ओली सरकारको बहिर्गमन सुनिश्चित : बाबुराम
२६ बैशाख, काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले केपी ओली नेतृत्वको सरकारको बहिर्गमन सुनिश्चित भएको बताएका छन्।
आइतबार बसेको पार्टी पदाधिकारी बैठकले प्रधानमन्त्री ओलीले विश्वासको मत लिँदा संसदलाई पक्ष र विपक्षमा मत हाल्न ह्वीप जारी नगर्ने निर्णय गरेको भन्दै उनले यस्तो बताएका हुन्। भट्टराईले यो निर्णय सरकारको बहिर्गमन सुनिश्चित गर्ने रणनीति भएको दाबीसमेत गरेका छन्।
पूर्वप्रधानमन्त्रीसमेत रहेका डा. भट्टराईले पार्टी एकता कायम राख्दै यस्तो निर्णय गरेको बताएका हुन्। उनले यो निर्णयसँगै सबैले आआफ्नो विवेक प्रयोग गरेर प्रतिगमनको केन्द्र बनेको ओली सरकारलाई बिदा गर्ने विश्वास व्यक्त गरेका छन्।
सांसदलाई ह्वीप जारी नगर्ने जसपाको निर्णय : विवेक प्रयोग गर्न छुट, उपेन्द्र-बाबुराम पक्षले विपक्षमा मत दिनेओली सरकारलाई बिदा गरेर अग्रगामी निकास दिन आग्रह गर्दै उनले जसपालाई देशको वैकल्पिक शक्तिको रुपमा विकास गर्नुपर्नेमा जोड दिएका छन्।
‘जसपाको पदाधिकारी बैठकले पार्टी एकता कायम राख्दै ओली सरकारको बहिर्गमन सुनिश्चित गर्ने कार्यनीति तय गरेको छ’, बाबुरामले ट्वीटमा लेखेका छन्, ‘सबैले आआफ्नो विवेक प्रयोग गरेर प्रतिगमनको केन्द्र बनेको ओली सरकारलाई विदा गर्न,देशलाई अग्रगामी निकास दिन र जसपालाई देशको वैकल्पिक शक्तिको रूपमा विकास गर्न योगदान गरौं।’