्रम व्यवस्थापक अरुणभक्त श्रेष्ठ सिन्धुपाल्चोक जिल्ला नै प्राकृतिक प्रकोप हुने “जोखिमको दृष्टिकोणबाट एक किसिमको केन्द्रबिन्दु” रहेको बताउँछन्।
ठूलो वर्षा र पहिरोका कारण आउने बाढीले विभिन्न समयमा सिन्धुपाल्चोकमा समस्या गराइरहने उनी बताउँछन्।
अहिलेसम्मको अवस्था हेर्दा पहिरोले नदी थुनेको र त्यसपछि बाढी आएको उनको बुझाइ छ।
मेलम्चीका तस्बिर हेर्दा त्यहाँको बस्ती जोखिमपूर्ण ठाउँमा रहेको देखिने उनले बताए।
नदीछेउछाउ बस्ती र पूर्वाधार निर्माणमा धेरै ध्यान दिनुपर्ने बताउँदै उनले भने, “बाढी पनि ठूलो आयो। बाढीको बाटोमा बस्ती नभएको भए त्यसले मानवीय क्षति पुर्याउँदैन थियो ।
सिन्धुपाल्चोकका बाढीपीडित भन्छन्, ‘सर्वस्व लग्यो, अब सरकारको आस’
जलस्रोतविद् अजय दीक्षित पनि त्यहाँको अवस्था हेर्दा माथिल्लो जलाधार क्षेत्रमा पानी परेको र भूकम्पले हल्लाएको भूभाग भएकाले पहिरो आएको हुन सक्ने बताउँछन्।
जलाधारविद् मधुकर उपाध्या भने वर्षा मात्रैले उक्त क्षेत्रमा विपद् ननिम्त्याएको बताउँछन्।
“सडक निर्माणदेखि भूमिको अब्यूज (दुरुपयोग)… र त्यसमाथि पनि त्यो पहाडलाई भूकम्पले थिलथिलो बनाएको थियो। तर यतिमै मात्र चित्त बुझ्ने खाले घटना भने होइन यो,” मेलम्चीको घटना अस्वाभाविक रहेको बताउँदै उनले भने।
यो विपद् वर्षौँदेखि जम्मा भएर आएका विभिन्न कारकका कारण निम्तिएको उनको बुझाइ छ।
चौबीस घण्टा बित्दा समेत पानीमा लेदो देखिनुले कुनै ठाउँमा पहाड धस्सिएको पो छ कि भन्ने कुरालाई बल दिएको उनको तर्क छ।
हिमताल विस्फोटन भएको सम्भावना कति?
गुगल अर्थबाट हेर्दा उक्त क्षत्रेको माथिल्लो भागमा हिमताल नदेखिएको बाढी पूर्वानुमान शाखाका प्रमुख विक्रम श्रेष्ठले जानकारी दिए। उक्त क्षेत्रमा केही हिमनदीहरू भने देखिएको उनको भनाइ छ।
हिमताल फुटेर आएको भए एकैपटक पानी बढ्नुपर्ने र एकनासै बढ्नुपर्ने भए पनि त्यस्तो अवस्था नदेखिएको उनले जानकारी दिए।
इसिमोडमा कार्यरत विज्ञ श्रेष्ठले पनि आफूलाई जानकारी भएसम्म उक्त क्षेत्रमा ठूलो हिमताल नरहेकाले त्यसको सम्भावना कम रहेको बताए।
“तर यसलाई अलिकति अध्ययन नगरी ‘रुल आउट’ नै गर्न चाहिँ ठिक नहोला,” उनले भने।
दीक्षित पनि उत्तराखण्डमा गत फेब्रुअरीमा यस्तै किसिमको घटना भएको र त्यस बेला सुरुमा हिमताल नै फुटेको आशङ्का गरिएको भए पनि पहाडको एउटा खण्ड नदीमा खसेको नयाँ अध्ययनले देखाएको बताउँछन्।
उपाध्याका अनुसार अहिले हिमताल फुट्ने समय हैन। तर माथिल्लो भागमा तापक्रम बढ्दै गएको अवस्था भएकै होइन भन्न सकिने अवस्था नरहेको उनको भनाइ छ।
यो पनि हेर्नुहोस् :